पैँतालीस दिनसम्म चलेको महाकुम्भ महाशिवरात्रिका दिनदेखि समाप्त भएको छ । ६५ करोडभन्दा बढी भक्तजन महाकुम्भमा सहभागी भएको अनुमान छ । आस्थाको महासागरका रूपमा लिइने यसलाई सांस्कृतिक, आध्यात्मिक तथा धार्मिक इतिहासमा सबैभन्दा ठुलो पर्व मानिन्छ । हरेक १२–१२ वर्षमा कुम्भ मेला हुन्छ । १४४ वर्षपछि प्रयागराज महाकुम्भमय बन्यो । भारतका चार प्रमुख धार्मिक स्थल हरिद्वार, प्रयागराज, उज्जैन र नासिकमा प्रत्येक १२ वर्षमा कुम्भ चल्ने गरेको छ । आज पनि, गङ्गा, यमुना र सरस्वती नदीको सङ्गममा स्नान गर्दा जीवनका पापहरूबाट मुक्ति मिल्ने परम्परा छ । महाकुम्भ मेला केवल एउटा धार्मिक उत्सव मात्र नभएर हिन्दु धर्मावलम्बीका लागि एक महìवपूर्ण अवसर पनि हो । महाकुम्भमा ५० लाख नेपाली भक्तजन पुगेको अनुमान गरिएको छ ।
छिमेकबाट नेपालले सिक्नु पर्छ
सबैजसो धार्मिक ग्रन्थमा नेपाल र भारतको उस्तै–उस्तै महिमा पाइन्छ । नेपाल र भारतका हिन्दु तीर्थस्थल एक आपसमा जोडिएका पनि छन् । भारतले ४५ दिने मेलालाई अर्बौं लगानी गरेर संसार चिनाउन सफल भइसक्यो । कुम्भमेला हिन्दु धर्मावलम्बीको एक महान् स्नान पर्व हो । यो मेला पृथ्वीमा जम्मा १२ स्थानमा लगाउन सकिने शास्त्रहरूले उल्लेख गरेका भए पनि हालसम्म जम्मा पाँच वटा स्थान मात्र पत्ता लागिसकेका छन् । ती पाँच स्थानमध्ये भारतका चार ठाउँमा प्रत्येक तीन/तीन वर्षको अन्तरालमा लाग्छ भने एक कुम्भस्थल नेपालमा पर्छ । कुम्भमेला हुने स्थलमा इलाहावाद (उत्तर प्रदेश), उज्जैन (मध्य प्रदेश), नासिक (महाराष्ट्र), हरिद्वार (उत्तराखण्ड) र चतराधाम (बराहक्षेत्र, सुनसरी नेपाल) रहेका छन् । सङ्घ सरकार, लुम्बिनी सरकार र स्थानीय सरकार मिलेर कालीगण्डकी नदीको किनारलाई यसै प्रयोजनका लागि व्यवस्थापन गर्न सक्ने हो भने लाखौँ श्रद्धालु रुरुक्षेत्र पुग्न सक्छन् ।
२०५९ वैशाख १ गतेदेखि नेपालको सुनसरी जिल्लास्थित चतराधाममा समेत लाग्न थालेको छ । महाकुम्भको इतिहास पुरानो छ । केही ग्रन्थका अनुसार सत्ययुगमा पहिलो महाकुम्भ मेला आयोजना भएको मानिन्छ । जसको सुरुवात शङ्कराचार्यले गरेका थिए । जानकारहरूका अनुसार कुम्भको परम्परा हजारौँ वर्ष पुरानो हो । हामीले भने पौराणिक र प्रमाणित तीर्थको प्रचार प्रसारमा ध्यान दिन सकेका छैनौँ । नजिकको तीर्थ हेँला भन्ने भनाइलाई नेपालले लागु गर्न खोजेको त होइन ?
नेपालका पशुपतिनाथ, मुक्तिनाथ, रुरुक्षेत्र, त्रिवेणी, देवघाटलगायतका कतिपय तीर्थस्थल नपुगी हिन्दुहरूको धार्मिक यात्रा पूर्ण नहुने भएकाले नेपालले पनि यसको लाभ लिन सक्नु पर्छ । भारतबाट सिधै नेपालको मुक्तिनाथसम्म लैजाने धार्मिक रुट बनाएर दुई देशबिच आवश्यक समझदारी हुन सके नेपाललाई समेत धार्मिक पर्यटनले समृद्ध बनाउन सक्छ । भारतमा प्रयागराज रहेको उत्तरप्रदेशसँगै सिङ्गो भारतले यसबाट लाभ प्राप्त गर्दा नेपालको धार्मिक पर्यटनमा पनि त्यसको प्रभाव पक्कै पर्छ । यस प्रकारका मेला सरकारको लगानी र आयोजनामा हुन सक्ने हो भने नेपालमा पनि लाखौँ धार्मिक तीर्थयात्री तीर्थाटन गर्न आउने बाटो सहज खुल्ने थियो ।
भारतीय अर्थतन्त्रमा २० खर्ब रुपियाँ बराबरको योगदान
भारत सरकारले कुम्भमेलाका लागि ७० अर्ब भारतीय रुपियाँ खर्च गर्ने घोषणा गरेको थियो । स्थानीय सञ्चार माध्यमका अनुसार यो मेलाबाट उत्तर प्रदेश राज्य सरकारले २५० अर्ब भारतीय रुपियाँजति राजस्व सङ्कलन गर्ने अनुमान भए पनि त्योभन्दा बढी सङ्कलन भएको बताइएको छ । महाकुम्भ मेलाले भारतीय अर्थतन्त्रमा २० खर्ब रुपियाँ बराबर योगदान गर्ने अपेक्षा गरिएको छ । महाकुम्भकै कारण उत्तर प्रदेशको आर्थिक वृद्धि थप एक प्रतिशतले बढ्ने प्रक्षेपण छ ।
नेपालका नेतादेखि कलाकार पत्रकारको लर्काे
फागुन १४ अर्थात् शिवरात्रिसम्म चलेको महाकुम्भमा नेपालका नेता महाकुम्भमा स्नान गर्न पुगेका थिए । उनीहरूले पनि पक्कै भारतको तरक्की देखेर केही न केही त मनमा कुरा उब्जाएकै होलान् । नेपालबाट चर्चित सेलिब्रेटीदेखि राजनीतिक व्यक्तित्व पनि स्नानका लागि पुगे । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, पार्टीका प्रवक्ता डा. प्रकाशशरण महत, अर्जुननरसिंह केसीलगायत सपरिवार कुम्भ स्नानका लागि पुगेका थिए । व्रिmकेटका राष्ट्रिय खेलाडी सोमपाल कामी र करण केसी, कलाकार पूजा शर्मालगायत
पनि पुगेर डुबुल्की मारेको तस्बिर सामाजिक सञ्जालमा देख्न पाइन्छ । साथीभाइ, परिवारजन र समूह बनाएर नेपाली प्रयागराजमा स्नानका लागि गएका थिए । युवापुस्तादेखि पुरानो पुस्ता सबै त्यहीँ भेटिए ।
२५ देशका भक्तजन
महाकुम्भकै कारण २५ देशबाट भक्तजनको ओइरो लागेको छ । महाकुम्भले भारतको सांस्कृतिक र धार्मिक पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा पु-याएको छ । विश्वको ध्यान खिचेको उक्त मेलामा विश्व चर्चित एपल कम्पनीका फाउन्डरकी पत्नी लरेन पावेलले पनि दीक्षा लिएको सार्वजनिक भएको छ । मेलाको सुरुवाती दिनमै आइपुगेकी उनले विश्वमा सनातन धर्म मात्र एउटा मुक्तिको बाटो भएकाले सोही बाटो आफूले पनि रोजेको बताउनुभएको समाचार आएका थिए । मेलामा भुटानी राजा पनि स्नान गर्न पुग्नुभयो भने महाकुम्भमा भारतकी राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंहलगायत धेरै केन्द्रीय मन्त्री, मुख्यमन्त्रीलगायत विशिष्ट व्यक्तिहरूले स्नान गर्नुभयो । त्यसै गरी, अर्बपतिहरू, उद्योगी, बलिउड र खेलकुद सेलिब्रेटी, खेलाडीहरू पनि स्नान गर्न गर्नुभयो भने भारतका खर्बपति व्यापारी रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी र अनिल अम्बानी सपरिवार गएको स्नान गरेका फुटेज समाचार बनेका थिए ।
महाकुम्भको प्रभावले सडकमा सवारीको चाप अत्यधिक बढेको थियो । प्रयागराजमा बनाइएको पार्किङ भरिभराउ हुँदा २० किलोमिटर टाढै सवारी राखेर स्नानका लागि हिँडेर सङ्गम जानु परेको गुल्मी रुरुक्षेत्र १ की सीता ज्ञवालीको भनाइ छ । ‘प्रयागराज तीर्थको पनि राजधानी हो, यो जुनीमा यहाँ स्नान गर्ने सौभाग्य मिल्यो, यो नै सबैभन्दा ठुलो सन्तोष र धर्म हो’ उहाँको भनाइ छ । मेलाको भिडको प्रभाव भारतमा त हुने नै भयो । यता नेपालका सबैजसो सीमा क्षेत्रमा समेत होटललगायतका पर्यटकीय ठाउँ अहिले खचाखच भएका छन् । भारतका सबै सडक भिडभाड र जामले श्रद्धालु तनावमा पर्नु परेको छ ।
बुटवल देवीनगरबाट प्रयागराज पुग्नुभएकी वसन्ता घिमिरेले सडकमा पाएको दुःख बिर्सेर स्नान गरेको आनन्द अनुभूति जीवनको सबैभन्दा स्मरणीय क्षण रहेको बताउनुभयो । दिनमै एक करोडभन्दा बढी व्यक्तिले स्नान गरेको भारतको उत्तर प्रदेश पर्यटन विभागले जनाएको छ । रुपन्देहीबाट प्रयागराज पुग्दा एक जनाको औसतमा पाँच हजार खर्च हुने गर्छ ।
मेलाको यस अवधिका बिचमा चार वटा दुःखद घटना पनि भए । पहिलो घटना अमृत स्नानका बेला भएको भागदौडमा ३० जनाको मृत्यु भयो भने रुपन्देहीबाट प्रयागराज पुगेर स्नान सकेर घर फर्किंदा सवारी दुर्घटनामा तीन जनाको मृत्यु भयो, त्यस्तै फागुन १० गते प्रयागराजबाटै स्नार सकेर घर फर्किंदै गरेको सवारी दुर्घटनामा परि चार जनाले ज्यान गुमाए । त्यस्तै मेला स्थलमै एउटा टेन्टमा आगलागी पनि भयो ।