भाइबहिनीहरू, तपाईंहरूले बिबिसी नेपाली समाचार सुन्नुभएको छ ? समाचार सुरु हुनुभन्दा अगाडि ‘च्याङ्बा होई च्याङ्बा, सुन सुन होई च्याङ्बा, डम्फुले आजा क्या भन्छा, जाम कता जाम जाम...’ भन्ने धुन बज्छ । यो गीतमा भएका शब्द र सङ्गीतले तामाङ जातिको प्रतिनिधित्व गर्दछ । तामाङ जातिले बोल्ने भाषालाई तामाङ भाषा भनिन्छ । तामाङ जातिको मौलिक परम्परागत पहिरन छ । तामाङ जातिले मनाउने राष्ट्रिय चाडलाई सोनाम ल्होसार भनिन्छ । यो चाड पुरानो वर्षको बिदाइ र नयाँ वर्षको स्वागतका रूपमा मनाउने गरिन्छ । यो वर्ष २०८१ माघ १७ गते सोनाम ल्होसार परेको छ । त्यसको भोलिपल्टदेखि मञ्जुश्री संवत् २८६१ सुरु हुने छ । किसानले बाली भित्र्याइसकेपछि मनाउने पर्वका रूपमा पनि नयाँ वर्षलाई लिइन्छ । ‘ल्हो’ भनेको वर्ष हो । तामाङ जातिमा वर्ष १२ वटा भएको विश्वास गरिन्छ । १२ वर्षको नाम पशुपन्छीका नामबाट राखिएका छन् । त्यसलाई मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर वर्ष भनिन्छ । २०८१ माघ १७ गतेबाट सर्प वर्ष सुरु हुँदै छ । १२ वर्ष सकिएपछि फेरि उही नाम दोहोर्याएर नयाँ वर्ष गन्ती गरिन्छ ।
तामाङ जातिको सामाजिक संस्थालाई नेपाल तामाङ घेदुङ भनिन्छ । यो संस्था अन्तर्गत अरू धेरै तामाङ सङ्घ संस्था मिलेर काठमाडौँको टुँडिखेलमा सोनाम ल्होसार सांस्कृतिक महोत्सव मनाउने गर्दछन् ।
तामाङ जातिले बौद्ध धर्म मान्दछन् । ल्होसार परम्पराको निरन्तरता हो । ल्होसार घर घरमा मनाउने गरिन्छ । त्यसै गरी सार्वजनिक स्थलमा भेला भएर सामूहिक रूपमा मनाउने गरिन्छ । अब आउने नयाँ वर्षलाई मन्जुश्री संवत् २८६१ सिङ/मो (स्त्रीवर्ग) सा पुख्री ल्हो भनिन्छ । त्यसका अवसरमा आगामी माघ १६, १७ र १८ गते काठमाडौँको टुँडिखेलमा ल्होसार सांस्कृतिक महोत्सव हुने छ ।
नेपालमा १४२ जातजाति रहेका छन् । त्यसमध्ये पाँचौँ ठुलो जनसङ्ख्यामा तामाङ जाति रहेको छ । तामाङ जातिको जनसङ्ख्या १६ लाख ४० हजार रहेको छ । त्यसमध्ये बागमती प्रदेशमा १२ लाख १६ हजारभन्दा बढी तामाङ जातिको बसोबास छ । तामाङ जातिको कुल जनसङ्ख्यामध्ये १४ लाख २३ हजारभन्दा बढीले तामाङ भाषा बोल्दछन् । सात प्रदेशमध्ये बागमती प्रदेशले नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजको भाषा घोषणा गरेको छ । त्यसैले यो वर्षको ल्होसारलाई मातृभाषा कार्यान्वयन वर्षका रूपमा मनाइने नेपाल तामाङ घेदुङका महासचिव जगतमान लामा दोङले बताउनुभयो । सबै तामाङले तामाङ मातृभाषा बोल्न र व्यवहार गर्न जोड दिइएको छ । एक पटकको तामाङ सधैँको तामाङ भएर रहन आफ्नो मातृभाषा र बौद्ध परम्परा अनुसारको संस्कृतिलाई भुल्न नहुने घेदुङको भनाइ छ । सोनाम ल्होसारको सबैलाई शुभकामना छ ।