• २६ फागुन २०८१, सोमबार

स्ववियु चुनाव हुने क्याम्पसमा तालाबन्दी

blog

बोमलाल गिरी

नवलपुर, फागुन २६ गते । नवलपुरमा आगामी चैत ५ गतेका लागि तोकिएको स्वतन्त्र विद्यार्थी युनियनको चुनाव नहुने सम्भावना बढेको छ । विभिन्न माग राख्दै विद्यार्थी सङ्गठनले क्याम्पसहरूमा तालाबन्दी गरेपछि निर्धारित मितिमा चुनाव नुहने सम्भावना बढेको हो । 

विद्यार्थी सङ्गठनहरूले १० वटा क्याम्पसमा स्ववियु चुनाव गराउनु पर्ने माग गरे पनि ९ वटा क्याम्पसले मात्र चुनावी तालिका सार्वजनिक गरेका छन् । ती क्याम्पसहरूमा चैत ५ गते चुनाव हुने कार्यतालिका छ । तर १० वटै क्याम्पसमा तालावन्दी भएको अनेरास्ववियुका जिल्ला अध्यक्ष सौगात भुसालले जानकारी दिनुभयो । 

कावासोतीमा रहेको मध्यविन्दु बहुमुखी क्याम्पसमा नेविसङ्घ, अखिल क्रान्तिकारी र नेकपा एक निकटको अनेरास्ववियुले एक हप्तादेखि निर्वाचन कार्यालयमा ताला लगाएकोमा नेविसङ्घले ताला खोलेको छ भने अनेरास्ववियुले ताला थपेको छ । यो सँगै सबै क्याम्पसमा अनेरास्ववियुले तालाबन्दी गरेको हो । 

क्याम्पस प्रशासनले सङ्गठन दर्ता पश्चात विद्यार्थी सङ्गठनहरूलाई आचारसहिता बनाउने विषयमा नबोलाएको, चुनावको पूर्वसन्ध्यामा निर्वाचन प्रकृयालाई प्रभावित गर्ने हेतुले विद्यार्थी भर्नामा व्यापक अनियमितता गरेको र निर्वाचन नगराउने र गराउन परे पनि आफू अनुकुल बनाउन प्रयासरत रहेको अनेरास्ववियुका अध्यक्ष भुसालले आरोप लगाउनुभयो । 

त्यस्तै अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष आयुष ढकालले आफूहरूका माग सम्बोधन गर्न क्याम्पस प्रशासनले बेवास्ता गरेको आरोप लगाउनुभयो । मध्यविन्दु बहुमुखी क्याम्पसका प्रमुख गणेशमान गिरीले विद्यार्थी सङ्गठनहरू विद्यार्थीको फोन नम्बर उपलब्ध गराउनु पर्ने लगायत अनावश्यक माग राखेको बताउनुभयो । 

क्याम्पस प्रशासन निर्वाचन गराउन प्रतिबद्ध रहेपनि विद्यार्थीको गोपनीयताका लागि फोन नम्बर भने कुनै हालतमा उपलब्ध गराउन नसकिने उहाँको भनाइ छ । 

यसअघि जिल्लाका ६ वटा क्याम्पसमा मात्र चुनाव भएको थियो । यो पटक थप चार वटा क्याम्पसमा संयुक्त रूपमा स्ववियु चुनाव गराउन जिल्लामा क्रियाशिल चार विद्यार्थी सङ्गठनले माग गरेका छन् । 

यो पटक जनक कलेज गैँडाकोट, जनज्योति कलेज प्रगती नगर, नवजागरण बहुमुख क्याम्पस, चोरमारा र जनमुखि आदर्श बहुमुखी क्याम्पस गैँडाकोटमा चुनाव हुनुपर्ने विद्यार्थी सङ्गठनको माग छ । चुनावको माग गरिएका सबै क्याम्पसमा दुईसयभन्दा बढी विद्यार्थी रहेको सङ्गठनहरूले जनाएका छन् ।

त्रिभुवन विश्वविद्यालयको तालिका अनुसार फागुन १९ गते सङ्घ सङ्गठन दर्ता गर्ने, २१ गते मतदाता सूची प्रकाशित गर्ने, फागुन २५ मा मतदाता सूची उपर दाबी विरोध गर्ने समय दिइएको थियो । 

सोही दिन नै मतदाता सूची उपर दाबी विरोधको छानबिन गरी अन्तिम नामावली प्रकाशित गर्ने र फागुन २६ मा उम्मेदवारका लागि मनोनयनपत्र वितरण गर्ने कार्यतालिका रहेको थियो । जुन प्रभावित भइसकेको छ ।