• १६ फागुन २०८१, शुक्रबार

धौलागिरि बहुमुखी क्याम्पसमा एक करोडको कोष स्थापना

blog

रामकृष्ण बोहरा

बागलुङ, फागुन १६ गते । जेहेन्दार तथा विपन्नलाई निशुल्क रूपमा पठनपाठनको व्यवस्था मिलाउन साविक धौलागिरी अञ्चलको एकमात्र आंगिक क्याम्पस धौलागिरि बुहुमुखी क्याम्पस बागलुङमा एक करोडको कोष स्थापना गरिएको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को अगुवाईमा कोष स्थापना गरिएको हो । कोषमा हालसम्म ७५ लाख रुपियाँ जम्मा भएको छ ।

एक करोड रुपियाँको छात्रवृत्ति कोष स्थापना गर्ने लक्ष्यसहित गत वर्ष स्ववियूको अगुवाईमा देउसीभैलो कार्यक्रम समेत सञ्चालन गरिएको थियो । ‘कोषमा छिट्टै एक करोड रुपियाँ पुर्‍याउने र क्याम्पसलाई हस्तान्तरण गर्नेगरी आर्थिक सङ्कलनको काम भइरहेको छ,’ स्ववियु सभापति सुदिप सागर कँडेलले भन्नुभयो । कोषका लागि क्याम्पस परिवार, शिक्षाप्रेमी, पूर्व विद्यार्थी तथा स्थानीय तहले समेत उत्साहजनक साथ दिएको कँडेलको भनाइ छ ।

कोषको ब्याज रकमबाट क्याम्पसमा अध्ययनरत विद्यार्थीमध्ये प्रत्येक वर्ष १ सय विद्यार्थीलाई निःशुल्क शिक्षा दिने योजना रहेको सभापति कँडेलले बताउनुभयो । आर्थिक अभावकै कारण उच्च शिक्षाबाट बञ्चित विपन्नलाई कोषले राहतको काम गर्ने कँडेलले बताउनुभयो । कोष निर्माणका लागि देउसीभैलोबाट ४५ लाख रुपियाँ सङ्कलन भएको थियो । शिक्षाप्रेमी, समाजसेवी र अग्रजहरूबाट कोषलाई २० लाख रुपियाँ प्राप्त भइसकेको छ ।

सयौं विद्यार्थीको रोजाईमा पर्ने क्याम्पसमा पछिल्लो समय भने विद्यार्थीको सङ्ख्या दिनदिनै घट्दै गएको छ । त्यसमा पनि क्याम्पसमा मानविकी तथा सामाजिक शास्त्र सङ्काय त रित्तो बन्ने अवस्थामा पुगिसकेको छ । क्याम्पस प्रतिको घट्दो आकर्षणलाई छात्रवृत्ति कोषले थप आर्कषित गर्नेमा क्याम्पस प्रमुख सह–प्राध्यापक डा. सुर्दशन सिलवाल विश्वस्त हुनुहुन्छ । उच्च शिक्षाबाट बञ्चित विद्यार्थीलाई कोषले साथ दिने डा. सिलवालले बताउनुभयो ।