अमृतप्रसाद पौडेल
म्याग्दी, फागुन २७ गते । बेनी नगरपालिका ९ घतानको तोरीपानी सहरी स्वास्थ्य केन्द्र पछिल्लो एक महिना देखि बन्द हुँदा सेवाग्राहीलाई सास्ती भएको छ । केन्द्रमा खटाइएका अहेब तपेन्द्रबहादुर थापा कार्यालयमा उपस्थित नभएपछि केन्द्र बन्द भएको हो ।
बेनी नगरपालिकाले तोरीपानी, ढोल्ठान तथा धुपीबोट क्षेत्रका बासिन्दाको सुविधाका लागि भनेर सुरु गरेको उक्त स्वास्थ्य केन्द्र दुई महिनादेखि बन्द छ । स्थानीय युवा बाबुराम चोखालका अनुसार त्यस क्षेत्रका सय घर भन्दा धेरैका बासिन्दाहरूले प्रत्यक्ष सेवा पाउने उक्त केन्द्र बन्द हुँदा लामो बाटो हिँडेरै सेवा लिन पुग्नु पर्ने भएको छ । ग्रामीण भेकमा अचेल जेष्ठ नागरिकहरु धेरै हुने र नजिकै भएको स्वास्थ्य केन्द्र बन्द हुँदा उहाँहरूलाई स्वास्थ्य सम्बन्धी सेवा लिनका लागि टाढा पुग्नु पर्ने बाध्यता सृजना भएको चोखालको भनाई छ ।
बेनी नगरपालिका ९ का वडा अध्यक्ष चक्रबहादुर केसीले स्वास्थ्य केन्द्रका कर्मचारी उपस्थित नभएको स्वीकार गर्नुभयो । सम्बन्धित क्षेत्रमा खटाइएको कर्मचारीलाई बुझ्दा उनी लामो समय देखि केन्द्रमा नगएको र सेवा बन्द रहेको जानकारी पाएको बताउनुभयो ।
बेनी नगरपालिकाका सूचना अधिकारी युवराज थापाले सहरी स्वास्थ्य केन्द्रमा मङ्सिर भन्दा अगाडी करारका कर्मचारी मंगला गाउँपालिका २ का लेखनाथ गौतमले काम गर्दा सेवा प्रवाह राम्रो भए पनि अहिले स्थायी दरबन्दीका तपेन्द्रबहादुर थापा आए पछि बन्द भएको रहेछ त्यो पनि ढिला गरी थाहा पाइयो ।
वडा अध्यक्ष केसीले चाँडै नै सर्वपक्षीय बैठक राखेर सेवा सञ्चालन गर्ने प्रतिबद्धता जनाउनु भएको छ । उहाँले स्वास्थ्य शाखा प्रमुख चन्दन सुवेदी सहितको टोली सम्बन्धित स्थानमै पुगेर समस्या समाधानको प्रयास गरिने बताउनुभयो ।