• २० चैत २०८१, बुधबार

जङ्गु र रुपालाई बाँके एमटिबी रेस उपाधि

blog

बाँके एमटिबी रेसका विजेता ।

गजेन्द्र गुरुङ

खजुरा, फागुन २५ गते । जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ को मुख्य उपाधि जङ्गु थारू र रुपा थारूले जित्नुभएको छ ।

पाँच किलोमिटर दुरीको क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जङ्गुले ५२:५८ मिनेटमा निर्धारित दूरी पूरा गरी प्रथम हुँदा विशाल थारू (५७:५६) दोस्रो र विमलेश यादव (५७:५८) तेस्रो हुनुभयो । शीर्ष तीन खेलाडीलाई क्रमशः  नगद सात हजार, पाँच हजार र तीन हजार रुपियाँका साथै ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिएको थियो ।

त्यसैगरी इलाइट महिलातर्फ रुपा थारुले ४३:३६ मिनेटको समय निकालेर कोर्ष पूरा गर्दा कविता सार्कीले ४६:४२ मिनेटको समय निकाल्दै दोस्रो र सीता सार्की ४७:२८ मिनेटसहित तेस्रो हुनभयो । शीर्ष तीन जनाले क्रमश: नगद सात हजार, पाँच हजार र तीन हजार रुपियाँका साथै पदक, प्रमाणपत्र प्राप्त गर्नुभयो ।

नेपालगन्ज नजिकै डुडुवा गाउँपालिकामा अवस्थित ट्रेल कोर्षमा भएको रेसमा मास्टरतर्फ देव बोहरा (३४:३१) पहिलो, दीपक मल्ल (३८:४२) दोस्रो र विशाल श्रेष्ठ (४१:०६) तेस्रो हुनुभयो ।

मास्टर तर्फका शीर्ष तीन जनालाई नगद सात हजार, पाँच हजार र तीन हजार रुपियाँका साथै पदक प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै भेट्रानतर्फ अजय केसी (४१ः०३), जितेन्द्र थारू (४२:०८) र कविराम थारू (४४:५१) ले क्रमशः शीर्ष तीन स्थान हासिल गर्नुभएको थियो ।

युसिआई क्रसकन्ट्री ओलम्पिक फर्म्याटमा सञ्चालन गरिएको रेसमा जुनियर विधामा दिलोचन बोहराले ३५:४४ समय निकाल्दै पहिलो, वीरेन्द्र धोबीले ३५:५५ समय लिई दोस्रो र रञ्जित चौहानले ३७:०८ समय लिएर तेस्रो स्थान सुरक्षित गर्नुभएको थियो । भेट्रान र जुनियरतर्फ शीर्ष तीनले पाँच हजार, तीन हजार र दुई हजार नगदका साथै पदक प्रमाणपत्र प्राप्त गर्नुभयो ।

डुडुवा गाउँपालिकास्थित जङ्गलमा रहेको यो कोर्ष साइक्लिङका लागि निकै नै सुन्दर र आकर्षक मानिन्छ । साइकलमार्फत पर्यटक भित्र्याउन गाउँपालिकाले यस रेसलाई आर्थिक सहयोग गरेको रेस आयोजक नेपालगन्ज बाइसाइकल्सका प्रमुख गगन थापाले जानकारी दिनुभयो । टिम दी एजको सहकार्यमा भएको यो रेस हरेक वर्ष सञ्चालन गरिने थापाले बताउनुभयो ।