फडिन्द्र अधिकारी
लेखनाथ, फागुन १८ गते। कास्कीमा सूर्यदर्शनसहित आठ सहकारीको रकम अपचलनसम्बन्धी मुद्दा अदालतमा विचाराधीन छ। सहकारीसम्बन्धी संसदीय छानबिन समितिले देशभर ४० सहकारीमा ८७ अर्ब ८९ करोड रुपियाँ हिनामिना भएको औंल्याएको थियो।
सहकारीका सेयर सदस्यको सेयर र बचत रकम हिनामिना राष्ट्रिय विषय बनेका बेला आइतबार पोखरामा यसबारे छलफल भएको छ। बुकवर्म फाउन्डेसनले आयोजना गरेको साहित्य महोत्सवमा सहकारीसम्बन्धी संसदीय छानबिन समिति संयोजक सांसद सूर्य थापाले देशको समग्र सहकारी क्षेत्र नभई, केही सहकारीमात्र समस्या परेको उल्लेख गर्नुभयो। अहिले देशभर ३१ हजारभन्दा बढी सहकारी छन्।
सहकारीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयनमा गएपछि पूर्व गृहमन्त्री रवि लामिछाने, पूर्व प्रहरी नायब महानिरीक्षक छविलाल जोशी लगायत हिरासतमा पुग्नुभयो। उहाँहरुको मुद्दा विचाराधीन छ। महोत्सवका ‘सहकारीको सास्ती’ सत्रमा एमाले नेतासमेत रहनुभएका प्रतिनिधिसभा सदस्य थापाले सहकारीका समस्या समाधान गर्न नसके देशको अर्थतन्त्रलाई नै समस्या हुन सक्ने औंल्याउनुभयो।
उहाँले भन्नुभयो, “समस्या समाधान गर्न सकेनौँ भने यो हामीलाई सास्ती हो, राष्ट्रिय अर्थतन्त्रलाई पनि सास्ती हो। बचतकर्तालाई त सास्ती छँदै छ।” उहाँले सेयर सदस्य र सर्वसाधारणको बचतको दुरुपयोग गर्ने सहकारीमा मात्र सङ्कट भएको प्रष्ट पार्नुभयो। उहाँले त्यस्ता सहकारीको पौने तीन खर्ब जोखिममा रहेको उहाँको भनाइ छ।
नियमन प्रभावकारी हुन नसक्दा र सहकारीका मान्यतालाई पालना नगर्दा समस्या आएको उहाँको भनाइ छ। थापाले भन्नुभयो, “केही सहकारी, पाहुना सहकारी भन्छु म। तीनलाई ती सहकारीको मूल्य, मान्यता अन्तर्गत सञ्चालित थिएनन्। नियमनकारी निकायले ध्यान पनि दिएनन्। तिनमा समस्या आएको हो, समग्र सहकारी क्षेत्रमा होइन।”
कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघकी सञ्चालक कमला गिरीले नियमावली पालना र कार्यान्वयन नहुँदा समस्या परेको धारणा राख्नुभयो। २०७४ को सहकारी ऐन र ७५ को नियमवालीलाई कार्यान्वयनमा ल्याउन नसक्दा अहिलेको अवस्था आएको उहाँको भनाइ छ।
उहाँले पीडकलाई जेल हाल्नुमात्र पनि समाधानको उपाय नभएको औंल्याउनुभयो। सहकारी समस्या समाधान गर्न सरकारले गएको पुस १४ गते अध्यादेश ल्याएको थियो। सहकारी ठगीको निष्पक्ष छानबिन र दोषीलाई कारवाही गरी सर्वसाधारणको रकम फिर्ता गर्ने लक्ष्यका साथ अध्यादेश ल्याइएको हो।