• २२ फागुन २०८१, बिहिबार

दृष्टिविहीन आमा छोरासँगै विद्यालय

blog

तुलसीपुर समाचारदाता 

तुलसीपुर, फागुन २१ गते । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ बस्ने बुद्धिमती विश्वकर्मा दृष्टिविहीन हुनुहुन्छ । २०८० सालमा घरनजिकै तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ मनिकापुरमा रहेको शुभकोटी आधारभूत विद्यालयमा कक्षा दुईमा भर्ना भएकी बुद्धिमती अहिले कक्षा ३ मा सोही विद्यालयमा अध्ययनरत हुनुहुन्छ । 

छ वर्षीय छोरा दुर्गा पनि उहाँसँगै नियमित रूपमा विद्यालयमा पढ्ने गरेका छन् । २८ वर्षीय बुद्धिमतीलाई खाने मुखलाई जुँगाले छेक्दैन भने जस्तै पढ्नका लागि उमेरले कुनै बाधा व्यवधान गरेको छैन । श्रीमान् रोजगारीका लागि कहिले भारत त कहिले नेपालका विभिन्न जिल्लामा पुग्ने गर्नुहुन्छ । उहाँका छोरा दुर्गा विश्वकर्मा २०७९ सालमा सोही विद्यालयमा शिशु कक्षामा भर्ना हुनुभएको थियो । 

प्रधानाध्यापक झुमाकुमारी वली बुद्धिमती नियमित रूपमा विद्यालय आउने र गृहकार्यसमेत नियमित रूपमा गर्ने बताउनुहुन्छ । प्रधानाध्यापक वलीका अनुसार बुद्धिमतीलाई अपाङ्गता विद्यार्थी छात्रवृत्तिका रूपमा वार्षिक पाँच हजार उपलब्ध हुँदै आएको छ । जसरी भए पनि एसइई परीक्षा उत्तीर्ण गर्ने सोचमा हुनुहुन्छ । उहाँले भन्नुभयो, “मभन्दा १ कक्षा कममा छोराले पढ्छ, यही छोराकै साथ लागेर विद्यालय आउँछु, यही छोरासँगै एसइई परीक्षा पास गर्ने सोच बनाएकी छु ।” 

बुद्धिमतीको नजिकै रहेको शुभकोटी सामुदायिक वनभित्रै घर रहेको छ । बुद्धिमतीले भन्नुभयो, “घामपानी छेक्ने सानो झुप्रो, त्यो पनि वनमा छ, हामीसँग धनसम्पत्ति केही छैन । श्रीमान्ले काम गरेरै हामीलाई पालनपोषणा, शिक्षादीक्षा दिनुभएको  छ ।” तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष माधव वलीले बुद्धिमतीको आँट, हिम्मतलाई थप प्रोत्साहन गर्नका लागि आमाछोरा दुवैलाई शैक्षिक सामग्री र बेला बेला खाद्यान्न सामग्री वडाबाट वितरण गर्दै आएको बताउनुभयो ।