• १९ फागुन २०८१, सोमबार

देवघाटमा भक्तजनको भिड

blog

शिव भगवान्को त्रिशूलबाट बगेको नदी त्रिशूली र शालिग्राम ढुङ्गा पाइने एक मात्र नदी कालीगण्डकीको सङ्गमस्थल देवघाट हो ।

भाइबहिनीहरू, माघेसङ्क्रान्तिमा देवघाटमा निकै ठुलो मेला लाग्ने गरेको छ । मेला भर्न देश विदेशबाट ठुलो सङ्ख्यामा भक्तजन यहाँ आइपुग्छन् । देवघाटमा माघेसङ्क्रान्तिमा किन बढी भिड लाग्छ भन्नेबारेमा चर्चा गर्ने छौँ ।

देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष डा. गुरुप्रसाद सुवेदीले देवघाट क्षेत्रको महिमाबारे पुराणहरूमा चर्चा गरिएको जानकारी दिनुभयो । वराहपुराण, पद्मपुराण, स्कन्दपुराण आदिमा चर्चा गरिएको पाइन्छ । भगवान् विष्णु वामन अवतार हुनुभएका बेला बलिराजामाथि विजय प्राप्त गर्नुभयो । त्यसपछि त्रिविक्रम बनी भगवान्ले जहाँ चरण राख्नुभयो, त्यहाँ एउटा सुन्दर तलाउ बन्यो । त्यो नै देवघाट हो भन्ने पुराणहरूमा उल्लेख छ ।

शिव भगवान्को त्रिशूलबाट बगेको नदी त्रिशूली र शालिग्राम ढुङ्गा पाइने एक मात्र नदी कालीगण्डकीको सङ्गमस्थल देवघाट हो । यस धाममा भगवान् पनि स्नान गर्न आउने गरेको विश्वास छ । यस पवित्र भूमिमा शिव भगवान्का साथै ऋषिमुनिले तपस्या गरेको चर्चा पनि पुराणहरूमा छ । यहाँ स्नान गर्नाले ठुलो यज्ञ गरेको, गाईदान गरेको, चारधाम तीर्थ गरेकोभन्दा धेरै पुण्य मिल्ने विश्वास रहँदै आएको छ ।

दामोदर कुण्डबाट बगेर आउने कालीगण्डकी र गोसाइँकुण्डबाट बगेर आउने त्रिशूलीसँगै सेती, मस्र्याङ्दी, दरौँदी, मादीलगायत नदी पनि मिसिएर यहाँ आइपुग्छन् । माघेसङ्क्रान्तिबाहेक वैशाख सङ्क्रान्ति, ठुली एकादशी, बालाचतुर्थी, ग्रहण लागेको समय, साउन महिनालगायतमा धर्मावलम्बीको भिड लाग्ने गरेको छ । अन्य महिना गर्मी र बर्सात हुने हुँदा माघमा बढी भिड लाग्ने गरेको छ । 

दर्शनार्थी तथा पाहुनाका लागि देवघाट नदीमा मनोरञ्जनको साधनका रूपमा बोटिङ तथा डुङ्गा पनि राखिएका छन् । मनोरम प्राकृतिक हरियाली जङ्गलको दृश्य अवलोकन गर्न पाइन्छ । यस क्षेत्रमा पालुराजा मन्दिर, नेछेलिङ गुम्बा, छरछरे झरना, प्याउलीगढी, सिन्च्याङगढी, घण्टाचुली, सीता गुफा, सिद्धेश्वर मन्दिर, हरिहर मन्दिर, चक्रवर्ती मणिमुकुन्देश्वर मन्दिर, वेणी सङ्गम आदि धार्मिक गन्तव्य स्थल छन् ।  

यहाँ संस्कृत अध्यापन गर्ने आश्रम छन् । महेश सन्न्यास आश्रम, गलेश्वर सन्न्यास आश्रम, हरिहर सन्न्यास आश्रम, बालिका आश्रम यहाँ छन् । गलेश्वर आश्रमको पश्चिम कालीगण्डकी किनारमा वशिष्ठ ऋषिको गुफा छ । प्राचीन समयमा अयोध्याका राजा रामचन्द्रका गुरु वशिष्ठले यहाँ तपस्या गरेको किंवदन्ती रहेको छ । यहाँ वशिष्ठको मूर्ति पनि छ । वशिष्ठ ऋषिको गुफा रहेको मुन्तिर सीता गुफा रहेको छ । रामचन्द्र वनबास बस्दा सीताको असली रूपलाई यहीँ लुकाएर राखिएको थियो भन्ने विश्वास छ । भगवान् रामले सीतालाई त्यागेपछि सीता पृथ्वीमा विलय भएको गुफा भनेर पनि चिनिएको छ ।

गलेश्वर आश्रम परिसरबाट पूर्व उच्च स्थानमा प्राचीन र ऐतिहासिक चक्रेश्वर मन्दिर छ । यहाँ चक्रैचक्र भएको ठुलो शिला स्थापित छ । पाल्पाका राजा मुकुन्दसेनले यहीँ आएर तपस्या गरेका थिए । एक दिन स्नान गर्न जाँदा चक्रयुक्त शिला देखेर यहाँ ल्याएर स्थापित गरेकाले उहाँकै नामबाट मुकुन्देश्वर मन्दिर भनी नामकरण गरिएको हो । यस मन्दिरको वरपर चार ठाउँमा मन्दिरका भग्नावशेष पाइन्छ । 

झोलुङ्गे पुलबाट पूर्वतर्फ बद्रीनाथ भगवान्को विशाल मन्दिर छ । झोलुङ्गे पुलबाट पूर्वतर्फ नै केदारनाथको मन्दिर पनि छ । सुन्दर फराकिलो यो मन्दिरको पहिलो तलामा शिव पञ्चायन देवताका मूर्ति स्थापना गरिएको छ । देवघाट र नारायणगढबिचको जङ्गलमा ऐतिहासिक वागीश्वरी मन्दिर छ । नारायणी नदीतर्फ फर्किएको दुई वटा बाघका मूर्ति छन् । मूर्तिको अध्ययन गर्दा १५ औँ शताब्दीतिरको भएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी अधिकृत सनद बरालले जानकारी दिनुभयो । 

नवलपरासीको गैँडाकोट नगरपालिकामा मौलाकालिका मन्दिर छ । यो मन्दिर डाँडामा रहेको छ । पाल्पाका राजा मणिमुकुन्दसेनको पालामा सैनिकले शिलाको स्थापना गरी कालिकाको पूजा गर्दै आएको मान्यता रहेको छ । यो मन्दिर जानका लागि सजिलो सिँढी निर्माण गरिएको छ । पैदल हिँड्न नसक्नेहरू केबुलकारबाट जान सक्ने व्यवस्था रहेको छ । यहाँबाट नवलपरासीको गैँडाकोट, चितवनको नारायणगढ भरतपुरसहित पश्चिम क्षेत्र आकर्षक देखिन्छ ।    

   मुना  

Author

शालिग्राम नेपाल