• १९ फागुन २०८१, सोमबार

बागलुङमा तेस्रो संस्करणको जेसीज कप फुटबल हुने

blog

तेस्रो संस्करणको जेसीज कप फुटबलबारे जानकारी दिनुहुँदै जेसिज बागलुङका अध्यक्ष सुशान्तकृष्ण श्रेष्ठ । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा
बागलुङ, फागुन १८ गते ।
बागलुङ जेसीजको आयोजनामा तेस्रो संस्करणको जेसीज कप फुटबल प्रतियोगिता हुने भएको छ । फागुन १९ देखि २४ गतेसम्म जेसीज कप फुटबलको तेस्रो संस्करण आयोजना गर्न लागेको शनिबार आयोजित पत्रकार सम्मेलनमा जेसीज वर्ष २०२५ अध्यक्ष सुशान्तकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेताले दुई लाख रुपियाँ पुरस्कार, ट्रफी मेडल र प्रमाणपत्र पाउने छ भने उपविजेताले टोलीलाई एक लाख रुपियाँ पुरस्कार, मेडल र प्रमाणपत्र दिइने छ । प्रतियोगितामा विधागत उत्कृष्ट हुने खेलाडीलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ । आयोजकका अनुसार, सेमीफाइनल पुग्ने टिमलाई १५ हजार रुपियाँ प्रदान गरिने छ । त्यसबाहेक फेयर प्ले टिमलाई पाँच हजार, उत्कृष्ट खेलाडी, फरवार्ड, मिडफिल्डरलाई पाँच हजार रुपियाँ, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलरक्षकलाई तीन हजार र म्यान अफ दि म्याचलाई एक हजार रुपियाँ पुरस्कार प्रदान गरिने छ ।

गण्डकी प्रदेश स्तरीय भनिएपनि साबिकको धौलागिरी क्षेत्रका टिमबिच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । खेलमा ११ टोली सहभागि हुने आयोजकले जनाएको छ । जेसीजले सार्वजनिक गरेको खेल तालिकाअनुसार सोमबार हुने उद्घाटन खेल बलेवा फुटबल क्लब र हाइकर्स युनाइटेडबिच हुने छ ।

प्रतियोगितामा रुद्रेपिपल युवा क्लब, नेपाली सेनाको श्रीमेहर गण घोडाबाँधे, गुठी युनाइटेड, म्याग्दी डिएफए, पर्पल हेज÷एभिएम, बागलुङ युनाइटेड, अमर आर्दश स्पोर्टस् क्लब, जिल्ला प्रहरी कार्यालय बागलुङ र बागलुङ सुधार केन्द्र सहभागि हुने छन् । बागलुङ सुधार केन्द्र जेसीज कपको डिफेन्डिङ च्याम्पियन हो भने श्रीमेहर गण पहिलो संस्करणको विजेता टोली हो । प्रतियोगितामा सहभागी टोलीले बढीमा तीन जनासम्म विदेशी खेलाडी समेत राख्न पाइने व्यवस्था आयोजकले गरेको छ । 

खेलका लागि १२ लाख खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितामा खेलाडीको दुर्घटना बिमा समेत गरिएको छ । एक लाख रुपियाँ सम्मको बिमाका लागि नेको इन्सोरेन्सले व्यवस्थापन गरेको हो । यो अवसरले खेलाडीलाई घाइते भएमा तत्काल उपचार गर्ने र आर्थिक व्यवस्थापनमा समस्या नपर्ने विश्वास गरिएको छ । प्रतियोगिताका लागि विभिन्न प्रायोजक, व्यक्तिगत तथा विभिन्न फर्म, स्थानीय तहबाट सहयोग प्राप्त भएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । प्रतियोगिताबाट हुने मुनाफा वातावरण संरक्षणमा लगानी गर्ने समेत जेसीजले जनाएको छ ।