गोरखापत्र अनलाइन
काठमाडौं, फागुन १८ गते । नेकपा (एमाले) केन्द्रीय सचिवालयको ४५ औँ बैठक सम्पन्न भएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले जनसङ्गठनको केन्द्रीय कमिटीको अधिकतम सङ्ख्यामा हेरफेर गर्ने निर्णय गरेको छ ।
निर्णयअनुसार कमिटीको संख्या क्रमशः १ सय ५० र दुई सयमा सीमित गर्ने निर्णय गरेको छ । जनसङ्गठनको हालको अधिकतम १७ पदाधिकारीहरूको सङ्ख्या घटाई ९ मा सीमित गर्ने निर्णय बैठकले गरेको छ । अध्यक्ष र महासचिवका अतिरिक्त उपाध्यक्ष महिला सहित २ उपमहासचिव १, र संगठन प्रचार, विदेश र कोषको जिम्मेवारी तोकेर सचिव (कोषाध्यक्ष भएमा सो सहित) को सङ्ख्या ४ मा सीमित गर्ने निर्णय गरेको छ ।
संयन्त्रमा संरचनागत रूपमा सचिव राख्न उपयुक्त नहुने तर प्रमुखले आवश्यकताका आधारमा सचिवको जिम्मेवारी तोक्न सक्ने निर्णय बैठकले गरेको छ । केन्द्रमा सचिवालय र केन्द्रीय कमिटीका बिचमा अन्य कुनै तह नराख्ने निर्णय बैठकले गरेको छ । स्थानीय तहका प्रमुख र अध्यक्ष तथा उपप्रमुख र उपाध्यक्षहरूको कार्यशाला आगामी चैत महिनाभित्र सम्पन्न गर्ने निर्णय बैठकले गरेको छ ।
केन्द्रीय प्रचार तथा प्रकाशन विभागको सचिवमा गणेश पाण्डे (लमजुङ) र स्थानीय विकास विभाग सचिवमा नवराज गेलाल (भक्तपुर) लाई मनोनयन गरिएको छ । अप्रिल २२ अर्थात् ९ बैशाख २०८२ मा पार्टीको ७६ औँ स्थापना दिवस भव्य रूपमा मनाउने निर्णय बैठकले गरेको महासचिव शंकर पोखरेलले बताउनुभयो ।
बैठकले सुदूरपश्चिम प्रदेश कमिटी सदस्यमा मनोनयनका लागि आएका नामहरू अनुमोदन गरिएको पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।