गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन २० गते । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले काठमाडौँमा उच्चस्तरको दुग्ध प्रशोधन केन्द्र स्थापनाका लागि जापान सरकारसँग आग्रह गर्नुभएको छ ।
नेपालका लागि जापानका राजदूत मायडा तोरुसँग सोमबार मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा मन्त्री अधिकारीले नेपालले दुग्ध क्षेत्रको विकासमा धेरै प्रगति गरे पनि प्रशोधन केन्द्रको आवश्यकता रहेको भन्दै सहयोगका लागि जापानी राजदूतसमक्ष आग्रह गर्नुभएको हो । मन्त्री अधिकारीले जापानले नेपालको कृषि क्षेत्रको विकासमा महत्वपूर्ण सहयोग गर्दै आएको भन्दै आगामी दिनमा कृषिको आधुनिकीकरणका लागि पनि थप सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।
जापानले प्रविधिको प्रयोगमार्फत गरेको उत्पादन वृद्धि र यसले समग्र कृषिको क्षेत्रमा पुगेको उपलब्धि महत्वपूर्ण रहेको स्मरण गर्दै मन्त्री अधिकारीले कृषि क्षेत्रमा जापानले गर्दै आएको प्रविधिबाट नेपालले सिक्न जरुरी रहेको विचार व्यक्त गर्नुभयो ।
अहिले पनि जापानी स्वयंसेवक मन्त्रालयमातहतका विभिन्न कार्यालयमार्फत सहयोग गरिरहेको र त्यसमार्फत जापानमा प्रचलित कृषिको अभ्यास नेपालीले सिक्ने मौका प्राप्त भएको मन्त्री अधिकारीले बताउनुभयो ।
नेपालले कृषिमा लगानी दशक घोषणा गरी लगानी भित्र्याउने नीति लिएको जानकारी गराउँदै मन्त्री अधिकारीले जापानी लगानीकर्तालाई पनि नेपालमा लगानीका लागि सहजीकरण गरिदिन राजदूतसमक्ष आग्रह गर्नुभयो । आगामी वर्ष नेपाल जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्ष पुग्ने उल्लेख गर्दै मन्त्री अधिकारीले यस अवसरमा समेत जापानको निःस्वार्थ सहयोगमा अझ वृद्धि हुने अपेक्षा गर्नुभयो ।
भेटमा जापानका राजदूत तोरुले नेपालको कृषि क्षेत्रमा धेरै सम्भावना रहेको भन्दै कृषिमा हाल जारी सहयोगलाई निरन्तरता दिँदै आगामी दिनमा सहयोगका थप सम्भावनाको अध्ययन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपाली चिया र जडीबुटीका लागि जापान राम्रो बजार हुन सक्ने जानकारी दिँदै राजदूत तोरुले निर्यात बढाउनका लागि सहकार्य गर्न सकिने बताएको मन्त्रीको सचिवालयले जनाएको छ ।
जापानले कृषिको विकासमा उपकरणको प्रयोगलाई महत्व दिएको उल्लेख गर्दै नेपालले पनि कृषिमा आधुनिकीकरण गर्दै जानुपर्नेमा उहाँले जोड दिनुभयो । नेपालको चिया र हर्बल उत्पादनको जापान राम्रो बजार हुन सक्ने भएकाले यसको निर्यातका लागि सहकार्य गर्न सकिने पनि राजदूत तोरुले बताउनुभयो ।