• २७ फागुन २०८१, मङ्गलबार

फागु गायन र नृत्य संरक्षण गरिँदै

blog

तानसेन समाचारदाता

तानसेन, फागुन २७ गते । फागुपूर्णिमाको दिन ऐतिहासिक स्थल लालपाटीमा फागु संस्कृति जगेर्ना गर्न विशेष कार्यक्रम गरिने भएको छ । फागु परम्परा र संस्कृति जगेर्ना गर्ने उद्देश्यले बगनासकाली–२ स्थित लालपाटीमा फागु गायन तथा नृत्य प्रतियोगिता गर्न लागिएको हो ।  

लोप हुँदै गएको फागु संस्कृति तथा परम्पराको जगेर्ना गर्न यही फागुन २९ गते लालपाटीमा फागु गायन तथा नृत्य प्रतियोगिता गरिने भएको हो । पाल्पाको माडीस्थित लालपाटीमा लामो समयदेखि होली तथा फागुपूर्णिका दिन हजारौँ मानिस भेला भएर रङ खेल्ने परम्परा रहेको छ । 

यो वर्ष फागुपूर्णिमाको दिन लाग्ने मेलामा परम्परागत फागु गायन र नृत्य प्रस्तुत हुने स्थानीय दीपेन्द्र ढकालले बताउनुभयो । पछिल्लो समय फागु नाच्ने परम्परा हराउँदै गएको बताउँदै उहाँले लालपाटीमा भेला भएका मानिसलाई फागुगीत र नाचबारे जानकारी दिन प्रतियोगिता गर्न लागिएको जानकारी दिनुभयो । 

तीन दशकअघिसम्म पाल्पाका ग्रामीण भेगमा फागुपूर्णिमाको अघिल्लो दिनदेखि तीन दिनसम्म फागु नाच्ने परम्परा थियो । मादल, ढोलक, खैजडी, टेम्पुरी लिएर मानिस प्रत्येक घर घरमा पुगेर फागु नाच्ने परम्परा रहेको थियो । यसरी फागु खेल्न आएका मानिसलाई घरधनीले गच्छे (शक्ति) अनुसार दान, दक्षिणा तथा अन्न दान दिने प्रचलन थियो । पछिल्लो समय त्यस्ता संस्कृति हराउँदै गएकाले फागुपूर्णिमा (होली) को दिन लालपाटी मेलामा सहभागीलाई फागु संस्कृति जगेर्ना गर्न उत्प्रेरणा दिन प्रतियोगितात्मक कार्यक्रम गर्न लागिएको बगनासकाली–२ का वडाध्यक्ष तीर्थप्रसाद भट्टराईले जानकारी दिनुभयो ।