• ३ चैत २०८१, आइतबार

सगरमाथामा बाटो बनाउने टोली आधार शिविरतर्फ

blog

सगरमाथा आरोहणका लागि बाटो बनाउने आइसफल डाक्टरहरू । फाइल तस्बिर

सन्तोष राउत

सोलुखुम्बु, चैत २ गते । सर्वोच्च शिखर सगरमथाको ‘स्प्रिङ’ सिजन २०२५ को आरोहण समय नजिकिँदै गर्दा आरोहण मार्ग निर्माणका लागि आइसफल डाक्टरहरूको टोली आधार शिविर प्रस्थान गरेको छ । बाटो निर्माणका लागि नाम्चेबाट आइसफल डाक्टरसहितको टोली गएको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) नाम्चकी सूचना अधिकारी याङ्जिडोमा शेर्पाले जानकारी दिनुभयो । 

टोलीमा आधार शिविर व्यवस्थापक छिरिङ तेन्जिङ शेर्पा तथा आङसर्की शेर्पा र दावाजाङ्बु शेर्पाले नेतृत्व गर्नुभएको दुई वटा टोलीमा आठ जना ‘आइसफल डाक्टर’ रहेका छन् । टोलीमा दावानुरु शेर्पा, नीमतेन्जी शेर्पा, मिङ्माग्याल्जेन शेर्पा, दावाछिरी शेर्पा, लाक्पासोना शेर्पा र तेन्डु शेर्पा छन् ।

हिउँमा बाटो बनाउने अनुभवी र दक्ष व्यक्तिलाई आइसफल डाक्टर भन्ने गरिन्छ । यस वर्ष आङसर्की शेर्पाको नेतृत्वमा बाटो बन्न लागेको हो । सन् १९९७ देखि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले समितिलाई खुम्बु आइसफलको आरोहण मार्ग निर्माण तथा मर्मतको जिम्मेवारी दिँदै आएको छ ।

यस क्रममा सगरमाथा, ल्होत्से र नुप्से हिमाल आरोहण गर्ने पर्वतारोहीका लागि सुरक्षित बाटो निर्माण गरिन्छ । हरेक वर्ष हिउँ परेर बिग्रिएको पुरानो बाटो पहिल्याउँदै आइसफल डाक्टरहरूले आल्मुनियमका भ‌र्‍याङ जोडेर सगरमाथाको चुचुरोसम्म पुग्ने नयाँ बाटो निर्माण गर्ने छन् । आइसफलदेखि क्याम्प–२ सम्म खर्पसमा हिउँ जम्मा भएको बाटो सफा गर्ने, डोरी टाँग्ने र भर्‍याङ राख्ने काम गरेपछि मात्र आरोही सगरमाथाको चुचुरोसम्म पुग्न सक्छन् । पाँच हजार ३६४ मिटर उचाइमा रहेको सगरमाथा आधार शिविरबाट छ हजार चार सय मिटरसम्म उचाइको क्याम्प दुईसम्म दर्जनौँ साना ठुला हिमखाल्डा रहेका छन् । क्याम्प दुईभन्दा तल धेरै खाल्डा भएकाले बाटो बनाउने धेरै काम त्यहाँ गर्नु पर्छ । क्याम्प दुईमाथि हिमखाल्डा खासै छैनन् । क्याम्प दुईभन्दा माथिका लागि बाटो खोल्ने तथा डोरी बाँध्ने काम आरोहण टोलीका प्राविधिकले गर्छन् । 

पदमार्ग निर्माण कार्य निकै जोखिमपूर्ण हुने भएकाले आधार शिविरमा बौद्ध धर्म परम्परा अनुसार लामाबाट पूजापाठ गरी काम सुरु गर्ने परम्परा रहेको छ । प्रत्येक वर्ष ‘अक्टोबर’ र ‘स्प्रिङ’ दुवै सिजनमा यही परम्परा अनुसार काम सुरु गरिन्छ । बाटो बनाउने क्रममा कुनै विपत आई नलागोस्, सकुशल फर्कन पाऊँ, भगवान्ले रक्षा गरून् र हिमाल आरोहण गर्ने आरोहीहरूमा कुनै पनि दुर्घटना नभई यात्रा सफल होस् भन्ने उद्देश्यले पूजा गरेर बाटो निर्माण थाल्ने गरिन्छ ।

यस क्षेत्रमा बाटो बनाउने काम तालिमप्राप्त आइसफल डाक्टरहरूले मात्र गर्ने भएकाले अन्य श्रमिकको खासै काम नहुने बताइन्छ । बर्सौंदेखि आइसफल डाक्टरका रूपमा काम गर्ने शेर्पाहरूले ज्यान जोखिममा राखेर बाटो बनाउने गर्छन् । हिमाल आरोहण गर्ने बाटो, हिउँ र बरफ खनेर डोरीको सहायताबाट निर्माण गर्नुपर्ने भएकाले ज्यान माया मारेर बनाउनुपर्ने आइसफल डाक्टरहरू बताउँछन् । हिमपहिरो चलेमा बनाएको बाटो बिगार्ने भएकाले एकै स्थानमा पटक पटक बाटो बनाउनु पर्छ ।