गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन २७ गते । आगामी १ चैतदेखि २६ औँ पुष्प प्रदर्शनी (फ्लोरा एक्स्पो) हुने भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को आयोजनामा प्रदर्शनी हुन लागेको हो । स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय भन्ने नारासाथ प्रदर्शनी हुन लागेको हो । मेलामा पुष्प नर्सरी, पुष्प फर्म, पुष्प तथा पुष्पजन्य आपूर्तिकर्ता कम्पनी, व्यवसायी तथा विभिन्न सङ्घ संस्थानको सहभागिता रहने फ्यानले जनाएको छ ।
यस्तै मौसमी फूल फुल्ने तथा नफुल्ने आलङ्कारिक बोट बिरुवा, कट फलावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोस्ट मल, फूलको गानो, बिउबिजन, ग्रिन हाउस, कृषि औजार उपकरण, प्याकेजिङका सामग्री, थोपा सिँचाइ प्रविधि, आधुनिक पुष्प खेती प्रविधि, जैविक विषादी, विभिन्न प्रकारका गमला, पुष्प सजावटका प्रदर्शनी तथा बिक्री कक्ष रहने छन् । मेलामा विभिन्न ८२ वटा स्टल राखिने भएको छ । मेला चार दिनसम्म सञ्चालन हुने छ ।
मुलुकमा ५२ जिल्लामा २६० हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भइहरहेको छ । यस व्यवसायमा ५१ हजारभन्दा बढी व्यक्तिले रोजगार पाएका छन् । बजारमा पुष्पजन्य वस्तुको माग बर्सेनि १० देखि १५ प्रतिशतले वृद्धि हुँदै गएको फ्यानले जनाएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार आव २०८०/८१ मा २७ करोड ७९ लाख रुपियाँको फूल आयात हुँदा एक करोड दुई लाख १२ हजार रुपियाँको निर्यात भएको छ । नेपालबाट न्यून परिणाममा पुष्पजन्य वस्तुको निर्यात भए पनि ठुलो परिणाममा भने आयात हुने गरेको छ । स्थानीय उत्पादनले बजार माग धान्न नसक्दा ठुलो परिणाममा पुष्पजन्य वस्तुको आयात हुने गरेको तथ्याङ्कले देखाएको छ । यस्तै आव २०७९/८० मा ३३ करोड छ लाख ४८ हजार फूल आयात हुँदामा ६८ लाख रुपियाँको निर्यात भएको छ ।
आव २०७८/७९ मा ३६ करोड ५३ लाख पाँच हजार रुपियाँको फूल आयात हुँदा ९८ लाख रुपियाँको र आव २०७७/७८ मा ४० करोड ७२ लाख ३४ हजार रुपियाँको फूल आयात हुँदा ५३ लाख आठ हजार रुपियाँको निर्यात भएको तथ्याङ्क छ ।