• ७ वैशाख २०८२, आइतबार

नागरिकता ऐन संशोधन विधेयकप्रति महिला कानुन व्यावसायी रुष्ट

blog

सर्वोच्च बार एसाेसिएसन कानुन व्यावसायी महिला समितिले आयोजना गरेको ‘महिला अधिकारको दृष्टिकोणबाट नेपाल नागरिकता ऐन (संशोधन विधेयक),२०८१’ विषयक छलफल कार्यक्रममा सहभागीहरू । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौँ, फागुन २५ गते । नागरिकता ऐन संशोधन विधेयक महिला अधिकारको प्रतिकुल रहेको महिला कानुन व्यावसायीहरूले आपत्ति जनाएका छन् ।

आइतबार सर्वोच्च बार एसाेसिएसन कानुन व्यवसायी महिला समितिले आयोजना गरेको ‘महिला अधिकारको दृष्टिकोणबाट नेपाल नागरिकता ऐन (संशोधन विधेयक),२०८१’ विषयक छलफल कार्यक्रममा बोल्नुहुँदै उनीहरूले आपत्ति जनाएका हुन् ।

विधेयकमा संविधान अनुसार नै बाबु वा आमाको नामबाट सन्तानले नागरिकता पाउने व्यवस्था गरेको छ । तर आमाको नामबाट नागरिकता लिँदा बाबुको पहिचान खुलाउनुपर्ने वा बाबुको पहिचान हुन नसकेको वा खुलाउन नचाहेको अवस्थामा आमा वा सन्तानले ‘स्वघोषणा गर्नुपर्ने’ प्रावधान छ । उक्त व्यवस्थाले महिलालाई दोस्रो दर्जाको नागरिकको रूपमा स्थापित गर्न खोजेको उनीहरूको भनाइ छ ।

वरिष्ठ अधिवक्ता सुनिता रेग्मीले विधेयकमा रहेको ‘स्वघोषणाको अधिकारले’ महिलालाई दोस्रो दर्जाको नागरिक बनाएको बताउनुभयो । उहाँले विधेयकले महिलाको प्रजनन अधिकारको समेत अवमूल्यन गरेको जिकिर गर्नुभयो । उहाँले कुनै पनि छोरालाई ‘पहिचान नभएका’को छोरो भन्यो भने कस्तो स्थिति महसुस हुन्छ भन्दै प्रश्न समेत गर्नुभयो । उहाँले विधेयकले महिलाको अस्तित्वलाई अस्वीकार गरेको कारण संशोधन गर्न जरुरी रहेको बताउनुभयो ।

‘‘विधेयकमा रहेको स्वघोषणाको अधिकारले हामीलाई दोस्रो दर्जाको नागरिक बनाउँछ । बाबुको पहिचान नभएको सन्ताले आमाको नामबाट नागरिकताबाट नागरिकता बनाउने प्रावधानले हामीलाई दोस्रो दर्जाको नागरिकको रूपमा स्थापित गरिदियो । अर्को हाम्रो प्रजनन अधिकारको अवमूल्यन समेत गरेके छ ।,’’ उहाँले भन्नुभयो, ‘‘प्राकृतिक रूपमा जुन हाम्रो क्षमता छ त्यसलाई समेत अवमूल्यन गर्यो । सम्बोधन गर्नुपर्ने ठाउँमा महिलाका लागि लज्जास्पद स्थिति हो । कुनै पनि छोरोले पहिचान नभएकाको छोरो भन्यो भने कस्तो स्थिति हुन्छ ? र महिलाको स्वतन्त्र अस्तित्वलाई चाँही अस्विकार गरियो । पुरुषको छत्रछायामा बसेनौं भने तिमीहरूलाई गाह्रो हुन्छ भन्न खोजेको हो यो ।’’

अधिवक्ता शान्तिदेवी खनालले राज्यले बाबुको पहिचान नभएका छोराछोरीहरूले नागरिकता पाउनेक्रममा विभेद पीडावोध हुने व्यवस्था गरेको बताउनुभयो । उहाँले नेपाली पुरुष र विदेशी महिलाबिचको सम्बन्धमा जन्मिएको सन्तानले वंशजको आधारमा नागरिकता पाउने तर नेपाली महिला र विदेशी पुरुषबिचको सम्बन्धबाट जन्मिएको सन्तानल अङ्गिकृत नागरिकता पाउने व्यवस्था गरिएको भन्दै यो मान्य नहुने बताउनुभयो । उहाँले यसका विरुद्धमा महिला अधिकारकर्मीहरूले लड्न जरुरी रहेको बताउनुभयो ।

‘‘राज्यले छोरा र छोरीलाई नागरिकताका बनाउने क्रममा पीडावोध हुने, विभेदमा थिचिएको अनुभूति हुने गरी विभेद गर्ने काम गरेको छ । मूल कानुनमा के लेखियो त भन्दा एउटै घरमा जन्मिएको छोराले विदेशी महिलासँगको सम्बन्धबाट जन्मिएकाले वंशजको नागरिकता पाउँछ ।,’’  उहाँले भन्नुयो, ‘‘तर नेपाली महिलाले विदेशी पुरुषसँगको सम्बन्धबाट जन्मिएको बच्चाले अङ्गिकृत नागरिकता पाउँछ भनेर प्रष्टसँग भन्नुहुन्छ के । अब यसलाई समानतामा परिणत गर्ने दायित्व कसको हो त ? के अबका छोरीहरूको दायित्व हो कि होइन ? संविधान र कानुनमा भएका विभेदहरूलाई परिवर्तन गर्नका लागि नयाँ पुस्ता कत्तिको प्रतिबद्ध छ ?’’

बाबुको पहिचान नएको अवस्थामा आमाले सन्तानलाई नागरिकता दिलाउँदा कुनैपनि समस्या र झन्झट नहुने गरी ऐनको व्यवस्था गर्न जरुरी रहेको उनीहरूको भनाइ छ ।