अर्जुन काफ्ले
स्याङ्जा, फागुन १६ गते । प्रथम पिङ्क सिटि महोत्सव वालिङ – २०८१ को तयारी अन्तिम चरणामा पुगेको छ । वालिङ् चेम्बर अफ कमर्सले यही फागुन २१ देखि चैत ३ गतेसम्म गर्ने महोत्सवमा महोत्सव स्थलको बार तथा स्टल निर्माण अन्तिम चरणमा पुगेको छ भने मञ्च निर्माण र बालउद्यान निर्माण समेत अन्तिम चरणमा पुर्याएकाे छ ।
'आर्थिक सामाजिक सम्पन्न समाज, समृद्ध वालिङ्’ भन्ने नाराका साथ वालिङ् खेलमैदानमा महोत्सवको आयोजना गरिएको हो । कमर्सका अध्यक्ष एवं महोत्सव मूल समारोह समितिका संयोजक प्रकाश न्यौपाने (किरण) ले वालिङ्को सभ्यता र यसको ऐतिहासिक महत्वको बारेमा जानकारी दिने र प्रचार प्रसार गर्ने, स्थानीय तथा स्वदेशी कृषि, खेलकुद, संस्कृति, पर्यटन, औद्योगिक उत्पादनको प्रवर्द्धन एवं संस्कृतिको जगेर्ना गर्ने उदेश्यले महोत्सव गरिएको बताउनुभयो ।
वालिङको सभ्यता र यहाँ हुने विभिन्न सांस्कृतिक कार्यक्रमहरुले विशिष्ट पहिचान बनाउँदै यस महोत्सव नेपालकै उत्कृष्ट महोत्सवको रुपमा स्थापित गर्न लागि पर्ने संयोजक न्यौपानेले जानकारी दिनुभयो ।
महोत्सवले मुलुकका विभिन्न प्रदेशको स्थानीय स्तरमा उत्पादित ग्रामिण प्रविधिको प्रयोग गर्ने, उत्पादित वस्तुको बजार प्रवद्र्धनका साथै एकै थलोमा भेला गराई सो को पहिचान गराउने र वस्तु सेवाहरु उपभोक्तासम्म पुर्याउने महासचिव गणेश राउतले बताउनुभयो ।
महोत्सवमा कृषि प्रर्दशनी, अन्तर पालिका भलिवल, स्थानीय कला संस्कृति, शैक्षिक प्रदर्शनी, पशुपंक्षी प्रदर्शनी, जैविक विविधता प्रदर्शनी, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, पर्यटकीय तथा धार्मिक क्षेत्रको फोटो प्रदर्शनी, रितिरिवाज झल्कने सांस्कृतिक कार्यक्रम लगायत विभिन्न संघ संस्था एवं कार्यालयका क्रियाकलाप एवं यस प्रदेशका गतिविधिहरु प्रस्तुत गरिने छ ।
यसअघि फागुन ९ गतेबाट १८ गते सम्म महोत्सव गर्ने तयारी गरेकोमा पुतलीबजार नगरपालिका समेत हुने भएपछि कमर्सले सारेको थियो भने नाम समेत परिवर्तन गरेको थियो ।
महोत्सवमा २४० स्टर रहने महोत्सवमा पाँच करोड रुपियाँको कारोबार हुने लक्ष्य लिइएको छ भने दुई लाख भन्दा बढीले महोत्सबको अवलोकन गर्ने अनुमान अयोजकले गरेको छ । महोत्सवमा ६६ लाख १५ हजार रुपियाँ आम्दानी गर्ने र छ लाख १५ हजार रुपियाँ बचत हुने अनुमान आयोजकले गरेको छ ।