सलिम मियाँ
बिजुवार, फागुन २६ गते । विद्यालयको आङ्गन भावनाले भरिएको थियो । चारैतिर माला र अबिरले रङ्गिएको माहोल, आँखामा आँसु र मनभरी सम्झनाको बिसौनी बोकेर जनसहयोगी माध्यमिक विद्यालय, गौमुखी –५, खुङ्ग, प्युठानमा एसइई परीक्षार्थीको बिदाइमा अरु विद्यार्थी भावुक भएको दृश्य हो ।
कक्षा ९ का विद्यार्थी हातमा फूलमाला लिएर पालैपालो अगाडि बढ्नुभयो । बिदाइ भएर जाँदैगरेको अग्रजलाई श्रद्धाले अभिवादन गरे, अबिर लगाए ।, माला पहिर्याइदिएर सम्मान व्यक्त गरे । कोही निःशब्द भए, कोही सुकसुकाएर बसे ।
“विद्यालय छोड्ने बेला आयो भन्ने सोच्न पनि गाह्रो भइरहेको छ“ परीक्षार्थी मनिषा कंवरले आँखा पुछ्दै भन्नुभयो, “शिक्षक र साथीहरूको माया कहिल्यै बिर्सन सक्दिनौ ।”
विद्यालयका प्रधानाध्यापक अमृत केसीले प्रेरणादायी शब्दहरू राख्दै भन्नुभयो, “यो विद्यालय केवल पढाउने ठाउँ मात्र होइन, तपाईंहरूको आधार हो । यहाँ सिकेको ज्ञान, अनुशासन र मूल्यहरूले तपाईंहरूको भविष्य उज्यालो बनाओस् ।“
“हाम्रा विद्यार्थी सफल बनुन् भन्ने हाम्रो चाहना हो । यहाँ सिकेको शिक्षा जीवनभर उपयोगी बनोस्” उहाँले थप्नुभयो । उहाँका शब्दहरूले विद्यार्थीमा आत्मविश्वास दिलाए पनि वातावरण भावुक बन्यो ।
विद्यार्थीको आँखामा आँसु झल्झली देखिन्थ्यो, मनमा अनेक सपनाहरू खेलिरहेका थिए । कतिपय मुस्कुराइरहेका थिए, कतिपय विद्यार्थी मौन थिए । प्युठानमा चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा जनसहयोगी माविका १८ जनासहित जिल्लाभरका ४ हजार ९ सय ४० जना विद्यार्थी सहभागी हुने शिक्षा समन्वय इकाई प्युठानले जनाएको छ ।
इकाइका अनुसार १७ परीक्षा केन्द्रबाट ३ हजार ४६९ नियमित, १ हजार २३६ ग्रेडवृद्धि (साधारण), १९६ प्राविधिक, १९ ग्रेडवृद्धि (प्राविधिक) र २० व्याज विद्यार्थी परीक्षामा सहभागी हुनेछन् ।