• १९ फागुन २०८१, सोमबार

पर्यटक तान्ने रणनीति आवश्यक

blog

प्राकृतिक सुन्दरता, भौगोलिक विविधता, सर्वोच्च शिखर सगरमाथासहित आठ हजार मिटरका अधिकांश हिमाल र विश्वचर्चित हिमशृङ्खला, विश्वसम्पदा सूचीमा सूचीकृत सांस्कृतिक सम्पदा र रहनसहन आदिले नेपाल विश्व पर्यटनको आकर्षक गन्तव्य मानिन्छ । धार्मिक, साहसिक पर्यटनका लागि पनि विश्व सम्पदायमा नेपाल प्रसिद्ध गन्तव्यको रूपमा परिचित छ । प्राकृतिक सुन्दरताका कारण नेपाल विश्व समुदायमा लोकप्रिय छ । पशुपति, लुम्बिनी, मुक्तिनाथ, जनकपुर, पाथीभरालगायत अन्य धार्मिक तीर्थस्थलका कारण पनि धार्मिक पर्यटनका लागि यो एउटा आस्थाका केन्द्रका रूपमा रहेको छ । यसै कारणले पनि नेपाल विदेशी पर्यटकको प्रमुख रोजाइमा पर्ने गरेको छ । यसको पुष्टि नेपाल भ्रमणमा आउने पर्यटकको सङ्ख्याको वृद्धिले देखाउँछ । 

पछिल्लो वर्षको सरकारी तथ्याङ्क हेर्ने हो भने, नेपालमा विदेशी पर्यटकको आवागमनमा उल्लेख्य सुधार देखिएको छ । नेपाल भ्रमणमा आउने पर्यटकमा युरोप, अमेरिका, अफ्रिका अस्टे«लियाका साथै छिमेकी मुलुक भारत र चीनका बढी छन् । नेपाल भारतको खुला सिमानाका कारण पनि नेपाल घुम्न आउने धार्मिक पर्यटकको सङ्ख्यामा वृद्धि हुने गरेको छ । पर्यटकका लागि हामीले उचित व्यवस्थापन गर्न सकेका छौँ त ? राज्यले पर्यटकको आकर्षण बढाउन के गरेको छ ? यहाँका बाटोघाटो पर्यावरणको अवस्थामा राज्यले ध्यान दिनै सकेको छैन । बाटो धुलाम्य र हिलाम्यका कारण पर्यटकले निकै सास्ति खेपिरहेकै छन् । केवल नारामै सीमित नेपालको सुन्दरता, भौगोलिक, सांस्कृतिक, जैविक विविधताका नाराले एक पटक त जसोतसो काम गर्ला तर तिनले पाएका दुःख सास्ती उनकै देशमा गएर सुनाउँदा अरू आउलान त ? 

देशमा पर्यटन विकासका निम्ति गैरआवासीय नेपाली सङ्घले नमस्ते, अतिथि देवो भवः लगायतका अभियानलाई निरन्तरता दिइरहेको छ भने डायस्पोरामार्फत नेपालको सांस्कृतिक, धार्मिक, साहसिक एवं पर्यटन प्रवर्धन गर्ने योजना अनुरूप विभिन्न कार्यवmम भइरहेकै छन् । नेपालमा मात्रै होइन विदेशमा पनि विदेशीलाई मिठो मुस्कानसहित हाँसेर नमस्ते गरौँ ताकि हाम्रो संस्कार देखेर पनि हाम्रो मुलुक घुम्ने रहर जागोस् भनी राष्ट्रिय समन्वय परिषद्हरूले विभिन्न मुलुकमा प्रवर्धनात्मक कार्यक्रम गरिरहेका छन् । विदेशमा रहेका नेपाली डायस्पोरामार्फत पर्यटकलाई नेपाल भ्रमण गर्न उत्प्रेरित गर्ने, डायस्पोरामा नेपाली महोत्सव आयोजना गर्ने, विदेशस्थित विभिन्न सङ्घ संस्थासँग मिलेर व्यावसायिक कार्य एवं प्रवर्धनात्मक कार्यक्रम गर्ने, नेपालीद्वारा विदेशमा सञ्चालित रेस्टुरेन्ट एवं अन्य व्यावसायिक निकायमा समेत नेपाललाई चिनाउने खालका सामग्री राख्ने र कार्यक्रम गर्नेलगायतका गतिविधि सञ्चालन भइरहेकै छन् । पर्यटन प्रवर्धनका लागि नेपाललाई चिनाउने मौलिक र सांस्कृतिक पहिचान झल्काउने खालका फोटो प्रदर्शनी, खेलकुद प्रतियोगितालगायतका कार्यक्रम आयोजना गर्ने र सरकाले पहिचान गरेका एक सय वटा गन्तव्य स्थलका बढीभन्दा डायस्पोरा एवं बाह्य पर्यटक भित्र्याउने रणनीति अनुरूप सङ्घले काम गरिरहेकै छ । देशको अवस्था हवाई तथा स्थल मार्गबाट कहिले कसरी गन्तव्यमा पुगिएला भन्ने चिन्ताका बिच पर्यटन व्यवसायले निकै अप्ठेरो चुनौती भोगिरहकै देखिन्छ । 

नेपालको बारेमा सकारात्मक प्रचारप्रसारका लागि सामाजिक सञ्जालमा समेत नेपालको पर्यटनसँग सम्बन्धित विषयवस्तु पोष्ट भइरहेकै छन् । जसले यहाँहरूको सामाजिक सञ्जालमा जोडिएका विदेशीको ध्यान आकृष्ट गर्न मद्दत गरेको छ । यसो भन्नुको तात्पर्य, डिजिटल प्रचारप्रसारका लागि पर्यटनसँग सम्बद्ध तथा आबद्ध सङ्घसंस्था, नेपाली डायस्पोराले कार्य गरेका छन् । विश्व बजारमा जहाँ नेपालीको पहुँच छ त्यहाँ नेपाल भ्रमण गर्न प्रेरित गर्ने सामग्री प्रवर्धन त्यसको निरन्तरताले पनि नेपालमा पर्यटक भित्र्याउन थप टेवा पु¥याउन सक्छ । 

बेमौसममा पनि पर्यटकको आगमन बढाउन के गर्ने सकिन्छ भन्ने विषयमा पनि सरकारले गृहकार्य गरेर पर्यटकका लागि सुरक्षित भ्रमणको पूर्वाधारको विकास गर्नु पर्छ । सेवा, सुविधा सम्पन्न होटल तथा रेस्टुरेन्टहरूले खाने बस्नेको सुविधामा निकै अघि बढाएका छन् । यसर्थ पनि अहिले नेपालको पर्यटन क्षेत्रमा लगानीका लागि उपयुक्त वातावरण बनेको देखिन्छ । सरकारले पर्यटनको विकासको योजना अघि सारेको छ, जनताले विकास चाहेका छन् । गैरआवासीय नेपालीले लगानी गछौँ भनेर प्रतिबद्धता जनाउँदै लगानी भित्र्याएका छन् तर राज्यले गर्नुपर्ने नीति निर्माण र भौतिक पूर्वाधारको विकासका साथै सहजीकरणका कार्य ढिलोसुस्ती नगरी गर्नु पर्छ । 

तुलनात्मक रूपमा हेर्दा हिजोभन्दा आज सुन्दर प्राकृतिक अवलोकलन, साहसिक खेल, होटेल, होमस्टे, रेस्टुरेन्ट, जलविद्युत्, केवलकार सञ्चालन, धार्मिक तथा सामाजिक पर्यटन प्रवर्धनलगायतमा स्वेदेशी तथा विदेशी लगानी सुरक्षित गर्ने आधार तय भएका छन् । नेपालको पर्यटकीय क्षेत्रको विकासका र प्रवर्धनका लागि अन्तर्राष्ट्रिय समुदायमा व्यापक प्रचारप्रसार भएको छ । त्यसका लागि सबैभन्दा प्रभावकारी भूमिका विदेशमा रहेका नेपालीले नै निर्वाह गरेका छन् । देशको समृद्धिका निम्ति विदेशमा रहेका नेपाली डायस्पोरामार्फत पर्यटकलाई नेपाल भ्रमण गर्न उत्प्रेरित गर्ने, डायस्पोरामा नेपाली महोत्सव आयोजना गर्ने, विदेशस्थित विभिन्न सङ्घसंस्थासँग मिलेर व्यावसायिक कार्यशाला एवं प्रवर्धनात्मक कार्यक्रम गर्ने, नेपालीद्वारा विदेशमा सञ्चालित रेस्टुरेन्ट एवं अन्य व्यावसायिक निकायमा समेत नेपालीलाई चिनाउने खालका सामग्री राख्ने र कार्यक्रम गर्नेलगायतका गतिविधि भइरहेका छन्, जुन वास्तवमै स्वागतयोग्य कुरा हो । अझै त्यस्ता गतिविधिलाई निरन्तरता दिँदै नेपालमा पर्यटक आकर्षित गर्न विदेशस्थित नेपाली राजदूतावास, कुटनीतिक आयोगहरूले साहित्यिक, सांस्कृतिक महोत्सव आयोजना गर्नु पर्छ । 

सबैभन्दा राम्रो पक्ष, गैरआवासीय नेपालीले नेपाल भ्रमणका लागि विभिन्न प्रकारका प्रचारप्रसार, गतिविधि गरिरहेका छन्, जुन देशका निम्ति प्रशंसायोग्य छ । पर्यटनको मुख्य रोजाइमा परेका यस्ता सांस्कृतिक, प्राकृतिक र धार्मिक सम्पदाहरूको संरक्षण र प्रवर्धनमा गैरआवासीय नेपालीले भरपूर सहयोग गर्न सक्छन् । नेपालको पर्यटन प्रवर्धनका लागि भौतिक पूर्वाधारको विकास र अहिलेको बजार प्रतिस्पर्धात्मक भएकाले नयाँ सोचका साथ अघि बढ्नुपर्ने देखिएको छ, त्यसका लागि समेत सचेत हुनु आवश्यक छ । 

नेपालको प्राकृतिक सुन्दरताको अवलोक, संस्कृतिको अध्ययन तथा पर्वतारोहणका लागि नेपाल घुम्न आउने पर्यटकको सङ्ख्या बढे पनि उनीहरूको नेपाल बसाइको समय भने घट्दै गएको सरकारी तथ्याङ्कले देखाएको छ । पछिल्लो तीन वर्षको तथ्याङ्क अनुसार नेपाल आउने पर्यटकको बसाइ अवधि औसतमा १२ दिन मात्र रहेको देखिन्छ । भ्रमणका क्रममा भोग्नु परेका सामान्य समस्यामा समेत राज्यले सावधानी अपनाउन सकेको देखिन्न । गैरआवासीय नेपाली सङ्घले यसतर्फ पनि ध्यान दिन कमसेकम आफू बसेको मुलुकबाट नेपाल आउने विदेशी पर्यटकलाई नेपाल बसाइको अवधि लम्ब्याउन आकर्षित गर्ने खालका योजना अघि सार्नु पर्छ । त्यसमा सरकारले आवश्यक कार्य गर्ने तत्परता देखाउन सके निकै सुधार हुन्छ । 

नेपालमा पर्यटनको राम्रो सम्भावना भए पनि सरकार निजी क्षेत्रको समन्वयको अभावका कारण नेपालले पर्यटन व्यवासयबाट अपेक्षित लाभ लिन त्यो अभावलाई परिपूर्ति गर्ने खालका योजनामा सरकारले ध्यान दिन सकिरहेको देखिन्न । पर्यटन क्षेत्रको बजारीकरण र प्रवर्धनलाई सन्तोषजनक बनाउन सरकार मात्रैको प्रयास पर्याप्त छैन, तसर्थ त्यसमा हातेमालो गर्ने आधार गैरआवासीय नेपालीसँग प्रशस्तै छ । सुधारोन्मुख रहेको पर्यटन क्षेत्रलाई थप टेवा पु¥याउन सरकार, स्थानीय, निजी क्षेत्र, सरोकारवाला सबैबिच सहकार्य आवश्यक छ,  त्यसो हुन सके आउने वर्षमा नेपाल भित्रिने पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै जाने देखिन्छ ।