बाँके राष्ट्रिय निकुञ्ज नेपालको सबैभन्दा कान्छो निकुञ्ज हो । नेपालले बाघ संरक्षणका लागि अन्तर्राष्ट्रिय समुदायसँग गरेको प्रतिबद्धता अनुरूप बाघको वासस्थान बढाउन २०६७ असार २८ गते यसको स्थापना गरिएको हो । यसको घोषणा भने विश्वको सर्वोच्च शिखर सगरमाथाको फेदी कालापत्थरमा २०६७ साल वैशाख ३० गते बसेको मन्त्रीपरिषद्को बैठकबाट भएको थियो ।
बाँके, दाङ र सल्यानको ५५० वर्गकिलोमिटर क्षेत्र समेटेर स्थापना गरिएको यो निकुञ्ज नेपालको १० औँ राष्ट्रिय निकुञ्ज हो । यस निकुञ्जको पूर्वी सिमानामा शिवखोला, पश्चिममा कोहलपुर–सुर्खेत राजमार्ग, उत्तरमा चुरे पर्वत र दक्षिणमा पूर्वपश्चिम राजमार्ग रहेको छ ।
बाँके, दाङ र सल्यान जिल्लाको ३४३ वर्ग किलोमिटर क्षेत्र निकुञ्जको मध्यवर्ती क्षेत्र हो । निकुञ्जको ५३ प्रतिशत भूभाग चुरे क्षेत्रले ओगटेको छ । यस निकुञ्जमा आठ प्रकारका पारिस्थितिकीय प्रणाली, छ प्रकारका वनको किसिम र २६३ प्रजातिका वनस्पति रहेका छन् । ३२ प्रजातिका स्तनधारी, तीन सयभन्दा बढी प्रकारका चराका प्रजाति, ५८ प्रजातिका माछा, २२ प्रकारका सरीसृप तथा छ प्रकारका उभयचर पाइन्छन् । यो निकुञ्जमा पाटेबाघ, हात्ती, एकसिङे गैँडाको महत्वपूर्ण वासस्थानको रूपमा परिचित छ ।
सन् २०२२ को गणना अनुसार यस निकुञ्जमा २५ वटा पाटेबाघ छन् । निकुञ्ज क्षेत्रमा ११ प्रजातिका दुर्लभ तथा सङ्कटापन्न स्तनधारी र ५० प्रजातिका अन्तर्राष्ट्रिय स्तरमै दुर्लभ चरा रेकर्ड गरिएका छन् । निकुञ्जको मध्यवर्ती क्षेत्रमा झन्डै ४३ हजार मानिसको बसोबास रहेको छ । पाटेबाघ हेर्नका लागि पर्यटकको पहिलो रोजाइमा पर्ने यो निकुञ्ज नेपालगन्ज एयरपोर्टदेखि १५ किलोमिटरको दुरीमा छ । पूर्वपश्चिम राजमार्गको दायाँबायाँ निकुञ्ज क्षेत्र पर्ने हुनाले सडकमार्गबाट सजिलै निकुञ्ज घुम्न जान सकिन्छ । नेपाल–भारत सिमानानजिकै भएकाले भारतीय पर्यटकका लागि निकुञ्ज सबैभन्दा राम्रो गन्तव्य बन्न पुगेको छ ।
निकुञ्ज कार्यालयका अनुसार निकुञ्जको जलसेनी र परुवाखोलाबिचको जङ्गलपथमा पाटेबाघ देख्न सकिन्छ । बाघ देखिइरहने क्षेत्र पर्याप्त भएकोले अन्य क्षेत्रभन्दा यस निकुञ्जमा बाघ देख्नका लागि धेरै मेहनत गरिरहन पर्दैन । गाभर उपत्यका बाघ देखिइरहने क्षेत्र हो । गाभरबाट छिरेका पर्यटक बाघ हेरेर ओभरीबाट निस्किने गर्छन् ।
पर्यटकको सुविधालाई ध्यानमा राख्दै बाँके निकुञ्जको मध्यवर्ती क्षेत्रमा गाभर होमस्टे, खड्कवार होमस्टे र नयाँगाउँ होमस्टे सञ्चालित छन् । निकुञ्जमा हात्ती सफारी गरेर बाघलगायतका जीवजन्तु हेर्ने सुविधासँगै जङ्गल वाक, जिप सफारी, हात्ती सफारी, चरा अवलोकन, क्याम्पिङ र चुरे क्षेत्रमा हाइकिङका लागि पर्यटक आउने गरेका छन् ।
निकुञ्जका अनुसार यस निकुञ्जमा घुम्न आउने पर्यटकको सङ्ख्या बर्सेनि बढेको छ । गत वर्षमा ४४४ जना पर्यटक भित्रिएका थिए । यो निकुञ्ज बाँके, कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रवेश विन्दुका रूपमा रहेकाले पर्यटकलाई पूर्वपश्चिम राजमार्ग भएर ओहोरदोहोर गर्न र निकुञ्ज घुमफिर गरेर फर्किन सहज वातावरण मिलाइएको छ ।