• २५ वैशाख २०८१, मङ्गलबार

उत्पादनमुखी बजेट सकारात्मक रहेको सांसदहरुको धारणा

blog

तस्बिर : केशब गुरुङ

काठमाडौं, जेठ १८ गते । सत्तारुढ दल नेपाली कांग्रेस सांसद पद्मनारायण चौधरीले मुलुक सङ्कटग्रस्त अवस्थामा रहेकाले अहिले बजेटले कृषिलाई प्राथमिकता दिएको बताउनुभयो ।

बैठकमा उहाँले कृषि क्षेत्रले सङ्कट धान्न सक्ने उल्लेख गर्दै बजेटले कृषि, पर्यटन क्षेत्रमा गर्ने लगानीले ठूलो रोजगारी सिर्जना गर्ने बताउनुभयो । उहाँले सामाजिक सुरक्षाका विषयवस्तु बजेटमा उल्लेख गरिएकाले बजेट राम्रो रहेको बताउनुभयो ।

नेकपा (एकीकृत समाजवादी)का सांसद नीरादेवी जैरुले संसद्मा प्रस्तुत आगामी आवको बजेट लोकप्रिय भएको तर कार्यान्वयनका लागि शिक्षा र स्वास्थ्यमा रहेको ‘सिण्डिकेट’ हटाउनुपर्ने बताउनुभयो । सरकारले कृषि कर्जालगायतका कर्जाको विषय उठाएको र सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा नयाँ उद्योग खोल्दा १५ वर्ष कर छुट दिने कुरा सकारात्मक रहेको उहाँले औँल्याउनुभयो । बजेटले दलित, पछाडि परेका वर्गका बारेमा बोलेको उहाँले बताउनुभयो । 

जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले हुलाकी राजमार्गमा थोरै मात्रै बजेट छुट्टयाइएको भन्दै यसका पुनर्विचार गर्नुपर्ने सुझाव राख्नुभयो । बजेटमा मधेस प्रदेशमा योजना नभएको र अनुदान पनि घटाएको बताउँदै उहाँले वीरगञ्जमा धेरै उद्योग रहेका र ठूलो रकम राजस्व उठाएको भए पनि सरकारले बजेटमा बेवास्ता गरेको उल्लेख गर्नुभयो । निजगढ विमानस्थल रोक्ने निर्णयले मधेसमाथि अन्याय भएको र विकासमा नै असर पुगेको उहाँको तर्क थियो ।