तानसेन समाचारदाता
तानसेन, फागुन २७ गते । पाल्पाका १० स्थानीय तहमध्ये अधिकांश पालिकाको केन्द्रसम्म पुग्ने पहुँच मार्ग अझै स्तरोन्नति हुन सकेको छैन । स्थानीय तह बन्नुअघि बनेका पहुँच मार्गको अवस्था आठ वर्षमा पनि उस्तै रहेको छ ।
स्थानीय तह बनेको आठ वर्ष बितिसक्दासमेत पालिकाको केन्द्र पुग्ने पहुँच मार्ग धुलाम्मे रहेका छन् । जिल्ला सदरमुकाम तानसेन र रामपुर नगरपालिकाको केन्द्रसम्म पुग्ने सडक स्थानीय तह बन्नुअघि नै कालोपत्रे बनेका थिए । त्यतिबेला निस्दीको मित्याल रम्भाको खोकखोला, पूर्वखोलाको रिङ्नेरह, माथागढीको झडेवा, तिनाउको दोभानसम्म पुग्ने पहुँच मार्ग बनेका थिएनन् ।
बगनासकालीको केन्द्रलाई सिद्धार्थ राजमार्गले छोएको थियो । यस्तै रिब्दीकोट र रैनादेवी छहरा गाउँपालिकाको केन्द्रलाई तानसेन–छहरा–हार्थोक–छहरा सडकले छोएको थियो । यी दुई पालिकाको केन्द्रसम्म पुग्न ओटासिल सडक बनिसकेको थियो । हाल यो सडकको अवस्था पनि स्तरोन्नति हुन नसक्दा क्षतविक्षत अवस्थामा रहेको छ ।
जिल्लाको तिनाउ गाउँपालिकामा जाने पाँच सय मिटर सडक भने कालोपत्रे भएको छ । जिल्लाको पूर्वखोला गाउँपालिकासम्मको पहुँच मार्ग हाल निर्माणाधीन अवस्थामा रहेको छ । उक्त पहुँच मार्गका लागि प्रदेश सरकारबाट १८ करोडभन्दा बढी बजेट विनियोजन भएर पछिल्लो चार वर्षयता काम भइरहेको सडक पूर्वाधार विकास कार्यालय पाल्पाका प्रमुख वासुदेव भण्डारीले बताउनुभयो ।
अन्य पालिका निस्दी, माथागढी, रम्भा, गाउँपालिकाको पहुँच मार्ग भने कच्ची अवस्थामै रहेको छ । पहुँच मार्गका लागि बजेट विनियोजन हुन नसक्दा काम हुन नसकेको उहाँले बताउनुभयो । माथागढी गाउँपालिकाको देवगीरदेखि झडेवा सातमूलेसम्मको छ किलोमिटर सडकमा हाल सङ्घीय समपूरक बजेटबाट काम भइरहेको माथागढी गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकासम्म पुग्ने पहुँच मार्ग स्तरोन्नतिका लागि चार करोड बजेट विनियोजन भएको र त्यसबाट सडक स्तरोन्नतिको काम भइरहेको गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले बताउनुभयो । रम्भा गाउँपालिकाको केन्द्र खोकखोलासम्म पुग्ने एक किलोमिटर सडक अलपत्र जस्तै छ । उक्त सडकखण्डमा चार वर्षअघि नाली बनाउने काम भए पनि कालोपत्रे गर्ने काम हुन सकेको छैन । जिल्लाको निस्दी गाउँपालिकाको पहुँच मार्गका रूपमा रहेको ढुङ्गनाबेँसी–मित्याल सडकसमेत अलपत्र बनेको छ ।
पहुँच मार्गका लागि पहल नहुँदा पालिकाको पहुँच मार्ग अलपत्र बनेको जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टङ्कनाथ खनालले बताउनुभयो । पालिकाहरूले प्रदेश र सङ्घीय सरकारसँग कुन योजना प्राथमिकतामा पार्ने र कुन काम पहिले गर्ने भन्ने ध्यान दिन नसक्दा बन्नै पर्ने पहुँच मार्ग अलपत्र परेको उहाँले बताउनुभयो ।