• २२ फागुन २०८१, बिहिबार

लोकतन्त्रको विकल्प अराजकता हुन सक्दैन : महासचिव पोखरेल

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेकपा (एमाले)का महासचिव शंकर पोखरेल।

रामकृष्ण बोहरा

बागलुङ, फागुन २२ गते। नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले लोकतन्त्रको विकल्प अराजकता हुनै नसक्ने बताउनुभएको छ। धार्मिक भ्रमणको नाममा पूर्वराजा ज्ञानेन्द्र शाहले देश दौडाहा गरिरहेकोप्रति सङ्केत गर्दै पोखरेलले एउटा स्वार्थी जमात ठाउँ ठाउँमा नारा लगाउँदै देशमा फेरि अराजकता सिर्जना गर्न खोजिरहेको बताउनुभयो। 

राजतन्त्रकै कारण देश विकासमा धेरै वर्षपछि धकेलिएको चर्चा गर्दै पोखरेलले भन्नुभयो, ‘‘राजा आउ देश बचाउको नारा लगाएर देश बन्छ भन्ने इतिहास नपढेका मुर्ख मात्र हुन्।’’ राजतन्त्र फर्काउने नाममा केही अराजक तत्त्व फेरि सल्बलाउन थालेको र त्यो कहिल्यै सफल नहुने पोखरेलले दाबी गर्नुभयो। ठुला दल र लोकतन्त्रलाई कमजोर पार्न राजतन्त्र र माओवादीले देशमा अराजकता सिर्जना गर्ने काम गरिरहेको बताउँदै पोखरेलले भन्नुभयो, ‘लोकतन्त्रको विकल्प अराजकता र निरंकुशता हुनै सक्दैन, लोकतन्त्रको थप विकास र परिमार्जन गर्न आवश्यक रहेको छ।’  

माओवादीले दस वर्ष हिंसाको नेतृत्व गर्दा र दस वर्ष जनतालाई भड्काउने काम गर्दा दुई दशक खेर गएको र त्यसको जस पनि एमाले र कांग्रेसले बोक्नुपरेको पोखरेलको भनाइ थियो। माओवादीलाई नक्कली मान्छेको जमातको संज्ञा दिँदै बिहीबार नेकपा (एमाले) जिल्ला कमिटी बागलुङले आयोजना गरेको वडा केन्द्रित पार्टी निर्माण अभियानअन्तर्गत जिल्ला स्तरीय अभिमुखीकरण कार्यक्रममा बोल्दै पोखरेलले भन्नुभयो, ‘माओवादीलाई सत्ता बाहके सबै कुरा भ्रम हो।’ राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै महासचिव पोखरेलले ट्विटर र फेसबुकले जन्माएका नेताले देशको नेतृत्व गर्न नसक्ने दाबी गर्नुभयो।

नेपालका राजनीतिक दलले कामै गर्न नपाउँदा जनचाहना अनुसार देशले विकासको गति लिन नसकेको पोखरेलले जिकिर गर्नुभयो। देश बनाउन राजनीतिक स्थायित्व अपरिहार्य रहेको पोखरेलको भनाइ थियो। ‘नेपालको लोकतन्त्रमा हामीले हासिल गर्न नसकेको सबैभन्दा कमजोर पक्ष भनेको राजनीतिक स्थायित्वको अभाव हो। देशलाई अस्थिरताको दुश्चक्रबाट निकाल्न धेरै राजनीतिक दलको आवश्यकता छैन’, पोखरेलले भन्नुभयो। 

राजनीति अस्थिरता सबैभन्दा ठुलो चुनौतीको रूपमा रहेकाले स्थायित्वका लागि एमालेलाई निर्णायक शक्ति बनाउन जनताले सङ्कल्प गर्नुपर्ने बेला आएको पोखरेलले बताउनुभयो। सत्ता गुमाएले एमालेविरुद्व जनतामा भ्रम सिर्जना गरिरहेको बताउँदै पोखरेलले स्थायी सरकारका लागि कांग्रेस–एमाले गठबन्धनको सरकार बनेको प्रष्ट पार्नुभयो।

कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेश कमिटीका इन्चार्ज किरण गुरुङ, एमाले गण्डकी प्रदेशका अध्यक्ष नवराज शर्मा लगायतले बोल्नुभएको थियो। एमाले बागलुङले १० स्थानीय तहमा पालिका स्तरीय अभिमुखीकरण, फागुन मसान्तभित्र वडा स्तरीय र चैत मसान्तभित्र टोलसम्म अभिमुखीकरण कार्यक्रम गर्दैछ।

कार्यक्रममा प्रदेश, जिल्ला कमिटी, पालिका कमिटी, पालिकाका निर्वाचित पदाधिकारी, वडा कमिटी अध्यक्ष, जनसङ्गठनका केन्द्रीय पदाधिकारी तथा सदस्य, जनवर्गीय सङ्गठनका जिल्ला अध्यक्ष गरी करिब एक हजार नेता कार्यकर्ता सहभागी थिए।