नेपालको पर्यटन भन्ने बित्तिकै विश्व समुदायमा सुन्दर हिमालहरूको दृश्यवलोकन, पदयात्रा र पर्वतारोहणको छवि आउने गरेको छ । नेपालमा पर्वतारोहणले समग्र पर्यटन क्षेत्रको महत्वपूर्ण र आकर्षक स्थान ओगटेको छ । पर्वतीय पर्यटनको मुख्य गन्तव्यस्थलका रूपमा चिनिएको नेपाललाई आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा स्थापित गर्न पर्वतारोहण तथा पदयात्रा पर्यटन प्रवर्धन गर्नु आवश्यक देखिएको छ । नेपालले दिगो पर्यटन प्रवर्धनको अवधारणा अनुसार पर्वतीय क्षेत्रमा पर्यटकीय गतिविधि अघि बढाएको छ । पर्यावरणको पूरा ख्याल गर्दै पर्यटन विकास गर्ने तथा आर्थिक लाभसँगै वातावरण र स्थानीय संस्कृतिको संरक्षणमा पनि ध्यान दिनुपर्छ भन्ने अवधारणा दिगो पर्यटनले बोकेको छ । यस अवधारणा अनुसार पर्यटनले स्थानीय बासिन्दालाई लाभ दिएर दिगो पर्यटन विकासमा लगाउन सकिन्छ । सीमित व्यक्तिलाई मात्र केही समय लाभ हुने गरी पर्यटन विकास गर्न दिँदा त्यो प्रभावकारी हुन सक्दैन ।
दिगो पर्यटनको अवधारणा अनुरूप सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा राष्ट्रिय पर्यटकीय गन्तव्य प्रोफाइल तयार गरी पर्यटकीय गन्तव्यको पहिचान, विकास र प्रवर्धन गरिने नीति लिएको छ । हालै २० लाख आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्यसहित पोखरा भ्रमण वर्ष २०२५ को घोषणा गरिएको छ । चालु आव २०८०/८१ को बजेट वक्तव्यमा सन् २०२३ देखि २०३२ को दशकलाई ‘नेपाल घुमौँ, नेपाल चिनौँ’ भन्ने नारासहित पर्यटक दशकका रूपमा मनाइने घोषणा भएको छ । १६ औँ योजनाले आव २०८५/८६ सम्म वार्षिक पर्यटक आगमन २५ लाख पुग्ने अनुमान गरेको छ । आव २०८१/८२ को बजेटले झन्डै डेढ गुणा अर्थात् १६ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार २०२४ जनवरीदेखि डिसेम्बर महिनासम्म ११ लाख ४७ हजार ५६७ पर्यटक नेपाल भ्रमणमा आएका छन् । बोर्डका अनुसार सन् २०२३ को तुलनामा सन् २०२४ मा १४ प्रतिशतभन्दा बढी पर्यटक आगमन बढेको छ । सन् २०२३ मा १० लाख १४ हजार ८७१ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तथ्याङ्क अनुसार सन् २०२२ मा छ लाख १४ हजार ८६९ पर्यटक नेपाल भित्रिएका थिए ।
दिगो पर्यटनमार्फत पर्यटकीय गतिविधिबाट हुने आम्दानी बढाउन नेपालले दशकौँदेखि नै विभिन्न नीति, कार्यक्रम तथा अभियान सञ्चालन गरिरहेको छ । १६ औँ योजनाले कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान सात प्रतिशत पु¥याउने लक्ष्य लिएको छ । मन्त्रालयका अनुसार अहिले नेपालको कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान पाँच प्रतिशत छ । सरकारको पर्यटन प्रवर्धन नीति अनुरूप तिनै तहका सरकारले आफ्नो क्षेत्रबाट नेपालमा र विदेशस्थित कूटनीतिक नियोगहरूले विभिन्न विदेशमा पर्यटन प्रवर्धनका कार्यक्रम गरिरहेका छन् । भर्खरै मात्र बहराइनस्थित नेपाली राजदूतावासले सरकारको पर्यटन प्रवर्धन अभियानलाई सार्थक गराउन ‘टुरिजम टु नेपाल : माउन्टेन एन्ड मोर’ विषयक कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा बहराइनका लागि नेपाली राजदूत तीर्थराज वाग्लेले गल्फ क्षेत्रका पर्यटक नेपालका प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताप्रति आकर्षित भइरहेको बताउँदै नेपालमा दिगो पर्यटन प्रवर्धनका लागि गरिएका प्रयास, नेपाली आतिथ्य सत्कार, समृद्ध सांस्कृतिक सम्पदा र साहसिक पर्यटनका सम्भावनाबारे बहराइनी तथा अन्य देशका कूटनीतिक प्रतिनिधिलाई अवगत गराउनुभएको थियो ।
नेपालमा पदयात्रा पर्यटकको सुविधालाई ध्यानमा राख्दै माउन्टेन टुरिजमको प्रवर्धन गर्न हिमाली पर्यटन क्षेत्रको व्यवस्थापन, पूर्वाधार सुधार र वातावरणीय संरक्षणमा ध्यान दिइएको छ । हिमाली क्षेत्रमा नयाँ सडक मार्ग र हवाई सेवा विस्तार गरिएको छ । राष्ट्रिय निकुञ्ज र ट्रेकिङ क्षेत्रहरूमा रेस्क्यु सेन्टरहरू स्थापना भएका छन् भने पर्यटकले अनलाइनबाटै ट्रेकिङ परमिट लिन सक्ने व्यवस्था गरिएको छ । नेपाल पर्यटन बोर्डले पर्वतीय पर्यटन प्रवर्धनका लागि डिजिटल मार्केटिङ बढाएको छ । त्यसै गरी स्थानीय गाइड र पर्वतारोहण सहायकलाई विशेष प्रशिक्षण र तालिम दिइएको छ । होमस्टे तथा स्थानीय होटल व्यवसाय प्रवर्धन गरिएको छ । साथै हिमाल चढाइ तथा ट्रेकिङ गतिविधिलाई व्यवस्थित गर्न नयाँ नियम लागु गरिएको छ । आरोहीहरूका लागि बिमा सुविधा अनिवार्य गरिएको छ भने अवैध ट्रेकिङ एजेन्सीहरूलाई कारबाही गर्ने नीति लिइएको छ ।
नेपालमा पर्वतारोहण अनुमति शुल्क र विदेशी आरोहीको अन्य खर्चबाट हुने आम्दानी नै पर्यटन क्षेत्रको प्रमुख स्रोत हो । पर्वतारोहण पर्यटनबाट हुने आम्दानी वृद्धि गर्न सरकारले सगरमाथालगायतका हिमालको आरोहण शुल्क पनि बढाएको छ । आगामी १६ भदौ २०८२ अर्थात् १ सेप्टम्बर २०२५ देखि सगरमाथा आरोहणमा जाने पर्यटकका लागि १५ हजार डलर लाग्ने छ । हाल सगरमाथा चढ्दा नेपाली नागरिकले १८ हजार २५० रुपियाँदेखि ७५ हजार रुपियाँसम्म (ऋतु अनुसार) शुल्क तिर्नु पर्छ भने विदेशी नागरिकले दुई हजार ७५० अमेरिकी डलरदेखि ११ हजार डलरसम्म तिर्नुपर्ने हुन्छ । सगरमाथाबाहेकका अन्य आठ हजार मिटर रेञ्जका हिमालहरू आरोहण गर्दा नेपालीले दुई हजार पाँच सय रुपियाँदेखि १० हजार रुपियाँसम्म शुल्क तिर्नु पर्छ भने विदेशीहरूले ४५० अमेरिकी डलरदेखि एक हजार आठ सय डलरसम्म तिर्नुपर्ने हुन्छ । सोभन्दा तल सात हजार ९९९ मिटरसम्मका उचाइका हिमाल आरोहण गर्दा रेञ्ज हेरी रोयल्टी लाग्ने गर्छ ।
यसै गरी पर्यटकको सुरक्षालाई ध्यानमा राख्दै हिमालमा हुने दुर्घटना कम गर्न सरकारले गाइड नलिई पदयात्रामा जान नपाउने निर्णय गरेको छ । सगरमाथालगायत नेपालका हिमालहरू एक्लै चढ्न प्रतिबन्ध छ । नयाँ सुरक्षा नियमावलीका अनुसार दुवै हात वा खुट्टा नभएका, दृष्टिविहीनहरूले पनि वैधानिक मेडिकल सर्टिफिकेटबिना अबदेखि सगरमाथा चढ्न पाउने छैनन् । नयाँ नियम अनुसार विदेशी पवर्तारोहीहरूले अब एक जना गाइड अनिवार्य रूपमा साथमा लिनुपर्ने छ । सगरमाथासहितको हिमाल आरोहण, आरोहण व्यवस्थापन कम्पनी, गाइड, आरोही सबैलाई नयाँ मापदण्ड लागु भएका हुन् । सगरमाथासँगै आठ हजार मिटरभन्दा अग्ला हिमाल चढ्नुअघि छ हजार पाँच सय मिटरभन्दा अग्लो हिमाल र त्योभन्दा मुनिको हिमाल चढ्नै पर्ने प्रावधान छ ।
नेपालले पर्यटनबाट तुलनात्मक रूपमा लाभ लिन नीति तथा कार्यक्रममा उल्लेखित पर्यटन प्रवर्र्धनका कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा जोड दिनु पर्छ । पर्यटन प्रवर्धनमा टेवा पु¥याउन सक्ने गरी नयाँ पर्यटकीय स्थलको विकास गरी व्यापक प्रचारप्रसार गर्नु पर्छ । पर्यटनसँग सम्बन्धित जनशक्ति उत्पादनका लागि तालिम, सम्पदा संरक्षण र प्रवर्धन, पर्यटन पूर्वाधार योजना तर्जुमा, अनुगमन र नियमनका साथै नयाँ गन्तव्यको खोजी र विकासलाई प्राथमिकता दिनु पर्छ । पर्यटन विकास वैज्ञानिक, सिर्जनात्मक, योजनाबद्ध र नतिजामुखी बनाउनु पर्छ । नेपाल घुम्न आउने विदेशी पर्यटकको सङ्ख्या बढाउन नेपालका पर्यटकीय स्थलहरूका बारेमा पर्याप्त प्रचारप्रसार गर्र्नु पर्छ भने पर्यटकीय गन्तव्य स्थलको भौगोलिक अवस्थितिबारे विस्तृत विवरण, सुरक्षा र जोखिमको स्थितिलगायतबारे स्पष्ट जानकारी दिइ पर्यटकलाई सुरक्षित आवास, बैङ्क, खानपान, सञ्चार, यातायात आदि सुविधाको उचित प्रबन्ध मिलाउन सक्नु पर्छ । साथै नयाँ साहसिक पर्यटनको विकास, हिमाल आरोहणमा सहजता, सुविधासम्पन्न होटेल तथा होमस्टे विकास, पर्यटक सुरक्षाको प्रत्याभूतिलगायतका कुरामा ध्यान दिन जरुरी छ ।