• २० फागुन २०८१, मङ्गलबार

मध्यविन्दु प्रादेशिक अस्पतालको स्तरोन्नति गर्न माग

blog

मध्यविन्दु प्रादेशिक अस्पतालको निर्माणाधीन नयाँ भवन । तस्बिरः ज्ञानु पंगेनी

ज्ञानु पंगेनी 

मध्यविन्दु, फागुन १९ गते । मध्यविन्दु प्रादेशिक अस्पताल नवलपरासीपूर्व नवलपुरलाई एकसय शैय्यामा स्तरोन्नति गर्न अस्पताल व्यवस्थापन पक्षले माग गरेको छ ।

सोमबार अस्पतालमा आयोजित पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा  अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण घिमिरेले १५ शैय्याको मात्र दरबन्दी रहेको यस अस्पतालले अहिले ८० शैययासम्मको सेवा प्रदान गर्दै आइरहेको बताउनुभयो । 

कम्तीमा एकसय शैय्यामा स्तरोन्नति गर्न टड्कारो आवश्यकता रहेको उहाँले बताउनुभयो । प्रदेश सरकारले महत्व दिएर प्रादेशिक अस्पताल नामकरण गरे पनि सो अनुसारको सेवा सुविधा उपलब्ध हुन नसकेको गुनासो उहाँले व्यक्त गर्नुभयो । सामुदायिक रूपमा सञ्चालित अस्पताललाई २०७५ सालमा जिल्ला अस्पतालमा परिणत गरिएको थियो । 

उक्त समय गण्डकी प्रदेश सरकारले पन्ध्र शैय्याको जिल्ला अस्पताल कायम गरेको थियो । प्रदेश सरकारको २०८१ पुष ९ गतेको मन्त्री परिषदको निर्णयले यस अस्पताललाई प्रादेशिक अस्पताल नामकरण गरेको छ ।

स्वीकृत दरबन्दी १५ शैय्याको मात्र हुँदा जनशक्ति अभावको समस्या पेचिलो बनेको  उहाँले बताउनुभयो । करार र विभिन्न कार्यक्रम तर्फको गरी १६४ जना कर्मचारी अहिले कार्यरत रहेका छन् । एकसय शैय्यामा स्वीकृत भए जनशक्ति प्रदेशबाट थप हुने र सेवा दिन सहज हुने घिमिरेले बताउनुभयो । 

बिरामीको चाप दिनानुदिन बढ्दै जाने तर अस्पतालको स्तरोन्नति नहुँदा नागरिक स्तरबाट समेत जनगुनासो बढेको हुँदा यस कुरालाई गम्भीर रूपमा लिएर स्तरोन्नतिका लागि सरकारबाट पहल गरिदिन समेत घिमिरेले आग्रह गर्नुभयो ।  

अस्पतालले जग्गाको भोगाधिकार समेत प्राप्त गर्न सकेको छैन । १० दशमलव ४९ हेक्टर जमिन अस्पतालले उपभोग गर्दैआएको भए पनि २ दशमलव ५ हेक्टर मात्र पूर्ण स्वामित्वमा रहेको छ । बाँकी जमिन भोगाधिकारका लागि पहल भइरहेको भए पनि अस्पतालको नाममा आउन सकेको छैन । 

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रमेशप्रसाद आचार्यले अस्पतालका अल्पकालीन दीर्घकालीन् तथा मध्यकालीन योजनाका सन्दर्भमा जानकारी गराउनुभयो । उहाँले अस्पतालमा सघन उपचार कक्ष (आइसियु), ट्रमा सेन्टर स्थापना, सिटी स्क्यान तथा एमआरआई सेवा सञ्चालनजस्ता महत्वपूर्ण योजना अस्पतालले बनाएको बताउनुभयो । 

यसैगरी अस्पतालको सुविधा सम्पन्न नयाँ भवन निर्माण कार्य अन्तिम चरणमा रहेको र यही फागुन २८ गते वार्षिकोत्सवको अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उदघाटन गर्ने कार्यक्रम रहेको जानकारी दिँदै नयाँ भवनबाट विषेशज्ञ चिकित्सकसहितको सेवा थप् गर्ने योजना रहेको बताउनुभयो । 

अस्पतालको अत्याधुनिक सुविधा सम्पन्न भवन नेपाल हिल्फे र नेपाल सरकारको  लगानीमा निर्माण भइरहेको छ । नेपाल सरकारबाट ११ करोड रुपियाँ लगानी अस्पतालमा भएको छ । अहिले भुइँतला र पहिलो तलाको काम सम्पन्न भएर त्यसैबाट सेवा सञ्चालन गर्ने तयारी अस्पताल व्यवस्थापनले गरेको छ । नेपाल हिल्फेले १८ करोड बजेट उपलब्ध गराएर हस्तान्तरण गरेको हिल्फेका प्रतिनिधि श्यामराज पण्डितले जानकारी दिनुभयो ।