मधेश प्रदेश ब्युरो
जनकपुर, फागुन २७ गते । मधेश प्रदेशका स्थानीय तहले उत्पादन खरिदबिक्रीका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग कारोबार गर्न चासो देखाएका छैनन् । जसका कारण किसानले निजी व्यापारीलाई धान र गहुँ बेच्न बाध्य छन् ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले विभिन्न स्थानीय तहसँग खाद्यान्न खरिद सम्झौताको प्रयास गरे पनि धनुषाका कुनै पनि स्थानीय तहले सो सम्झौताप्रति चासो देखाएनन् । कम्पनीले गत माघ १० गते धनुषाका १८ वटै स्थानीय तहलाई सम्झौताका लागि पत्राचार गरेको भए पनि कुनै पनि स्थानीय तहले सम्झौताप्रति चासो देखाएका छैनन् । कम्पनीले कृषकबाट उत्पादित सोना मन्सुली खाद्यान्न खरिद गर्ने योजनासाथ विभिन्न स्थानीय तहलाई प्रस्ताव पठाएको थियो । स्थानीय तहबाट सकारात्मक प्रतिक्रिया नआएको कम्पनीका धनुषा शाखा प्रमुख निर्मल थापाले बताउनुभयो । कतिपय स्थानीय प्रतिनिधिले जानकारी अभावका कारण सम्झौता नभएको बताएका छन् भने कतिपयले अन्य प्राथमिकताका कारण सम्झौता गर्न नसकिएको जनाउनुभएको छ ।
सबैला नगरपालिकाका प्रमुख कारीराम यादवले कम्पनीले सम्झौता प्रक्रियासम्बन्धी अन्तर्क्रिया नभएका कारण सम्झौता हुन नसकेको बताउनुभयो । उहाँले जानकारी अभावमा किसानको पहुँच कम्पनीसम्म पुग्न नसकेको दाबी गर्नुभयो ।
यस्तै धनौजी गाउँपालिकाका अध्यक्ष राजकुमार साहले कम्पनीको प्रक्रिया झन्झटिलो भएका कारण किसानले आफूखुसी बिक्री गरिरहेको बताउनुभयो । उहाँले सरकारी प्रक्रिया झन्झटिलो हुँदा पालिकाका किसानलाई ५० प्रतिशत अनुदान दिँदा पनि लिन नमाने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “चालु आवमा गहुँमा मात्र ५० लाख रुपियाँ अनुदानका लागि छुट्याइएको छ तर कसैले लिन चाहेनन्, कारण किसान मारमा पर्छन् ।”
यसैबिच कम्पनीले पुनः स्थानीय तहसँग छलफल गरी सम्झौताका लागि आग्रह गरिने तयारी गरिरहेको जनाएको छ । सम्झौता भएमा कृषकलाई उचित मूल्य सुनिश्चित गर्दै स्थानीय उत्पादनको प्रवर्धन गर्न सकिने कम्पनीको दाबी छ ।
कम्पनीले चालु आव २०८१/८२ मा ३२ हजार क्विन्टल धान किन्ने लक्ष्य राखे पनि करिब ४६ सय क्विन्टल मात्र धान किनेको छ । यसअघि आव २०८०/८१ मा १५ हजार क्विन्टल खरिद गर्ने लक्ष्य राखे पनि ४५.६९ क्विन्टल र आव २०७९/८० मा पनि १५ हजार क्विन्टल लक्ष्य राखे पनि एक हजार ९३.०५ क्विन्टल मात्र खरिद गरेको थियो ।
सिराहामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड लहानले यस वर्ष ५३.२१ क्विन्टल धान मात्रै खरिद गरेको छ । कम्पनी लहान शाखा प्रमुख दीपक सुनारले यस वर्ष दुई जना किसानबाट धान मात्रै खरिद भएको बताउनुभयो । बढी उत्पादन हुने सोना मन्सुली सरकारले निर्धारण गरेको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ५८० रहेको छ भने बजारमा प्रतिक्विन्टल तीन हजार आठ सय रहेको छ ।
गत विगत वर्षहरूमा बजारभन्दा एक हजार बढी सरकारी समर्थन मूल्य पाएपछि धान बिक्री गर्न आउने किसानले धान तौलिएर भुक्तानी लिन कैयौँ दिन पर्खिनु परेको थियो । त्यतिबेला यस कार्यालयले २५ हजार क्विन्टल धान खरिद गरिएको कार्यालय प्रमुख सोनारले प्रस्टयाउनुभयो ।
पर्सामा स्थानीय बजारमा रहेका निजी खाद्य उद्योग तथा सेल्लर मिलले सरकारले तोकेको समर्थन मूल्यभन्दा बढी रकममा धान खरिद गर्न थालेपछि किसानले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगन्ज शाखामा धान बेच्न छाडेका छन् ।
कुनै समय धान किन्नेबेला किसानको ट्याक्टर धेरै आएपछि सडकमा ट्राफिक जाम एवं कार्यालयमा मेला जस्तै भिडभाड हुने गरेको भए पनि पछिल्लो दुई वर्षयता किसान खाद्यमा धान बेच्न आउन छाडेर धान खरिदको समयमा पनि कार्यालय सुनसान हुने गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका सूचना अधिकारी मुनिलाल कुशवाहका अनुसार यस आवमा ४२ हजार क्विन्टल सोना मन्सुली धान खरिद गर्ने कोटा पाएको वीरगन्ज शाखाले चार हजार १८० क्विन्टल ७० किलो धान मात्र खरिद गरेको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मङ्सिर २० गतेदेखि नै धान किन्न थालेको हो । सुरुका दिनमा बजारभन्दा समर्थन मूल्य केही रुपियाँ बढी थियो तर प्रसिद्ध गढीमाई मेला परेकाले धेरै किसानले धान बेच्न आएनन् । पछि बजारका निजी सेलर मिल तथा खाद्य उद्योगमा धान महँगिएपछि किसानले हाम्रोमा धान बेच्न ल्याएनन्, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका वरिष्ठ सहायक समिर दाहालले बताउनुभयो ।
गत आव २०८०/८१ मा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिद गर्ने सूचना जारी गरे पनि कुनै पनि किसानले धान बेच्न नल्याएपछि धान खरिद गर्न सकेको थिएन ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगन्ज शाखाले धान खरिदका लागि स्थानीय तहसँग सम्झौता गरेर सोही स्थानमा गई धान खरिद गरिदिन आवश्यक तयारी एवं अनुगमन गरे पनि बारा पर्साका कुनै पनि स्थानीय तहले सम्झौता नगरेको शाखाका वरिष्ठ सहायक दाहालले जानकारी दिनुभयो ।
उहाँले बाराको देवताल गाउँपालिकाको पिप्रामा रहेको श्री विश्वकर्मा बाबा कृषि सहकारी संस्थाले २५ सय क्विन्टल धान बिक्री गर्ने सम्झौता गरे पनि एक हजार ८५४ क्विन्टल ३० किलो सोना मन्सुली धान बिक्री गरेको बताउनुभयो ।
जीवछ यादव, लक्ष्मी चौधरी र दीपकप्रसाद गौतमको सहयोगमा