प्रनिश गिरी
कुश्मा (पर्वत), फागुन २६ गते । कोही नहुनेका लागि दैव सहारा भनेजस्तै सामुदायिक कुकुरको सहारा बन्नुभएको छ, पशु अधिकारकर्मी राजकुमारी राना ।
अधिकारर्मी रानाले विगत ४ वर्षदेखि आफ्नो सन्तान जस्तैगरी सामुदायिक कुकुरको स्याहार र रेखदेख गर्दैआएकी छन् । समाजमा केही मानिसले सामुदायिक कुकुरलाई भुस्याह कुकुर भनी खेद्ने, लखेट्ने र कुट्ने गर्दछन् ।
कतिपयले घरमा पालेको कुकुरलाई समेत मन भरिएपछि निर्दयी भई सडकमा अलपत्र छोडिदिन्छन् । बजार क्षेत्रमा कुकुरको संख्या वृद्धि हुँदा सडक दुर्घटनाको जोखिम र रेविज फैलिने डरउस्तै छ ।
समाजमा जनावर पनि सुखसँग बाँच्न पाउनुपर्छ भन्ने मान्छे पनि छन् । सामुदायिक कुकुरले पाएको दुःख र पीडामा मलम लगाउने साथै पशुको अधिकारबारे बोल्ने पात्र हुन् पर्वतको कुश्मा नगरपालिका –६ सदरमुकाम कुश्माको राना ।
कुकुरलाई माया गर्ने रानाले सामुदायिक कुकुरलाई खाना खुवाउने मात्र नभइ चोटपटक लागेर घाइते भएका र बिरामी कुकुरको स्याहार गर्दैआएकी छिन् । सामुदायिक कुकुरको खाना र उपचारका लागि मासिक कम्तिमा पनि ३५ हजार रुपियाँ खर्च गर्नुहुन्छ ।
खर्च रकमबारे रानाले भन्नुभयो, “मनले चाहेपछि सबै कुरा पुग्ने रहेछ । छुच्याइ गर्नेलाई कहिल्यै पुग्दैन । व्यवसायको कमाइ, श्रीमान् भारतीय सेनाबाट निवृत्त हुनुहुन्छ । छोरा वैदेशिक रोजगारीमा अमेरिका छ । परिवार सबैको सहयोगबाट खर्च जुटाउँछु ।”
हरेक दिन साँझपख बजारको मेलमिलाप चोक, नारायण माविचोक, जिरो किमि चोक, शिवालय चोकलगायत विभिन्न चोक र गल्ली साथै कहिलेकाँही पोखरा–बाग्लुङ सडक खण्डमा पर्ने केही बजार क्षेत्रमा समेत पुगेर कुकुरलाई खाना खुलाउनुहुन्छ । कुकुरलाई दैनिक साँझ १० माना चामल र ठेक्का लिएको कुखुराको टाउको र खुट्टागरी ६ केजी मासु पाक्छ ।
सानैदेखि घरमा कुकुर पाल्ने रानालाई सामुदायिक कुकुरलाई अरूले कुट्ने, पिट्ने र दुःख दिएको देख्दा चित्त दुख्ने गर्दथ्यो । रानाको मनमा लाग्थ्योकि शरीर त सबैको एउटै हो । पिटेपछि जसरी मान्छेलाई दुख्छ, उसैगरी कुकुरलाई पनि त दुख्छ । फरक यति हो कि कुकुर चाहिँ मानिसले झैं बोल्न सक्दैन, तर रुन्छ र चिच्याउँछ । पेसाले ब्युटिसियन रानाको मनमा त्यतिबेला झन पीडाबोध भयो । जतिबेला सामुदायिक कुकुरले फोहोरमा रहेको खानासहितको प्लास्टिक चपाइरहेको दृष्यमा नजर गयो ।
ढाडको समस्यासँगै आफ्नो ब्युटिपार्लर पेसाबाट विश्राम लिएकी रानालाई यतिखेर सामुदायिक कुकुरको स्याहारसुसार र रेखदेखले उहाँको दुःख विर्साइदिएको छ । बजारक्षेत्र आसपास सामुदायिक कुकुरको सङ्ख्या दिनानुदिन वृद्धि हुँदा कुकुरले प्रर्याप्त खाना खान पाउँदैनन् ।
जिल्लामा हुने कुकुरको बन्ध्याकरण कार्यक्रममा रानाले स्वयंसेवीको रूपमा सहयोग गर्नुहुन्छ । बर्सेनि केही छाउरी कुकुरलाई आफ्नै खर्चमा पोखरा लगेर बन्ध्याकरण पनि गराइरहनुभएको छ । बन्ध्याकरणका लागि गर्दा एउटाको पाँच हजार रुपियाँ खर्च हुन्छ ।