• २० फागुन २०८१, मङ्गलबार

पर्वतमा ८७ करोड मूल्य बढीको आलु उत्पादन हुने आङ्कलन

blog

फाइल तस्बिर

प्रनिश गिरी

कुश्मा, पर्वत फागुन २० गते । पर्वतमा गत वर्षभन्दा यस वर्ष मौसम अनुकूल र पकेट क्षेत्र वृद्धिका कारण आलु उत्पादनको परिमाण वृद्धि हुने देखिएको छ । 

आलु उत्पादनमा आत्मनिर्भर रही अन्यत्र निर्यात गर्दै आएका पर्वतका कृषकहरुले यस वर्ष ८७ करोड मूल्यभन्दा बढीको आलुको उत्पादन गर्ने कृषि ज्ञान केन्द्र पर्वतको आँकलन छ ।

जिल्लाको एक हजार ४ सय ५० हेक्टर क्षेत्रफल जग्गामा कृषकहरुले आलुखेती गरेका छन् । प्रति हेक्टर १५ मेट्रिक टनका दरले करिब २२ हजार मेट्रिक टन आलु उत्पादन गर्ने लक्ष्य छ । सरदर प्रति केजी ४० रुपियाँका दरले कृषकले आलु विक्री गर्दछन् । 

गत आर्थिक वर्ष २०८०⁄०८१ मा १ हजार ३ सय ९० हेक्टर क्षेत्रफलमा आलुखेती गरेकोमा २० हजार ३ सय ३० मेट्रिक टन आलु उत्पादन भएको कृषि ज्ञान केन्द्र पर्वतका सूचना अधिकारी सोविता सुवेदीले बताउनुभयो । 

कृषि ज्ञान केन्द्र पर्वतको खायन आलु उत्पादन प्रवर्द्धन कार्यक्रममार्फत जिल्लाभरका आलु पकेट क्षेत्रका कृषकहरु उत्पादनमा लाग्न प्रोत्साहित भएका छन् । ज्ञान केन्द्रले विभिन्न पकेट क्षेत्रमा गरी ६१ वटा कृषक समूहलाई आलु उत्पादनमा १ करोड ४७ लाख लगानी गरेको छ । 

ज्ञान केन्द्रको लगानीमध्ये आलुको बिउ खरिदमा ७० प्रतिशत, यान्त्रीकरणमा ५० प्रतिशत, सिंचाइ पूर्वाधारमा ८५ प्रतिशत र बजारीकरण तथा प्याकेजिङमा ७५ प्रतिशत अनुदान दिइएको छ । कृषकले मङ्सिरको पहिलो हप्तातिर लगाएको हिउँदे आलु फागुनको दोस्रो हप्तातिर खन्न सुरु गर्दछन् । 

जिल्लाको उत्तरी भेगमा पर्ने जलजला गाउँपालिकाका १६ वटा कृषक समूहले आलु उत्पादनमा अनुदान लिएका छन् । पालिकाको बनौं, लस्ती, फर्से लगायतका क्षेत्रबाट मात्रै ७ सय ५ रोपनी क्षेत्रफलमा आलु खेतीका लागि कृषकहरुले सम्झौता गरेका छन् । अनुदान पाउन कम्तीमा पनि कृषक समूहले ३० रोपनीभन्दा बढी क्षेत्रफलमा सामूहिक आलुखेती गरेको हुनुपर्छ । 

बनौंका जिमिरे दह तरकारी उत्पादन समूहका अध्यक्ष एक बहादुर केसी आलु उत्पादनबाट खुशी भएको बताउँदै भन्नुभयो, "पोहोरको भन्दा यसपालि आलु राम्रो उत्पादन भएको हुँदा मूल्य पनि राम्रै मिलेको छ । आलुको ५० केजी बिउ लगाएकोमा ७ क्विण्टल उत्पादन भएको छ । प्रति केजी ४० रुपियाँ भन्दा बढीमा आलु विक्री गर्दा आम्दानी पनि राम्रो भएको छ ।"

लामो समय दक्षिण कोरियामा वैदेशिक रोजगार गरी फर्किएर आफ्नै गाउँमा सामूहिक आलुखेती उत्पादनमा लाग्नुभएका विहादी गाउँपालिकाका ३८ वर्षे कृषक शिवकुमार क्षेत्रीले भन्नुभयो, "गाउँमा पहिलो पटक नै सामूहिक आलुखेती गरिएको हो । ४० रोपनीमा ३२ क्विण्टल आलुको बिउ लगाएको हो । ५० केजी बिउ बराबर ९ क्विण्टल आलु उत्पादन भएको छ । आलुको उत्पादन राम्रो छ ।"

जिल्लाको मोदीगाउँ पालिका आलु उत्पादनका लागि उति नै उर्वर भूमि मानिन्छ । मोदी गाउँपालिकाको वडा ४, ५, ६, ७, ९ मा पर्ने लेसपार, क्याङ, छापा, बाजुङ लगायतमा करीव ४ सय ५० रोपनी क्षेत्रफलमा ८ वटा कृषक समूहले खायन आलुको खेती गरेका छन् । कुश्मा नगरपालिकास्थित आलु पकेट क्षेत्र मानिने पाङ, खुर्कोट, आर्थर लगायतका स्थानमा २२५ रोपनीभन्दा बढी क्षेत्रफलमा आलु उत्पादनमा सामूहिक रुपले कृषकहरु जुटेका छन् । 

फलेवास नगरपालिकाको मुडिकुवा, शंकरपोखरी, कुर्घा, लिमिठाना, चिर्दीखोला लगायत स्थानका कृषकहरुले २ सय २० रोपनी क्षेत्रफलमा सामूहिक रुपमा आलुखेती गरेका छन् । त्यसैगरी दक्षिणी भेगमा पर्ने पैयुँ गाउँपालिकाको हुवास क्षेत्र, महाशिला गाउँपालिकामा ६ वटा कृषक समूह आलु उत्पादनमा लागेका छन् । महाशीलाको होस्र्याङदी, भोक्सीङ, धुँवाकोट लगायतका स्थानहरु आलु पकेट मानिन्छन् ।  

कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख परशुराम अधिकारीले गत वर्षभन्दा यस वर्ष आलुको उत्पादन बढी हुने बताउँदै भन्नुभयो, "आलुखेतीमा प्रशस्तै सम्भावना भएको पर्वत जिल्लामा यस वर्ष अनुकूल मौसमसँगै आलुमा लाग्ने रोगव्याधि र किराको प्रकोप कम भएको हुँदा उत्पादन वृद्धि हुने देखिन्छ । पर्वतले आलुमा आत्मनिर्भर भई अन्यत्र निर्यात गर्दछ । भारतबाट निर्यात हुने आलुलाई विस्थापित गर्दै आएको छ ।"