• २० फागुन २०८१, मङ्गलबार

तराई मधेश जागरण अभियानले राष्ट्रिय एकता बलियो बन्याे : प्रचण्ड

blog

नेपालगन्ज विमानस्थलमा प्रचण्ड लगायतका नेताहरू । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, फागुन २० गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतासँग माओवादी, तराई मधेश जागरण अभियानले राष्ट्रिय एकतालाई बलियो बनाउने काम गरेको बताउनुभएको छ । 

सुदुरपश्चिमको टीकापुर जानेक्रममा मङ्गलबार बिहान नेपालगन्ज विमानस्थल पुग्नुभएका पूर्व प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्डले पत्रकारहरूसँग कुरा गर्दै सो बताउनु भएको हो । उहाँले यो अभियानले गर्दा मधेशी समुदायसँग माओवादीको सम्बन्ध सुदृढ, विस्तार र सुमधुर हुनुका साथै मधेशका जनताका समस्याहरू समेत नजिकबाट बुझ्ने अवसर मिलेको जनाउनुभयो । 

राजनीतिक दलको तर्फबाट माओवादीले नै पहिलोपटक हुलाकी राजमार्ग निर्माणको पहल गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री भएकोबेला भारत भ्रमणमा जाँदा यो राजमार्ग निर्माण गर्न भारतलाई तयार पारेको बताउनुभयो । उहाँले सो अभियानबाट माओवादी केन्द्रतर्फ एक नयाँ प्रकारको जनताको आकर्षण र समर्थन देखिएको प्रष्ट पार्दै यसले पार्टीलाई फेरी सबैभन्दा ठुलो बनाउने सङ्केत पनि देखिएको बताउनुभयो । 

सरकारले ल्याएका अध्यायदेशहरूको भविष्य बारे सोधिएको एक प्रश्नको जवाफमा पूर्व प्रधानमन्त्री प्रचण्डले भन्नुभयो–‘पहिलो कुरा त संसद् सुरु हुन लागेकै बेला अध्यायदेश ल्याउनु निकै अलोकतान्त्रिक र गलत हो, अर्को कुरा जसरी राष्ट्रिय सभामा यो विषय गएको छ, त्यो हिसाबले अध्यायदेश पास हुने स्थिति छैन, केही अध्यायदेश त कुनै पनि हालतमा पास हुँदैनन् ।’ उहाँले अध्यायदेश पारित गर्नका लागि ठुलाठुला आर्थिक चलखेलहरू समेत भइरहेको सुनिएको जनाउँदै यसले सरकारको छवि झन् बिग्रिने बताउनुभयो। 

एक अन्य प्रश्नको जवाफमा अध्यक्ष प्रचण्डले माआवादी केन्द्र अहिले सरकार बनाउने र गिराउने दुबै खेलमा नरहेको प्रष्ट पार्दै आफुहरू अहिले नितान्त जनताका समस्या दुख र पीडा सुन्ने अभियानमा रहेको बताउनुभयो । उहाँले यो सरकार जति लामो गए जाओस भन्दै अलोकतान्त्रिक र गलत काम गर्ने सरकारलाई जनताले समय आएपछि आफैँ सबक सिकाउने बताउनुभयो । 

नेकपा माओवादी केन्द्रले मधेशी लगायत देशका उत्पीडित समुदायको अधिकार र पहिचान स्थापित गर्न सबभन्दा बढी त्याग र बलिदान गरेको दाबी गर्दै अध्यक्ष प्रचण्डले अझै पनि उनिहरूको अधिकारका लागि जुनसुकै मूल्य चुकाउन तयार रहेको प्रष्ट पार्नुभयो । जनतासँग माओवादी, तराई मधेश जागरण अभियानकोे सफलताले विरोधीहरू आत्तिन थालेको पनि उहाँले बताउनुभयो । सो अवसरमा माओवादी केन्द्रका महासचिव देव गुरुङ, उपमहासचिवहरु वर्षमान पुन र गिरिराजमणि पोखरेल तथा संविधानसभाका उपसभामुख पूर्णाकुमारी सुवेदी लगायतको पनि उपस्थिति रहेको थियो ।