चाँदनी आचार्य
घोडाघोडी(कैलाली), फागुन २८ गते । कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसमा नामावलीको विषयलाई लिएर सहमति नजुटेपछि निर्वाचन कार्यक्रम स्थगित गरिएको छ । क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन तालिका अनुसार अन्तिम मतदाता नामावली प्रकाशनपछि नेपाल विद्यार्थी सङ्घले सहमति अनुसार माघ ११ गतेपछि भर्ना भएका विद्यार्थीसहितको नामावली प्रकाशन गरेको आशङ्का गर्दै फागुन २६ गते निर्वाचन कार्यालयमा तालाबन्दी गरेको थियो ।
समस्या समाधानका लागि विद्यार्थी सङ्गठनहरू बिच पटक–पटक छलफल गर्दा कुनै समाधान नभएपछि असहज परिस्थितिमा निर्वाचन गराउन नसक्ने जनाउदै सहमतिको विकल्प खुला गर्दै हाललाई निर्वाचन स्थगित गरिएको स्ववियु निर्वाचन समिति संयोजक पुष्पराज जैशीले जानकारी दिनुभयो ।
निर्वाचन संयोजक जैशीले केहि विद्यार्थीको दाबीविरोध आएपछि प्रारम्भिक नामावलीमा दोहोरिएका नाम हटाउनुको साथै छुटेकाको नाम थप गरी एक हजार ७७३ जनाको अन्तिम नामावली प्रकाशनपछि तालाबन्दी गरेकाले नामावली सच्चाउने विषयमा कुनै विकल्प नरहेको उल्लेख गर्नुभयो ।
नेविसङ्घ र अनेरास्वयुको तालाबन्दी र विरोधपछि मनोनयन दर्ताको समयसमेत मिति २०८१ फागुन २८ गते साँझ ५ बजेसम्म थप गरिएको थियो । बुधबार बिहान सबै सङ्गठनलाई राखेर सहमतिका लागि अन्तिम प्रयास गर्दासमेत कुनै सहमति नभएपछि निर्वाचन कार्यक्रम स्थगित गरिएको जनाइएको छ ।
यता निर्वाचन स्थगितको सूचना आएलगत्तै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले क्याम्पस प्रशासनमा ताला लगाएको छ । युनियनका अध्यक्ष गणेश भण्डारीले प्रेस विज्ञप्ति जारी गर्दै अखिल क्रान्तिकारी संयुक्त प्यानललाई नराखी निर्वाचन समितिले निर्वाचन कार्यतालिका स्थगित गरेको कार्यप्रति आपत्ती जनाउँदै चरणबद्ध आन्दोलनमा जाने जनाएको छ ।
घोडाघोडी बहुमुखी क्याम्पसमा निर्वाचनका लागि छ वटा सङ्गठन दर्ता भए पनि अखिल क्रान्तिकारीले अन्य तीन सङ्गठनलाई समेटेर संयुक्त प्यानल एकातिर छ भने नेपाल विद्यार्थी सङ्घ र अनेरास्ववियु अर्को पक्षमा रहेका छन् ।