• २९ फागुन २०८१, बिहिबार

एसइई परीक्षा : दाङमा ४७ परीक्षा केन्द्र निर्धारण

blog

शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय दाङको कार्यालय । तस्बिर : लिलाधर वली

लिलाधर वली
घोराही, फागुन २८ गते ।
दाङमा एसइई दिने विद्यार्थीको सङ्ख्यामा वृद्धि भएको छ । शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय दाङका अनुसार जिल्लामा गत वर्षको तुलनामा यस वर्ष एसइई दिने एक हजार तीन सय ५६ जना विद्यार्थीको सङ्ख्या वृद्धि भएको हो ।

शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय दाङका अनुसार जिल्लामा यो वर्ष सामुदायिक तथा निजी दुई सय ५४ वटा विद्यालयबाट १४ हजार दुई सय ५४ जना विद्यार्थीले एसइई दिँदै छन् । जसमध्ये छ हजार सात सय ६६ छात्र र सात हजार चार सय ८८ जना छात्राको सङ्ख्या रहेको शिक्षा विकास तथा समन्वय एकाइका शाखा अधिकृत तिलकराम बञ्जाडेले जानकारी दिनुभएको छ ।

गत वर्ष जिल्लामा १२ हजार आठ सय ९८ जना विद्यार्थीले एसइई दिएका थिए । तीमध्ये पाँच हजार सात सय ६३ छात्र र छ हजार चार सय ६५ जना छात्राको सङ्ख्या रहेको थियो । जिल्लामा यो वर्ष एसइई दिनेमा छात्रभन्दा सात सय २२ जना बढी छात्रा रहेका छन् ।

एसइई दिनेमा छ हजार सात सय ६६ छात्र र सात हजार चार सय ८८ जना छात्राको सङ्ख्या रहेको शिक्षा विकास तथा समन्वय एकाइका शाखा अधिकृत बञ्जाडेले बताउनुभयो । शाखा अधिकृत बञ्जाडेका अनुसार सहभागी १४ हजारभन्दा बढी विद्यार्थीमध्ये नियमिमतर्फ पाँच हजार पाँच सय ८१ छात्र र पाँच हजार नौ सय ६५ छात्रा गरेर ११ हजार पाँच सय ४६ जना, प्राविधिक धारतर्फ छात्र एक सय ८२ जना र छात्रा एक सय ६८ जना गरेर जम्मा तीन सय ५० जना, ग्रेडवृद्धि समूह साधारणतर्फ छात्र नौ सय ९३ जना र छात्रा एक हजार तीन सय ३७ गरेर जम्मा दुई हजार तीन सय ३० जना र ग्रेडवृद्धि प्राविधिकतर्फ छात्र १० जना र छात्रा १८ जना गरेर २८ जना विद्यार्थी रहेका छन् ।

जिल्लामा एसइईका लागि ४७ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । जिल्लाका १० वटै स्थानीय तहमा विद्यार्थीलाई पायक पर्ने गरी परीक्षा केन्द्र निर्माण गरिएको भन्दै शाखा अधिकृत बञ्जाडेले भन्नुभयो, ‘‘विद्यार्थीको सहजताका लागि पायक पर्ने गरी परीक्षा केन्द्र निर्धारण गरिएको छ । उहाँका अनुसार यो वर्ष जिल्लामा पाँच सामुदायिक र छ संस्थागत गरी ११ वटा नयाँ विद्यालयले एसइईमा सहभागी हुँदैछन् ।’’  

जिल्लामा यस वर्ष पाँच जना दृष्टिविहीन विद्यार्थीले एसइई परीक्षा दिन थालेका छन् । जसमा तुलसीपुरमा रहेको स्रोत कक्षा गुरु जजुर माध्यमिक विद्यालयबाट तीन जना छात्र र एक जना छात्रा गरेर चार जना र आदर्श माध्यमिक विद्यालय लालमटियाबाट एक जना छात्र एसइई परीक्षामा सहभागी हुन लागेको शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय दाङले जनाएको छ । गत वर्ष दाङबाट छ जना दृष्टिविहीन विद्यार्थीले परीक्षा दिएका थिए । यो वर्ष एसइई परीक्षा आगामी चैत ७ गतेदेखि हुन थालेको छ ।