२०५९ मा नेपाली कांग्रेसको साधारण सदस्यबाट समेत निष्कासन गरिएका शेरबहादुर देउवाका लागि आफ्नो राजनीतिलाई दाउमा राखेर साथ दिएका नेताहरू एक ठाउँमा उभिएर देउवालाई राजनीतिक न्याय, इमानदारी र नैतिकताको स्मरण गराएका छन् ।
फागुन २ गते कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा संस्थापन पक्षका ‘११ भाइ’ को बैठकपछि कांग्रेसको आन्तरिक राजनीति थप तरङ्गित हुन पुगेको छ । खास गरी आसन्न १५ औँ महाधिवेशनमा सभापतिका आकाङ्क्षीद्वय गगन थापा र डा. शेखर कोइरालाले महाधिवेशन केन्द्रित गतिविधि अघि बढाएको भनेर संस्थापन पक्षीय नेताहरूले दिन खोजेको सन्देश के हो भने देउवाको समर्थनमा संस्थापनबाट सभापतिको छुट्टै उम्मेदवार खडा हुन्छ ।
यति मात्र होइन, ‘११ भाइ’ मध्ये देउवाले अघि सार्ने कुनै पनि नेतालाई स्वीकार्न तयार छौँ भन्ने सन्देश पनि हो, बुढानीलकण्ठ बैठक । पछिल्लो समय देउवाको विश्वास जितेका कारण सभापतिमा महामन्त्री थापालाई नै अघि सार्ने हो कि भनेर जसरी चर्चा गरिएको थियो, त्यसलाई चिर्नका लागि पनि देउवा निवासमा सो बैठक डाकिएको बताइन्छ । त्यसो त सभापतिका लागि पार्टी गतिविधि अघि बढाउन महामन्त्री थापालाई विश्वासमा लिनु पर्छ नै । यति मात्र होइन, गगनलाई विश्वासमा लिएर सभापति देउवाले शेखरलाई साइजमा राख्न खोजेको पनि यसबाट प्रस्ट हुन्छ । किनभने इतर पक्षका नेताहरूबिच जति दुरी बढाउन सक्यो त्यति नै राजनीतिक लाभ मिल्ने देउवालाई राम्रोसँग थाहा छ ।
बुढानीलकण्ठ बैठकमा सहभागी नेताहरूले सभापति देउवामाथि राजनीतिक इमानदारी देखाउन दबाब दिएका छन् । सवाल १३ औँ र १४ औँ महाधिवेशनमा सभापति बनाउनका लागि गरेको सहयोग मात्र होइन, २०५९ मा तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले देउवालाई कांग्रेसको साधारण सदस्यबाट समेत निष्कासन गरेका बेलादेखि आफ्नो राजनीतिलाई दाउमा राख्दै नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठनमा सहयोग गरेका नेता एक ठाउँमा उभिनुको अर्थ देउवालाई राजनीतिक न्याय, इमानदारी र नैतिकताको स्मरण गराएको रूपमा बुझ्न सकिन्छ । यीमध्ये शशाङ्क र सिटौलाबाहेक सबै कांग्रेस प्रजातान्त्रिकमा रहेर देउवालाई सहयोग गरेका नेता हुन् । समकालीन नेतामा सभापति देउवा राजनीतिक इमानदारी भएका नेताका रूपमा चिनिनुहुन्छ । त्यस अर्थमा १५ औँ महाधिवेशनमा सभापति देउवाको इमानदारीको परीक्षणसमेत हुने कांग्रेसवृत्तमा चर्चा छ ।
कांग्रेस विधानमा दुई कार्यकालभन्दा बढी नेतृत्वमा बस्न नपाउने प्रावधानका कारण सभापति देउवा आगामी महाधिवेशनमा चुनावी प्रतिस्पर्धामा रहने कुरा भएन । जुन कुरा पार्टीको औपचारिक बैठकमा पनि देउवाले व्यक्त गरिसक्नुभएको छ । व्यक्तिगत रूपमा चुनावी प्रतिस्पर्धामा नभए पनि देउवाले अघि सार्ने उम्मेदवारको अर्थ हुने छ ।
१३ औँ महाधिवेशनमा कृष्णप्रसाद सिटौला समूहबाट महामन्त्रीमा प्रतिस्पर्धा गरेका थापा १४ औँ महाधिवेशनमा शेखर समूहबाट जित्न सफल हुनुभएको थियो । बुढानीलकण्ठमा ‘११ भाइ’ को बैठक उनै सिटौलाको अग्रसरतामा भएको हो । जहाँ उपसभापति पूर्णबहादुर खड्का, पूर्वउपसभापतिद्वय विमलेन्द्र निधि, विजयकुमार गच्छदार, नेताहरू कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, डा. शशाङ्क कोइराला, डा. प्रकाशशरण महत, बालकृष्ण खाँण, एनपी साउद र उमाकान्त चौधरी हुनुहुन्थ्यो । १४ औँ महाधिवेशनमा देउवालाई सघाएका शशाङ्क औपचारिक रूपमा देउवा समूहमा खुलेर पहिलो पटक बुढानीलकण्ठ पुग्नुभयो । कुनै समय शेखर, शशाङ्क र सुजाताले एउटै माला लगाएर हामी तीन कोइराला एकै ठाउँमा छौँ भन्ने सन्देश दिनुभएको थियो । देउवा निवासमा ‘११ भाइ’ को बैठकमा शशाङ्क उपस्थित भएर कोइराला टिममा नरहेको प्रस्ट सन्देश पनि दिनु भएको छ ।
बुढानीलकण्ठमा ‘११ भाइ’ को बैठकले दिएको राजनीतिक सन्देशपछि शेखर र गगनको अभियानले थप गति लिएको छ । त्यसको एकसातापछि ८ फागुनमा सुर्खेत विमानस्थलमा उत्रिएका कार्यकर्ताको भिडले उत्साहसँगै ऊर्जा पैदा भएको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै शेखरले भन्नुभएको थियो । कोइराला सुर्खेतबाट फर्किएको एक साता नबित्दै महामन्त्री थापा सल्यान, रोल्पा र प्युठानका कार्यक्रममा सहभागी हुन सुर्खेत विमानस्थलमा त्यसै गरी ओर्लिएका थिए । अघिल्लो साता शेखरको स्वागतलाई चुनौती दिने गरी थापाले कार्यकर्ता उतारेको सुर्खेत कांग्रेसका नेताहरूको टिप्पणी थियो । कोइराला र थापाको दौडाहलाई उपप्रधान तथा सहरी विकासमन्त्रीसमेत रहेका प्रकाशमान सिंहले व्यङ्ग्य गर्दै नेपालगन्ज विमानस्थलमा भन्नुभएको थियो, “कराउँदैमा र दौड्दैमा केही हुँदैन । सङ्गठन बलियो बनाउनु पर्छ ।” हुन पनि कांग्रेसका नेता यो वा त्यो नाममा जसरी देशका विभिन्न भागमा अनेक कार्यक्रमका नाममा पुगेका छन् उनीहरूको ध्यान सङ्गठन बलियो बनाउने भन्दा पनि गुट बलियो बनाउने र महाधिवेशनमा कसरी आफ्नो टिमलाई जिताउने भन्नेमै केन्द्रित देखिन्छ ।
१५ औँ महाधिवेशनको चर्चा गरिरहँदा १४ औँ महाधिवेशनमा पाएको मतको पनि सँगै विश्लेषण गर्नु उपयुक्त हुन्छ । दोस्रो चरणको मतदानमा देउवाले ६० प्रतिशत मत पाउनुभएको थियो भने प्रतिस्पर्धी शेखरले ४० प्रतिशत । डा. शेखरले हिजो गगन थापासहितको समर्थनमा ४० प्रतिशत मत संरक्षण गर्न सकेको आमकांग्रेसजनलाई थाहा भएकै तथ्य हो । यति बेला डा. कोइराला १४ औँ महाधिवेशनको ४० प्रतिशत मतको हिसाबकिताब गरेर बस्नुभएको छ । महामन्त्री थापा स्वयम् सभापतिको आकाङ्क्षी हुँदा सो मत विभाजन हुने देखिन्छ । यति हुँदाहुँदै पनि संस्थापन पक्षका असन्तुष्टलाई समेटेर थप शक्ति आर्जन गर्न सकिने उहाँको विश्वास छ । अर्कातिर महामन्त्री थापा आफ्ना पुराना समर्थकसहित नयाँ अनुहार अगाडि सारेर सभापतिका अन्य आकाङ्क्षीभन्दा बलियो हुनेमा ढुक्क हुनुहुन्छ । उता देउवा समूह भने टिमका सबै नेतालाई समेटेर अघि बढ्दा पुरानो शक्तिमा तलमाथि नहुनेमा विश्वस्त छ ।
नीतिगत बहसको खाँचो
२०८२ मा महाधिवेशन हुने सुरसार देखिँदैन । महाधिवेशनका लागि क्रियाशील सदस्यता वितरण प्रभावकारी रूपमा हुन सकेकै छैन । हरेक महाधिवेशनमा क्रियाशील सदस्यता सम्बन्धमा जिल्ला जिल्लामा विवाद हुँदै आएको छ । केन्द्रीय तहबाट महाधिवेशनसम्बन्धी कुनै पनि काम अघि नबढाइएको भए पनि आगामी महाधिवेशन र नयाँ नेतृत्वका विषयमा भने स्थानीयदेखि केन्द्रीय तहसम्मै चासो र चर्चा भइरहेको छ । कांग्रेस सभापति देउवाका भनाइबाट पनि प्रस्ट हुन्छ कि उनी १५ औँ महाधिवेशन २०८४ को निर्वाचनपछि मात्र गराउन चाहन्छन् । जबकि संवैधानिक व्यवस्था अनुसार नेपाली कांग्रेसको १५ औँ महाधिवेशन २०८२ मा गर्नुपर्ने हुन्छ । संवैधानिक रूपमा यस्तो बाध्यकारी व्यवस्था भए पनि एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति देउवाबिच गत असार १७ गते भएको ७ बुँदे सहमतिमा २०८४ को निर्वाचन देउवा नेतृत्वको सरकारले गर्ने उल्लेख छ ।
सहमतिको चौथो बुँदामा भनिएको छ, राष्ट्रिय सहमतिको सरकारको नेतृत्व सरकार गठन भएको मितिले दुई वर्षसम्म नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले र त्यसपछि २०८४ मङ्सिरमा हुने आमनिर्वाचनसम्म नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने । यसबाट प्रस्ट हुन्छ देउवा २०८४ को निर्वाचनअघि महाधिवेशन गर्न तयार हुनुहुन्न । यसको अर्थ कांग्रेस सभापतिका हैसियतमा अर्को एक पटक प्रधानमन्त्री बन्ने र आफू सभापति पदमा रहेर नै २०८४ को निर्वाचनमा टिकट वितरण गर्ने देउवाको योजना छ । पार्टी केन्द्रीय समितिमा पूर्ण बहुमत भएका देउवाका लागि यस्तो योजना अनुसार काम गर्न कुनै कठिनाइ देखिँदैन ।
१५ औँ महाधिवेशन २०८४ को निर्वाचन अघि वा पछि जहिले भए पनि महाधिवेशनमा नेतृत्वको विषयले मात्र प्राथमिकता पाउँदा एजेन्डाको बहस ओझेलमा पर्ने प्रस्ट छ । पाँच, छ वर्षमा एक पटक हुने महाधिवेशनमा पार्टी सङ्गठनको विचारधाराका विषयमा गम्भीर बहस र छलफलले स्थान नपाउनु भनेको सङ्गठनको दीर्घकालीन लक्ष्य, नीति र रणनीति ओझेलमा पर्नु हो । महाधिवेशनमा नीतिको विषय ओझेलमा पर्दा पार्टीको आगामी कार्यदिशा त अन्योलमा पर्ने छ नै, साथै नयाँ पुस्ताको भविष्य पनि सङ्कटमा पर्न सक्छ । हुन पनि यही नीतिगत अन्योलका कारण कांग्रेसमा नयाँ पुस्ताको आकर्षण घट्दो छ । यसरी पार्टीका हरेक फोरम चाहे महाधिवेशन होस् या महासमिति बैठकमा नीतिगत विषय छायामा पर्न गई नेतृत्वको विषय मात्र हाबी हुन गएको छ । जसले अन्ततः कांग्रेसको सङ्गठन कमजोर बनाउने मात्र काम गर्छ ।
पार्टीको नेतृत्व समाल्न तयार भएका नयाँ वा पुरानो पुस्ताका नेताले आफू नेतृत्वमा आउनका लागि पहल गर्दै गर्दा सङ्गठन कसरी बलियो बनाउने भन्नेतिर ध्यान केन्द्रित गर्नु पर्छ । त्यसो गरिएन भने औपचारिकताका लागि महाधिवेशन होला, नेतृत्व पनि चयन होला । यति काम त खासै अस्तित्वमा नरहेका अरू ससाना दलको पनि भइरहेकै छ । के कांग्रेस पनि त्यही बाटोमा अघि बढ्ने हो त ? कांग्रेस र यसको नेतृत्वलाई त्यो औपचारिकता पूरा गर्ने मात्र छुट छैन । लामो इतिहास भएको लोकतान्त्रिक पार्टी कांग्रेसबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्तिकेन्द्रले विशेष गरी लोकतान्त्रिक पद्धति बसाल्ने विषयमा धेरै अपेक्षा गरेका छन् । त्यो अपेक्षा पूरा गर्न सकेन भने कांग्रेसको भविष्य सङ्कटमा आउन सक्छ । कांग्रेसको भविष्य सङ्कटमा आउनु भनेको सिङ्गो लोकतान्त्रिक प्रणाली नै सङ्कटमा पर्नु हो ।