• २८ फागुन २०८१, बुधबार

भारतीयको स्वाद फेर्ने “वाउ मम”

blog

भारतको राजधानी नयाँ दिल्लीमा भएको नेपाल–भारत आर्थिक सम्मेलनमा दुईपक्षीय साझेदारीबारे छलफल गर्नुपर्ने थुप्रै एजेन्डा थिए तर एकपछि अर्को गर्दै अधिकांश वक्ताले आफ्नो मन्तव्यमा ती महत्वपूर्ण एजेन्डासँगै मम परिकारको प्रसङ्ग जोड्न थाले । जुन विषयको सुरुवात चाहिँ भारतीय पक्षबाटै भएको थियो ।

नेपालका लागि पूर्वभारतीय राजदूत मञ्जीवसिंह पुरीले क्षेत्रीय सहकार्य शीर्षकको प्यानल डिस्कसनमा स्टार्टअप बिजनेससम्बन्धी प्रसङ्ग निकालेका थिए । त्यसक्रममा उनले भारतमा सबैभन्दा चलेको ‘स्ट्रिट फुड कुन हो ?’ भन्दै प्रश्न राखे । 

गत पुस महिनाको चिसोमा नयाँ दिल्लीको ‘इन्डिया इन्टरनेसनल सेन्टर’ मा भएको कार्यक्रमका सहभागीले रैथाने भारतीय परिकार खान्की डोसा, इड्ली, वडा पाउलगायतलाई सङ्केत गर्न खोजे तर पुरीले सबैलाई रोक्दै अचेल भारतमा सबैभन्दा धेरै मम चल्न थालेको कुरा राखे । 

“भारतमा सबैभन्दा प्रख्यात मम ब्रान्ड कुन हो ?” उनले प्रश्न तेस्र्याए । लगत्तै जवाफ पनि आफैँ दिँदै भने “वाउ मम ।” भारतका धेरैजसो शहर तथा सडकमा मम पाइने गरेको छ । मम बिक्री गर्ने व्यापारी पनि नेपाली नै छन् । 

नेपाली सञ्चालक रहेको ‘वाउ मम’ ब्रान्डको सात सय आउटलेट रहेको भन्दै उनले ‘स्टार्टअप’ भनेको यस्तो हुनुपर्ने बताए । अहिले नेपाल र नेपाली फेरिएका छन् । नेपाली अहिले भारतका विभिन्न शहरमा कामको खोजीमा नभई व्यवसायीका रूपमा समेत भित्रिने गर्छन् । 

विशेष गरी युवावर्ग जसका अभिभावक भारतमा काम गर्छन्, उनका सन्तान भारतबाट नै उच्च शिक्षा लिएर भारतमै उत्कृष्ट र आकर्षक व्यवसाय गर्न अग्रणी देखिन्छन् । कर्णालीको जिम्मु, सिलाजित, भेडाको ऊनबाट बुनेका कम्बल, राडी, पाखी भारतका बजारमा बिक्री हुने गरेको छ ।  

एक जना नेपाली युवाको कम्पनीले भारतमा एकदमै चर्चा बटुलेको छ । पूर्वराजदूत पुरीले अगाडि भने, “भारतमा पनि नेपाली युवाको श्रम र लगानी बढ्दो क्रममा छ ‘वाउ मम’ यसको उदाहरण हो । मम भारतीयमाझ लोकप्रिय नेपाली परिकारका साथै ब्रान्ड बन्दै छ ।”

पुरीबाट नेपाली ममको प्रशंसा सुनेपछि प्यानल डिस्कसनको अध्यक्षता गरिरहेका भारत सरकारको वित्त आयोगका पूर्वअध्यक्ष एनके सिंहले पनि आफ्नो घरमा नेपाली महिला सहयोगी रहेको स्मरण गराए । “स्ट्रिट फुडको कुरा गर्दा मलाई याद आयो मेरो घरमा खाना पकाउने सहयोगी पनि नेपाली छिन् । उनीले पकाउने खाने कुरा एकदमै विशिष्ट र स्वादिष्ट हुन्छ,” सिंहले कुरा राखेका थिए ।

‘पर्यटन र वातावरण’ शीर्षकको प्यानल छलफलमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले पनि ममकै प्रसङ्ग जोडे । भारतमा नेपाली युवा उद्यमीले सञ्चालन गरेको मम लोकप्रिय भए जस्तै पर्यटन क्षेत्रमा पनि फरक हिसाबले प्रचार हुनुपर्ने धारणा उनको थियो । 

दिल्लीस्थित नेपाली दूतावासमा आयोजित रात्रिभोजमा पनि उही ममको प्रसङ्ग निस्किएको थियो । परराष्ट्रमन्त्री आरजु राणा देउवा, नेकपा (एमाले) का नेता एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसमेतको सहभागिता रहेको रात्रिभोजमा पूर्वराजदूत पूरीले नै नेपाली मम र त्यसको स्वादको प्रसङ्ग निकालेका थिए ।

नेपाली युवा सञ्चालक रहेको ‘वाउ मम’ भारतीय ग्राहकमाझ निकै लोकप्रिय छ । उच्च हिमाली क्षेत्रमा पाइने टिमुर र लप्सीसहित अचारको स्वादले पनि भारतीय ग्राहकलाई तानेको देखिन्छ । काभ्रे पात्लेखेत स्थायी घर भएका विनोद हुमागाईंले एक जना भारतीयसँगको सहकार्यमा सन् २००८ मा ‘वाउ ममः!’ नामको स्टार्टअप बिजनेस सुरु गरेका थिए ।

त्यसबेला ३० हजार भारतीय रुपियाँबाट सुरु भएको वाउ मम व्यवसायले अहिले भारतका मुख्य शहरमा शाखा विस्तार गरी मासिक एक अर्बभन्दामाथि कारोबार गर्न थालिसकेको छ । भारतका अधिकांश ठूला शहरमा अहिले वाउ ममको आउलेट देख्न सकिन्छ । 

वाउ ममका सञ्चालक विनोदका बुवा कोलकाताको रेलवेमा काम गर्थे । विनोद पनि सानैमा स्कुल र कलेज पढ्न बुवासँगै कोलकाता गएका थिए । त्यहाँको सेन्ट जेभियर्स कलेजमा स्नातक पढ्दै गरेका विनोदसहित उनका अन्य साथी अलि फरक किसिमको व्यवसाय गर्ने योजना बनाउँदै थिए । त्यहीँ बेला उनलाई झट्ट नेपाली परिकार ममको याद आयो । 

भारतमा कहीँकतै नपाक्ने मम पकाएर बिक्री गर्दा कसो होला ? भन्ने जिज्ञासा मनमा जाग्यो । केही रेस्टुराँमा दार्जिलिङ मम पाइने भए पनि त्यति स्वादिलो हुन्थेन । त्यसपछि विनादले नै साथीहरूसँग आफ्नो आइडिया साझा गरे ।

नेपाल भ्रमणमा आउने भारतीयले रुचिपूर्वक ममको स्वाद लिने गर्थे । ममको स्वाद लिनेमा विनोदका एक जना साथी पनि थिए । त्यसबाट नयाँ व्यवसाय सञ्चालन गर्ने ऊर्जा मिल्यो । त्यसपछि २०–२१ वर्ष उमेरका ठिटाले थोरै लगानीमा सुरु गरे वाउ मम ।

सुरुवातदेखि नै यो मम कति चल्यो भने सन् २०१५ सम्म आइपुग्दा उनीहरूले भारतका छ ठूला शहरमा ४४ वटा आउटलेट खोलिसकेका थिए । अहिले वाउ ममका सात सय आउटलेट सञ्चालनमा छन् । ती सबैमा प्रायःजसो मम खान पुग्नेको भिड लागेकै हुन्छ । 

आर्थिक सम्मेलनमा नेपाली मम ब्रान्डको प्रशंसा सुनेपछि नयाँ दिल्लीमा क्रियाशील पत्रकारका लागि रुचि र चासोको विषय बन्यो । एक भारतीय पत्रकारसँग कनाट प्लेसतिर घुम्दै जाँदा एउटा सपिङ मलमा वाउ मम देखिएको थियो । क्रिसमसको पूर्वसन्ध्याका  कारणले पनि हुन सक्छ भिडभाडले गर्दा मम खान लाइन लाग्नैपर्ने अवस्था आयो ।  

करिब २० मिनेट पालो कुरेर ममको स्वाद लिँदा आनन्द नै आयो । मम आफैँमा स्वादिष्ट परिकार त्यसमाथि अचारको फरक स्वाद र पिरो, अमिलो आदि कुराले भारतीय ग्राहक आकर्षित हुनुको मुख्य कारण थाहा भयो । 

ममको इतिहास

मम नेपालका सामान्य खाजा–नास्ता पसलदेखि पाँचतारे होटलसम्मको मेनुमा अनिवार्य परिकारमा राखिएको हुन्छ ।  ममबिनाको मेनु असम्भव छ । 

आजभन्दा ५०/६० वर्षअघिसम्म भेज मम र चिकेन मम बनाउने चलन नै थिएन । मम भनेपछि बफ नै भन्ने बुझिन्थ्यो । पछि आएर विभिन्न स्वाद र स्वरूपमा मम बनाउने चलन सुरु भयो । 

कोहीले मम तिब्बतबाट नेपालमा भित्रिएको पनि बताउने गर्छन् । अधिवक्ता तथा अध्येता विश्वलाल श्रेष्ठका अनुसार नेवारी समुदायको संस्कृतिमा यमोरी बनाउने प्रचलन परापूर्वकालदेखि चल्दै आएको थियो ।

उनी भन्छन्, “यमोरीभित्र पनि मममा जस्तै विभिन्न कुरा राखिन्छ । मिल्दोजुल्दो भएको हिसाबले नेवारी समुदायमा मम पनि सुरु भएको थियो । यद्यपि यसको स्रोत चाहिँ तिब्बत नै हो ।”

लिच्छविकालीन समयमा राजकुमारी भृकुटीले तिब्बती राजा स्रोङचन गम्पोसँग बिहे गरेपछि दुई मुलुकबीच जनस्तरमा सम्बन्ध बढेको इतिहास छ । त्यतिबेला भृकुटीले नेपालको बुद्ध धर्म तिब्बतमा फैलाएकी थिइन् भने त्यहाँको परिकारलगायतका सांस्कृतिक विषय नेपालसम्म फैलिएका थिए ।

“भृकुटीको पालापछि नेपाल र तिब्बतका नागरिकबीच आउजाउ भइरहँदा संस्कृति आदानप्रदान भयो र तिब्बती परिकार मम पनि नेपालसम्म आइपुगेको तर नेपालमा आएर यसको बनाउने शैली केही फेरियो,” श्रेष्ठको भनाइ छ । 

नेवारी समुदायबाट सुरु भएको मम २०३० सालपछि विस्तारै नेपालको लोकप्रिय खाद्यवस्तु बन्न पुगेको थियो । मम हाल  अमेरिका, क्यानडा, अस्टे«लिया, जापान, मलेसिया, दक्षिण कोरिया, साउदी अरब, कतार, रुस, थाइल्यान्डलगायतका मुलुकमा पनि पाक्छ ।  

–युवामञ्च