भारदह समाचारदाता
भारदह (सप्तरी), फागुन २८ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले हरेक क्षेत्रमा ५० प्रतिशत महिला सहभागी नभएसम्म देश विकासको कल्पना गर्न नसकिने बताउनुभएको छ ।
महोत्तरीको बर्दीबासमा मङ्गलबार सञ्चारिका समूह नेपाल मधेश प्रदेशले आयोजना गरेको दोस्रो मधेश प्रदेशको अधिवेशन उद्घाटन गर्दै मन्त्री सिंहले महिलाको जनसङ्ख्याको आधा महिलालाई रोजगारीमा अनिवार्य सहभागी गराउन आवश्यक भएको बताउनुभयो । उहाँले भन्नुभयो, “घरमा बसेका महिलालाई रोजगारमा पहुँच बढाउन सकियो भने देश विकासले फड्को मार्ने निश्चित छ ।”
महिलालाई पत्रकारितामा ल्याउन, टिकाउन तथा पेसागत सुरक्षाको ग्यारेन्टीका लागि पत्रकारको नेतृत्व गर्ने संस्था गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल पत्रकार महासङ्घ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जाराले पत्रकारको क्षमता अभिवृद्धि र मिडिया विकासको लागि मधेश सरकार गम्भीर हुनुपर्ने उहाँको जोड रहेको थियोे । सञ्चारिका समूहका केन्द्रीय सदस्य सलोजा दाहालले सात वटै प्रदेशमध्ये मधेशमा सबैभन्दा कम एक सय जना महिला पत्रकार मात्र भएकाले मधेश प्रदेशका पत्रकार महिलाको पेसागत सुरक्षाको ग्यारेन्टी सरकारले लिनुपर्ने बताउनुभयो ।
एसइई मर्यादित बनाउन निर्देशन
माध्यमिक शिक्षा परीक्षा (एसइई) मा भइरहेको विकृतिका कारण शिक्षाको अवस्था खस्किँदै गएकाले यसपालिको एसइईलाई मर्यादित बनाउन निर्देशन दिइसकेको उहाँले बताउनुभयो । मुख्यमन्त्री सिंहले भन्नुभयो, “एसइई मर्यादित हुन थाल्यो भने शैक्षिकस्तर आफैँ सुधार हुने निश्चित छ ।” एसइईका लागि केन्द्राध्यक्ष गोला प्रथाबाट चयन गर्ने, परीक्षा मर्यादित गराउने केन्द्राध्यक्षलाई आर्थिक पुरस्कारसहित सम्मान गर्ने, गल्ती गर्नेलाई कारबाही गर्ने बताउनुभयो । एसइईलगत्तै शैक्षिकस्तर सुधारका लागि विद्यालयको अनुगमन गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।