स्याङ्जा समाचारदाता
स्याङ्जा, फागुन १९ गते । उद्योग वाणिज्य सङ्घ स्याङ्जाले आयोजना गरेको सातौँ स्याङ्जा महोत्सवमा गायक दुर्गेश थापाले आफ्नो प्रस्तुति दिएर दर्शकको मन जित्नुभएको छ । ‘मेरो दुश्मन छन् धेरै, दुश्मन हेरेको हेर्यै...’ बोलको गीतले महोत्सवमा आफ्नो प्रस्तुति सुरु गर्नुभएका थापाले दर्शकलाई भरपूर मनोरञ्जन दिएर हेरेको हेर्यै बनाउनुभएको हो ।
‘बम बम भोले भोले...’, ‘यहाँ रिसको बेलामा...’, ‘रातो रातो खुर्सानी पिरो छ...’, ‘नाच्नु पर्छ बिच बिचमा...’, ‘कि दुर्गेश रेलमा कि दुर्गेश जेलमा...’ लगायतका गीत दर्शकमाझ पस्कनुभएको थियो । महोत्सवमा राजन कार्की, मोहन खड्का, बन्दना पाण्डे, लक्ष्मणसिंह ठकुरीलगायतले आआफ्ना प्रस्तुतिबाट दर्शकलाई मनोरञ्जन प्रदान गर्नुभएको थियो ।