• २६ फागुन २०८१, सोमबार

भारतलाई च्याम्पियन्स ट्रफी

blog

दुबई, फागुन २६ गते । कप्तान रोहित शर्माको अर्धशतकीय पालिको सहयोगमा भारतले आइतबार न्युजिल्यान्डलाई चार विकेटले हराएर च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ । 

भारत तेस्रो पटक च्याम्पियन्स ट्रफीको च्याम्पियन भएको हो । यसअघि सन् २००२ र २०१३ मा पनि भारत विजेता बनेको थियो । सन् २००२ मा वर्षा बाधक बनेपछि भारत र श्रीलङ्कालाई संयुक्त रूपमा विजेता घोषित गरिएको थियो । सन् २००० मा च्याम्पियन्स ट्रफी जित्ने न्युजिल्यान्डको भने यो प्रतियोगिता पुनः जित्ने पर्खाइ अझ लम्बिएको छ । भारतले एक वर्षमा दोस्रो पटक आइसिसीको प्रतियोगता हात पारेको हो । सन् २०२४ मा भारत टी–२० विश्वकप च्याम्पियन पनि बनेको थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले डेरिल मिचेल र माइकल ब्रेसवेलको अर्धशतकीय पालिको सहयोगमा सात विकेटको क्षतिमा २५१ रन बनाएको थियो । भारतले ४९ ओभरमा छ विकेटको क्षतिमा २५४ रन बनाएर लक्ष्य हासिल गर्‍यो ।

प्रारम्भिक ब्याट्सम्यान तथा कप्तान रोहितले सात चौका र तीन छक्कासहित ८३ बलमा सर्वाधिक ७६ रनको पालि खेल्नुभयो । रोहित र शुभमन गिलले पहिलो विकेटका लागि १०५ रनको साझेदारी निर्वाह गरेपछि भारत सहज जितर्फ अग्रसर थियो । तर १७ रनको अन्तरालमा शुभमन (३२ रन), विराट कोहली (१ रन) र रोहित पवेलियन फर्केपछि न्युजिल्यान्ड खेलमा फर्कियो । त्यसपछि भारतका मध्यक्रमका ब्याट्सम्यानहरूले उचित तरिकाले पालि सम्हाले । श्रेयस एयर (४८ रन), केएल राहुल (अविजित ३४ रन), अक्सर पटेल (२९ रन) र हार्दिक पान्ड्या (१८ रन) ले उपयोगी पालि खेलेर भारतलाई च्याम्पियन बनाउनुभएको हो ।

यसअघि न्युजिल्यान्डका लागि मिचेलले सर्वाधिक ६३ रन बनाउनुभएको थियो । बायाँहाते ब्याट्सम्यान बे्रसवेलले पनि ४० बलमा तीन चौका र दुई छक्कासहित अविजित ५३ रनको पालि खेलेर न्युजिल्यान्डलाई लडाइँ गर्न सक्ने स्कोरसम्म लैजानुभयो । न्युजिल्यान्डको पालिमा भारतका चार स्पीनरको दबदबा रह्यो । विशेष रूपमा वरुण चक्रवर्ती र कुलदीप यादवले दुई–दुई विकेट लिएर न्युजिल्यान्डको पालि सहज बन्न दिनु भएन । अन्य दुई स्पीनर अक्सर पटेल र रवीन्द्र जडेजाले एक–एक विकेट प्राप्त गर्नुभयो । तेज बलर मोहम्मद सामीले सर्वाधिक रन बनाउने मिचेललाई आउट गर्नुभयो ।

न्युजिल्यान्डका प्रारम्भिक ब्याट्सम्यानद्वय विल योङ (१५ रन) र रचिन रवीन्द्र (३७ रन) ले पहिलो विकेटका लागि तेज गतिमा ५७ रनको साझेदारी निर्वाह गरी भारतलाई दबाबमा पार्नुभएको थियो । तर भारतका कप्तान रोहित शर्माले स्पीनरलाई आक्रमणमा लगाएपछि न्युजिल्यान्डको रन बनाउने गति सुस्त भयो । –एएफपी