बोमलाल गिरी
नवलपुर, फागुन १६ गते। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सहिद सप्ताह अन्तर्गत २५ जना सहिद परिवारलाई सम्मान गरेको छ। पार्टीले नवलपुरको कावासोतीमा कार्यक्रम गरी सहिद परिवारलाई सम्मान गरेको हो।
सम्मान कार्यक्ममा नेकपाका जिल्ला इन्चार्ज पदक केसी जुझारुले जिल्लाका १०३ सहिदमध्ये १२ जना प्रतिबन्ध कालमा सहिद भएको बताउनुभयो। सरकारले विप्लव नेतृत्वको नेकपालाई २०७५ देखि २०७७ सम्म प्रतिबन्ध लगाएको थियो।
२०७८ मा केपी शर्मा ओली नेतृत्वको सकारसँग तीन बुँदे सहमतिपछि प्रतिवन्ध फुकुवा गरेको थियो। प्रतिबन्ध कालमा नवलपुरमा १२ जना सहिद भएको नेकपाले जनाएको छ।
जिल्ला इन्चार्ज केसीले जनयुद्धमा होमिन बन्दुक बोक्न हौसाउने हाल नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले जनयुद्धलाई हिंसा भनेको प्रति गम्भीर आपत्ति जनाउनुभयो। उहाँले ०५२ सालमा जनयुद्ध सुरु गर्दाका गृहमन्त्री खुमबहादुर खड्का र प्रतिबन्ध लगाउँदाका गृहमन्त्री बादलबिच कुनै भिन्नता नरहेको तर्क गर्नुभयो।