• १६ फागुन २०८१, शुक्रबार

सुरु भएन ‘कुकुर आवास’ को काम

blog

बागलुङ समाचारदाता

बागलुङ, फागुन १६ गते । बागलुङ नगरपालिकाले सहरी क्षेत्रमा बढ्दै गएका सामुदायिक कुकुर व्यवस्थापन गर्न गत आर्थिक वर्षमै सञ्चालन गर्ने लक्ष्यसहित ‘कुकुर आवास’ बनाउने महत्वाकाङ्क्षी योजनामा अझै काम सुरु गर्न सकेको छैन । जग्गा व्यवस्थापन, खर्च र विभिन्न क्षेत्रबाट आउने आलोचनाले नगरपालिकाले अझै काम गर्न नसकेको हो । 

१६ औँ नगर सभामा नगरप्रमुख वसन्तकुमार श्रेष्ठले योजना सम्झौताको चरणमा पुगेको दाबी गरे पनि डेढ महिना बितिसक्यो । कुकुर आवास बनाउने योजना सञ्चालन भए नगरभित्रका सबै सामुदायिक कुकुरलाई आवासमा राखिने छ । 

बजेट र जग्गा अभावकै कारण काममा ढिलाइ भएको नगरप्रमुख श्रेष्ठले बताउनुभयो । गत वर्ष छाडा कुकुरले टोकेर धेरै मानिस घाइते भएपछि नगरपालिकाले कुकुर आवास बनाउने अवधारणा ल्याएको हो । 

बागलुङ नगरपालिकाले प्राथमिकता दिएको अर्को योजना हो, फोहोरको व्यवस्थापन गर्ने र जिरो वेस्ट गर्ने । यो योजना पनि सोचे अनुसार अगाडि बढ्न सकेको छैन । फोहोरको दिगो व्यवस्थापनलाई नगरपालिकाले ‘क्लिन बागलुङ’ अभियान नाम दिएको छ । 

घर घरमा उत्पादन हुने कुहिने र नकुहिने तथा जोखिमयुक्त फोहोर घरबाटै छुट्याएर व्यवस्थापन गर्ने गरी अभियान अन्तर्गत सीमित उपभोक्तालाई तीन रङका बाल्टी वितरण गरिएको थियो । बागलुङ नगरपालिका–१, रामरेखादेखि वडा नं. ४ उपल्लाचौरका करिब पाँच हजार घरमा बाल्टी वितरण गर्ने नगरको योजना अझै पूरा हुन सकेको छैन ।