• २८ फागुन २०८१, बुधबार

जाडोमा शरीरका रौँ किन ठाडा हुन्छन् ?

blog

रौँहरू ठडिनाले रौँ र छालाको सतहको बिचमा हावा रहन जान्छ । हावाले कुचालकको काम गर्ने हुँदा शरीरबाट ताप बाहिर जानबाट रोक्दछ ।

पुस र माघ निकै जाडो हुन्छ । त्यसैले हामीले न्यानो लुगा लगाउने र तातो खानेकुरा खाने गर्दछौँ । जाडोमा हाम्रो शरीर काँप्छ, आङ जिरिङ्ग हुन्छ, शरीरमा काँडा उम्रन्छन् र शरीरका रौँ ठाडा हुन्छन् । यस्तो किन हुन्छ होला है ? यसका बारेमा चर्चा गरौँ है त ।

हाम्रा हरेक व्यवहार र शारीरिक प्रक्रियामा वरपरको वातावरणले प्रभाव पारेको हुन्छ । आफू रहेको वातावरणसँग मिलेर बस्न नसक्ने जीवलाई त्यस वातावरणमा बाँच्न कठिन हुन्छ । जीवहरू वातावरण अनुरूप आफ्नो शरीरमा परिवर्तन ल्याएर वातावरणमा मिलेर बाँच्दछन् । जाडोको समयमा बाहिरी वातावरणको तापक्रम घट्न जान्छ । मानिस तातो रगतयुक्त जीव भएकोले आफ्नो शरीरको तापक्रम स्थिर रहनु पर्दछ । नत्र मानिसको मृत्यु हुन सक्दछ । जब बाहिरी वातावरणको तापक्रम मानिसको शरीरको तापक्रमभन्दा कम हुन्छ, तब हाम्रो शरीरबाट ताप वातावरणतर्फ जान थाल्दछ । यसलाई नरोक्ने हो भने हाम्रो शरीरको तापक्रम घट्न गई मृत्यु हुने सम्भावना रहन्छ । यसबखत हाम्रो शरीरबाट वातावरणतर्फ जाने तापशक्तिलाई रोक्न शरीरमा रौँसँग जोडिएका छालाका मांसपेशी खुम्चन्छन् । फलस्वरूप रौँको जरामा रहेका ससाना छिद्र बन्द हुन पुग्छन् । यसले गर्दा शरीरबाट ताप बाहिरिन पाउँदैन । छालाको मांसपेशी खुम्चँदा रौँहरू पनि ठडिन्छन् र शरीरमा काँडा उम्रेको देखिन्छ ।      

रौँ हरू ठडिनाले रौँ र छालाको सतहको बिचमा हावा रहन जान्छ । हावाले कुचालकको काम गर्ने हुँदा शरीरबाट ताप बाहिर जानबाट रोक्दछ । यसै गरी हाम्रो शरीरमा आउने कम्पनले पनि शरीरलाई तातो बनाउँदछ । यी सबै उपाय जाडोबाट शरीरलाई बचाउनका लागि आफैँ हाम्रो शरीरले अपनाउँदछ । बढी नै जाडो भएमा हाम्रो शरीरले अपनाउने उपायले मात्र थेग्न सक्दैन र त्यतिखेर हामीले न्यानो कपडा लगाउने वा आगो र हिटर ताप्ने गर्नु पर्दछ । लेकमा बस्ने जनावरको शरीरमा जिरिङ्ग रौँ ठडिएको देखिनुका कारण उनीहरूलाई जाडोबाट बचाउन नै हो भन्ने तथ्य पनि यसबाट पुष्टि हुन्छ ।  

   मुना

Author

रामप्रसाद सुवेदी