प्युठान समाचारदाता
प्युठान, फागुन २१ गते । प्युठान जिल्लाका सामुदायिक विद्यालयमा अध्ययन गर्ने किशोरीको रक्तअल्पता परीक्षण गर्ने काम थालिएको छ । लुम्बिनी प्रदेश सरकारको रक्तअल्पता परीक्षण कार्यक्रम अन्तर्गत स्वास्थ्य कार्यालय प्युठानले विद्यालयमा पुगेर किशोरीको रक्तअल्पता परीक्षण गर्दै आएको छ ।
जिल्लामा यस आर्थिक वर्षमा नौ वटा पालिकाका १८ वटा सामुदायिक विद्यालयमा रक्तअल्पता परीक्षण गर्ने कार्यक्रम रहेको छ । आव २०८१/८२ को कार्यक्रम अन्तर्गत विद्यालयमा पुगेर रक्तअल्पता परीक्षण गर्ने गरिएको स्वास्थ्य कार्यालय प्युठानका ल्याब टेक्निसियन डोरबहादुर खड्काले बताउनुभयो ।
लुम्बिनी प्रदेश सरकारले गत आव २०८०/८१ देखि विद्यालयमा अध्ययनरत किशोरीको रक्तअल्पता परीक्षण कार्यक्रम सञ्चालन गरेको हो । अघिल्लो वर्ष प्रत्येक पालिकामा एउटा विद्यालय छनोट गरी परीक्षण गरिएको थियो । रक्तअल्पताको अवस्था पत्ता लगाई परामर्श गर्ने उद्देश्यले माध्यमिक तहको विद्यालयमा रहेका कक्षा ६ देखि १२ सम्म अध्ययन गर्ने १० देखि १९
वर्षसम्मका किशोरीको रक्तअल्पता परीक्षण गर्ने गरिएको छ ।
रक्तअल्पता परीक्षणसँगै किशोरीले नियमित रूपमा आइरन चक्की खाए नखाएको समेत जाँच गर्ने गरिन्छ । त्यसै गरी किशोरीको शरीरको उचाइ अनुसारको तौल लिने (बिएमआई), रक्तसमूह परीक्षण गर्ने गरिएको छ । लुम्बिनी प्रदेशका किशोरीमा रक्तअल्पता हुनबाट बचाउन यो कार्यक्रम सञ्चालन गरिएको हो ।
यस वर्ष नौबहिनी गाउँपालिकाको दुई वटा माध्यमिक तहका विद्यालयमा किशोरीको रक्तअल्पता परीक्षण गरिएको छ । त्यसमध्ये दुर्गम वडा मानिने वडा नं. १ को स्याउलीवाङको एक विद्यालयमा अध्ययन गर्ने किशोरी कसैमा पनि रक्तअल्पता देखिएन तर सोही पालिकाको केन्द्र रहेको नौबहिनी गाउँपालिका–६ स्थित बाहाने बजारको विद्यालयमा भने किशोरीमा रक्तअल्पता देखिएको स्वास्थ्य कार्यालय प्युठानका ल्याब टेक्निसियन खड्काले बताउनुभयो ।
नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण–२०२२ को प्रतिवेदन अनुसार लुम्बिनी प्रदेशमा ४४.४ प्रतिशत महिलामा रक्तअल्पता देखिएको छ । १५ देखि ४९ वर्ष उमेर समूहका महिलामध्ये सहरी क्षेत्रमा ४६ प्रतिशत र ग्रामीण क्षेत्रमा ४२.४ प्रतिशत रक्तअल्पता देखिएको छ । सर्वेक्षणका अनुसार कोशी प्रदेशमा २७ प्रतिशत, मधेश प्रदेशमा ५२.४ प्रतिशत, बागमतीमा २३.१ प्रतिशत, गण्डकीमा २५.१ प्रतिशत, कर्णालीमा २१.२ प्रतिशत र सुदूरपश्चिममा २७.३ प्रतिशत महिलामा रक्तअल्पता देखिएको छ ।
आव २०८०/८१ मा लुम्बिनी प्रदेशका १२ वटा जिल्लामा गरी कुल २७२ वटा विद्यालयमा रक्तअल्पता परीक्षण कार्यक्रम गरिएको थियो । ४२ हजार २७५ किशोरीमा गरिएको परीक्षणमा १२ हजार १७९ जना किशोरीमा रक्तअल्पता देखिएको स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी मानबहादुर ओलीले जानकारी दिनुभयो ।
परीक्षण गरिएकामध्ये सबैभन्दा बढी कपिलवस्तुमा ६७ प्रतिशत र सबैभन्दा कम अर्घाखाँचीमा छ प्रतिशत किशोरीमा रक्तअल्पता देखिएको थियो ।