साधन घर्ती
म्याग्दी, फागुन २८ गते । म्याग्दीको मंगला शिक्षा क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)मा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका उम्मेदवार निर्विरोध भएका छन् । मङ्गला गाउँपालिका–२, स्थित क्याम्पसको स्ववियुको निर्वाचनका लागि मङ्गलबार अनेरास्ववीयुको तर्फबाट मनोनयनपत्र दर्ता भएकाले निर्विरोध भएका हुन् ।
अध्यक्षमा एल्डीस पुन, सचिवमा बिन्दा रोका, सचिवमा मन्जिना बुढाथोकी, सदस्यमा सजिना किसान, सलोन पुन र रामकुमारी थापा निर्विरोध हुनुभएको मङ्गला शिक्षा क्याम्पसका प्रमुख पितमबहादुर खत्रीले जानकारी दिनुभयो । यसैगरी, यता सदरमुकाम बेनीस्थित म्याग्दी बहुमुखी क्याम्पसमा तीन विद्यार्थी सङ्गठनले उम्मेदवारी दर्ता गराएका छन् । आगामी चैत ५ मा हुने निर्वाचनका लागि मङ्गलबार नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववीयु र अनेरास्ववीयुका उम्मेदवारहरुले मनोनयनपत्र दर्ता गराएका थिए ।
अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी)बाट समानुपातिक पदमा एक जनाको मात्र उम्मेदवारी परेको छ । नेविसङ्घबाट संगम चोखाल क्षेत्री, अनेरास्ववीयुबाट दिनेश खत्री (सुजन) र अनेरास्ववीयू क्रान्तिकारीबाट सन्दिप खत्री सभापतिको उम्मेदवार बन्नुभएको छ । नेविसङ्घबाट प्रतिभा बानियाँले सचिवमा र यशु खत्रीले कोषाध्यक्षमा उम्मेदवारी दिनुभएको छ ।
अनेरास्ववीयुबाट उपसभापतिमा सफल खत्री, सचिवमा मञ्जुर कटुवाल, कोषाध्यक्षमा अस्मिता भण्डारी र सहसचिवमा एलिसा बरुवाल उम्मेदवार बन्नुभएको छ । अनेरास्ववियु क्रान्तिकारीबाट सचिवमा कृष्ण सापकोटा, कोषाध्यक्षमा सुप्रेना किसान तथा अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी)बाट समानुपातिकतर्फ झर्ना परियारको मात्र उम्मेदवारी दर्ता भएको छ । स्ववियु चुनावका लागि म्याग्दी क्याम्पसमा करिब नौ सय मतदाता छन् ।