काठमाडौँ, फागुन २० गते। त्रिभुवन विश्वविद्यालयल (त्रिवि) शिक्षण अस्पतालमा पानीको अभावले कुनै पनि सेवा प्रभावित नभएको बताएको छ। अस्पतालका सहायक सूचना अधिकृत कालीप्रसाद रोसयाराले पानीको अभावले कुनै पनि सेवा प्रभावित नभएका जानकारी दिनुभएको हो।
उहाँ भन्नुहुन्छ, “अस्पतालमा सञ्चालित दुई वटै इनार बिग्रिएरपछि सोमबार बेलुकादेखि पानी आपूर्तिमा समस्या आएको थियो। तर, बाहिर हल्ला फैलिएजस्तै अस्पतालका सेवा ठप्प भएको छैन। हामीले पानीको वैकल्पिक व्यवस्था गरेर पानी आपूर्ति गरिसकेका छौँ।”
अस्पतालले दुई वटा इनारबाट पानीको आपूर्ति गर्दै आएकोमा हिजोबाट दुईवटै इनार बिग्रिएकाले पानीको समस्या आएको थियो।
अहिले ट्याङकबाट ल्याएर पानीको प्रबन्ध गरेको उहाँले प्रष्ट पार्नुभयो। उहाँका अनुसार केयुकेएलले आपूर्ति गर्न नसकेपछि अस्पतालले आफ्नै दुई वटा इनारबाट पानीको व्यवस्था गर्दै आएको थियो।
पाँच दिनदेखि एउटा इनार बिग्रिएर मर्मतको क्रममा छ भने अर्को इनारको सोमबार बेलुका पानी तान्ने मोटर खसेपछि थप समस्या थपिएको हो।