गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन २० गते । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले रचनात्मक पहलकदमी र अग्रसरता कायम राख्दै कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाएर सफलताको अर्को एउटा सिँढी उकाल्ने कार्यमा योगदान पुर्याउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गर्नुभएको छ ।
‘केपी शर्मा ओली : सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तक लोकार्पण समारोहलाई काठमाडौँमा सोमबार सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीको प्रभावकारी कार्यक्षमता र महत्वपूर्ण अनुभवको मुलुकले भरपुर उपयोग गर्नुपर्ने बताउनुभएको हो ।
उहाँले अतुलनीय सक्रियता, अदम्य इच्छाशक्ति र सिर्जनशील क्षमताका धनी प्रधानमन्त्री ओली एक अब्बल एवं लोकप्रिय राजनेता भएको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रधानमन्त्री ओलीले आफूलाई आस्था, अडान र निष्ठाको प्रतिमूर्तिका रूपमा उभ्याउन सफल हुनुभएको छ । मुलुकको राजनीतिक, सामाजिक तथा आर्थिक परिवर्तन गर्न प्रधानमन्त्री ओली अध्यक्ष रहनुभएको नेपाल कम्युनिस्ट पार्टी (एमाले) को महत्वपूर्ण योगदान रहँदै आएको छ ।”
पूर्वराष्ट्रपति भण्डारीले नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष ओलीले पार्टीको आन्तरिक जीवनलाई लोकतन्त्रीकरण गर्न, कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन तथा उत्पन्न हुने गुट र फुटलाई परास्त गरेर पार्टीलाई सुदृढ तुल्याउन निर्वाह गर्नुभएको ऐतिहासिक भूमिकाको सराहना गर्नुभयो ।
उहाँले जननेता मदन भण्डारीले अघि सार्नुभएको नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवाद (जबज) लाई एमालेले मार्गदर्शक सिद्धान्तका रूपमा आत्मसात् गरेको बताउनुभयो । उहाँले जबजको मार्गदर्शनमा एमालेले आफूलाई एक निर्णायक राष्ट्रिय शक्तिका रूपमा विकास गरी सामाजिक न्यायसहितको सुदृढ राष्ट्रिय अर्थतन्त्र निर्माण गर्ने सङ्कल्प गरेको पनि बताउनुभयो । उहाँले भन्नुभयो, “जबजको प्रभावकारी कार्यान्वयनका लागि नेतृत्व गर्नुहुने अध्यक्ष ओलीसहित सिङ्गो पार्टीको पहलकदमीको सराहना गर्दछु । उहाँ नेपालका विशिष्ट राजनीतिज्ञ तथा मुलुकको सामाजिक, आर्थिक समृद्धि अभियानका स्वप्नद्रष्टा र कुशल नेतृत्वकर्तामध्येका एक हुनुहुन्छ ।”
आर्थिक समृद्धिको हुटहुटी
पूर्वराष्ट्रपति भण्डारीले आफू राष्ट्रपति हुँदा प्रधानमन्त्रीको जिम्मेवारीमा ओली रहनुभएको स्मरण गर्दै उहाँमा आर्थिक समृद्धिको हुटहुटी रहेको बताउनुभयो । त्यसबखत प्रधानमन्त्री ओलीले मुलुकको कार्यकारी प्रमुखको हैसियतले निर्वाह गर्नुभएको समन्वयात्मक भूमिका, राजनीतिक स्थिरताका निम्ति भूमिका खेलेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “महाभूकम्पले भत्काएका संरचना पुनर्निर्माण गर्न देखाउनुभएको सक्रियता र त्यसमा प्राप्त सफलता, कोरोना महामारी नियन्त्रण तथा प्रभावितको उपचारमा देखिएको प्रभावकारी व्यवस्थापन एवं आर्थिक समृद्धि हासिल गर्न उहाँमा रहेको हुटहुटी मैले नजिकबाट अवलोकन गरेको छु ।”
पूर्वराष्ट्रपति भण्डारीले नेपाली समाजमा प्रचलित अर्थपूर्ण प्रतीकात्मक शब्दावली र जनबोलीलाई सिर्जनात्मक रूपमा प्रयोग गर्न सक्ने प्रधानमन्त्री ओलीको उत्कृष्ट क्षमताले उहाँ स्वदेश तथा विदेशमा आफ्नो विशिष्ट पहिचान बनाउन सफल हुनुभएको बताउनुभयो । उहाँले भन्नुभयो, “लोकतन्त्र प्राप्तिको आन्दोलनको नेतृत्व गरिरहँदा प्रधानमन्त्री ओलीले १४ वर्ष जेल जीवन बिताउनु पर्यो । जेल जीवन बिताइरहँदा पनि उहाँले कथा, कविता, निबन्धसहित अन्य लेख, रचना सिर्जना गर्नुभएको कुरा हामीले सुन्दै आएका छौँ ।”
पूर्वराष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीमा रहेको साहित्यिक चेतकै कारण अहिले पनि देश तथा जनताका पक्षमा गीत तथा कविता सिर्जना गरेको र उहाँद्वारा रचित केही गीत सङ्गीतबद्धसमेत गरिएको पनि स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “प्रधानमन्त्री ओलीले आफ्नो सङ्घर्षमय जीवन र राजनीतिक यात्रालाई अगाडि बढाउने सन्दर्भमा देख्नुभएको महान् सपना, गर्नुभएको अथक सङ्घर्ष र सँगाल्नुभएको विशिष्ट सङ्कल्पलाई थप उजागर गरी जनमानससम्म पुर्याउन यस पुस्तकमा लेख रचना सिर्जना गर्ने सम्पूर्ण व्यक्तित्वको सराहना गर्दछु ।” उहाँले लोकार्पित पुस्तकले ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने लक्ष्य साकार पार्ने दिशामा थप हौसला प्रधानमन्त्री ओलीलाई प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
समाज बदल्ने सामर्थ्य
एमाले महासचिव शङ्कर पोखरेलले प्रधानमन्त्री ओलीमा समाज बदल्ने सामर्थ्य रहेको बताउनुभयो । उहाँले राष्ट्रिय राजनीतिलाई दिशानिर्देश गर्ने कार्यमा अग्रसरता लिइरहँदा प्रधानमन्त्री ओलीमाथि घेराबन्दी भएको बताउनुभयो ।
उहाँले झापा विद्रोहका सन्दर्भमा प्रधानमन्त्री ओलीका सन्दर्भमा विभिन्न किसिमका टीकाटिप्पणीबारे प्रस्ट पार्दै व्यक्ति हत्याविरुद्ध उभिएर अनुशासित विद्रोह अघि बढाउनुभएको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीको जीवन सङ्घर्षका बहुआयामिक पक्ष छन् । उहाँमा अनुशासित विद्रोहमार्फत समाजको दिशा बदल्ने सामर्थ्य छ । पार्टीको सीमाभित्र रहेर उहाँले यो कार्य सफलतापूर्वक गर्दै आउनुभएको छ ।”
संविधानविद् नीलाम्बर आचार्यले समृद्ध नेपाल बनाउन सङ्कल्प चाहिने बताउँदै निर्वाचनका बेला प्रतिस्पर्धा गर्ने प्रमुख दुई दलको सत्ता सहकार्यले मात्रै देश समुन्नत बन्ने प्रस्ट पार्नुभयो । उहाँले प्रधानमन्त्री ओलीले नेपाली कांग्रेससँगको सहकार्यलाई बलियो बनाउँदै आर्थिक समृद्धि हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा वरिष्ठ चिकित्सक डा. भगवान कोइराला, पत्रकार कनकमणि दीक्षित, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकाल, कलाकार केकी अधिकारी, कलाकार प्रकाश सपुत, लेखक कृष्णमुरारी भण्डारी, अल्केमी प्रकाशनका निर्देशक घनश्याम खड्का, पुस्तकका सम्पादक गणेश पाण्डेसहितले प्रधानमन्त्री ओलीको जीवनबाट प्रेरणा लिनुपर्ने बताउनुभयो । उहाँहरूले राजनीतिक रूपान्तरणका पक्षमा प्रधानमन्त्री ओलीले लिनुभएको अग्रसरता, समृद्ध नेपाल र सुखी नेपालीको आकाङ्क्षा पूरा गर्ने सन्दर्भमा लिनुभएको अठोट पूरा गर्नुपर्ने बताउनुभयो ।
लोकतन्त्र प्राप्तिका पक्षमा पञ्चायतकालदेखि प्रधानमन्त्री ओलीले गर्नुभएको सङ्घर्ष, समृद्धिका लागि गर्नुभएको नेतृत्वदायी पहलसहित सबै पक्ष पुस्तकमा समेटिएको छ । प्रधानमन्त्री ओलीका सहयात्री, राजनीतिज्ञ, अर्थविद्, सामाजिक अभियन्तासहित विभिन्न क्षेत्रका अगुवाका लेखरचना यस पुस्तकमा समावेश गरिएको छ ।