काठमाडौँ, फागुन २५ गते । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी नायब महानिरीक्षक, प्राविधिक सशस्त्र प्रहरी नायब उपरीक्षक र विशेष बढुवा हुनुभएका अधिकृतहरूलाई फागुन २५ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ ।
नेपाल सरकारको यही फागुन २० गतेको निर्णयले कृष्ण ढकाल, दिपेन्द्र कुँवर र विष्णुप्रसाद भट्ट सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकबाट सशस्त्र प्रहरी नायब महानिरीक्षक पदमा बढुवा हुनुभएको सशस्त्र प्रहरी नायब उपरीक्षक एवम् सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
यसैगरी नेपाल सरकार (गृह मन्त्रालय सचिवस्तर)को फागुन १ गतेको निर्यणले प्राविधिक समूह सञ्चार तथा इन्जिनियरिङ तर्फ प्राविधिक सशस्त्र प्रहरी निरीक्षकबाट प्राविधिक सशस्त्र प्रहरी नायब उपरीक्षक वेदप्रकाश यादव पदोन्नती हुनुभएको थियो भने अवकाश पूर्व सञ्जयकुमार गोइत सशस्त्र प्रहरी नायब उपरीक्षक र प्रकाश सिंह ठकुरी सशस्त्र प्रहरी निरीक्षक पदमा विशेष बढुवा हुनुभएको थियोे ।
महानिरीक्षक अर्यालले बढुवा हुनुभएका अधिकृतहरूलाई हार्दिक शुभकामना दिनुहुँदै बढुवासँगै थप भएको जिम्मेवारीहरूलाई कार्यक्षेत्रमा कुशलतापूर्वक निर्वाह गर्नुपर्ने बताउनुभयो ।
उहाँले सरुवा तथा बढुवा सङ्गठनको नीति नियमानुसार पारदर्शी भएको उल्लेख गर्नुहुँदै सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरूले सङ्गठनले के दिन्छ भन्दा पनि सङ्गठनलाई के दिनसक्छु भन्ने भावना लिएर कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला सङ्घका अध्यक्ष श्रीमती अनिता लामिछाने अर्याल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम, वंशीराज दाहाललगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ, सिनियर तथा जुनियर अधिकृतहरू र विल्लादार जवानहरूको समेत उपस्थिति रहेको थियो ।