झापा, फागुन २१ गते । तत्कालीन ‘झापा विद्रोह’का पाँच सहिदको स्मृति दिवसमा आज यहाँस्थित सुखानीमा भावपूर्ण श्रद्धाञ्जलि सभा आयोजना गरिएको छ ।
‘झापा विद्रोह’का क्रममा पक्राउ परेर चन्द्रगढी कारागारमा रहेका रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई इलाम जेल सार्ने निहुँमा वि.सं. २०२९ फागुन २१ गते झापा र इलामको सिमानास्थित सुखानीको जङ्गलमा तत्कालीन पञ्चायती शासकहरुले गोली हानी हत्या गरेका थिए ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेता तथा कार्यकर्ताहरुले आज बिहान फरक फरक समयमा सुखानी सहादतस्थलमा सहिदहरुको शालिकमा माल्यार्पण गरेका हुन् ।
सुखानीका सहिदहरुको सम्झनामा नेपालका विभिन्न कम्युनिस्ट पार्टीहरुले ‘फागुन २१’लाई सहिद स्मृति दिवसको रुपमा मनाउँदै आएका छन् ।
झापाको ज्यामिरगढी, सालबारी र गरामनीमा सुखानीका सहिदहरुको शालिक निर्माण गरिएका छन् । ती शालिकहरुमा पनि नेकपा एमालेलगायतका कम्युनिस्ट पार्टीहरुले श्रद्धाञ्जलि कार्यक्रमको आयोजना गरेका छन् ।
मेचीनगर–१५ ज्यामिरगढीस्थित सहिद वीरेन राजवंशी स्मृति प्रतिष्ठानमा एमालेका केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य रबिन कोइरालाको नेतृत्वमा एमालेले स्मृति सभा सम्पन्न गरेको छ ।
प्रतिष्ठान परिसरमा सहिद वीरेन राजवंशीको शालिक स्थापना गरिएको छ । कार्यक्रममा सहिद वीरेन राजवंशीका जेठा छोरा नेत्र राजवंशी, जेठी बुहारी विमला राजवंशी, सहिद परिवारका सदस्य कुमार मेचे र झापा विद्रोहमा १७ वर्ष कठोर काराबास भोग्नुभएका कम्युनिस्ट योद्धा सानो दुर्गा अधिकारीलाई सम्मान गरिएको थियो ।
सरकारले सुखानीमा जीवनको आहुति दिएका झापा विद्रोहका पाँच योद्धालाई वि.सं. २०७२ फागुन १९ गते राष्ट्रिय सहिदको रुपमा घोषणा गरेको थियो । रासस