• २६ फागुन २०८१, सोमबार

एक सय ८९ कुकुरको बन्ध्याकरण

blog

छाडा कुकुरको बन्ध्याकरण गरिँदै ।

साजन परियार  

पर्वत, फागुन २५ गते । पर्वतमा एक सय ८९ वटा कुकुरको बन्ध्याकरण गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतले तीन दिन सञ्चालन गरेको शिविरमा ११५ सामुदायिक र ७४ वटा घरपालुवा कुकुरको बन्ध्याकरण गरिएको हो ।

सामुदायिक कुकुरहरूका कारण राजमार्ग तथा अन्य सडकमा दुर्घटना बढ्ने र विभिन्न रोगहरू फैलिन सक्ने भएकाले कुकुरको बन्ध्याकरण गरिएको जनाइएको छ । 

जथाभावी छाडा छोडिएका कुकुरको टोकाइले मानवीय क्षति नहोस् भनेर तालिमप्राप्त पशुविज्ञको टोली तथा कार्यालयका कर्मचारीको सहयोगमा कुकुरलाई समातेर बन्ध्याकरण अभियान थालेको कार्यालय प्रमुख ऋषभ गुरागाइँले जानकारी दिनुभयो ।

राजमार्ग क्षेत्रमा बढी छाडा कुकुरहरू हुने र निम्त्याउन सक्ने दुर्घटनालाई ध्यानमा राखेर मोदी गाउँपालिकाको बजारक्षेत्र डिमुवा, जलजला गाउँपालिकाको मिलनचोक हुँदै कुश्मा र फलेवास नगरपालिकाको बजार क्षेत्रबाट कुकुरलाई समातेर बन्ध्याकरण गरिएको उहाँले बताउनुभयो । 

शिविरका लागि तीन जना पशु चिकित्सकसहित ८ जना प्राविधिक जनशक्तिको व्यवस्थापन गरिएको थियो । कार्यालयले गत वर्ष सञ्चालन गरेको शिविरमा एक सय ९० वटा कुकुरको बन्ध्याकरण गरेको थियो । 

पछिल्लो समय बजारक्षेत्रका विभिन्न स्थानमा कुकुरको टोकाइबाट दुर्घटना बढेको गुनासो आइरहेको अवस्थामा भेटेरिनरी अस्पतालले सुरु गरेको अभियान निकै प्रभावकारी हुने अपेक्षा गरिएको छ । बन्ध्याकरण गरेको कुकुरको पहिचान होस् भनेर दाहिने कानमा चिन्ह राखेकाे गुरागाइँले बताउनुभयो । 

उपचारमा संलग्न डा. आशिष गौतमले सुविधासम्पन्न क्लिनिकमा बन्ध्याकरणसहित कुकुरको उपचार गरिएको बताउनुभयो । ‘एउटा कुकुरलाई शल्यक्रिया गरेर बन्ध्याकरण गर्न करिब ३५ मिनेट लागेको उहाँले बताउनुभयो । बन्ध्याकरणका लागि कार्यालयले १० लाख बजेट विनियोजन गरेको जनाएको छ ।