नेपालगन्ज समाचारदाता
नेपालगन्ज, फागुन १६ गते । केही समयअघिसम्म सडक पार गर्न हम्मे हम्मे हुनुका साथै बजारमा हिँड्डुल गर्नसमेत समस्या हुने गरेको नेपालगन्जको मुख्य बजार सदरलाइनको ट्राफिक व्यवस्थामा सुधार गरिएको छ । सडकमा जहाँ पायो त्यहीँ मोटरसाइकल, ई रिक्सा र गाडी पार्किङ गर्दा बजारमा किनमेलका लागि जाने सर्वसाधारणलाई अति नै समस्या हुने गरेकोमा अहिले ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थामा सुधार गरेकाले सो क्षेत्रको आवागमन सहज भएको छ ।
नेपालगन्जको त्रिभुवन चोकदेखि त्रिवेणी मोडसम्म सदरलाइनमा सडकका दुवैतर्फ सवारीसाधन पार्किङ गरिँदा सडक साँघुरो भएर ट्राफिक अस्तव्यस्त हुने गरेकाले अहिले दुईपाङ्ग्रे सवारीसाधन मात्रै पार्किङ गर्न मिल्ने र त्यो पनि सडकको मध्य भागमा मात्रै पार्किङ गर्ने व्यवस्था मिलाएर उक्त सडकको अव्यवस्थाको समाधान निकालिएको नेपालगन्ज ट्राफिक पोस्टका इन्चार्ज वरिष्ठ प्रहरी नायब निरीक्षक प्रवीण आचार्यले बताउनुभयो । उहाँले सदरलाइनको सडकमा पार्किङ गराउन रोक्दा व्यापारमा असर पर्ने भन्दै व्यवसायीले विरोध गर्ने र दुईतर्फ पार्किङ गर्दा सडक साँघुरो हुने समस्याको मध्यमार्गी समाधान निकालिएको बताउनुभयो ।
आचार्यका अनुसार सडकको मध्य भागमा दुईपाङ्ग्रे सवारीसाधन पार्किङ गर्दा अहिले दुईतर्फी लेन अलग अलग भएका छन् भने जथाभाबी ‘ओभरटेक’ गर्न नसकिने भएको छ । साथै पैदलयात्रीलाई फुटपाथ प्रयोग गर्न सहज भएको छ ।
सदरलाइनको बर्सौंदेखिको समस्याको समाधान ढिलै भए पनि ट्राफिक प्रहरीले निकालेको भन्दै व्यवसायी पनि खुसी छन् । स्थानीय व्यापारी रामशङ्कर वैश्यले ट्राफिक प्रहरीले अहिले राम्रो व्यवस्थापन गरेकाले अब जाम नहुने बताउनुभयो । अर्का व्यवसायी चुन्ना राईले पछिल्लो पटक ट्राफिक प्रहरीले गरेको मेहनतले सदरलाइनको ट्राफिक समस्या समाधान भएको बताउनुभयो ।
यसै गरी भेरी अस्पतालअघिको सडक, धम्बोझीदेखि सेतु विक चोक सडक, घरबारीटोल सडक र त्रिभुवन चोकदेखि पूर्व लाइनमा आलोपालो एकतर्फी मात्रै पार्किङ गर्न पाइने नियम लगाइएको छ । धम्बोझी चोकनजिकै नेपालगन्ज–गुलरिया सडकको छेउछाउमा गुलरियातर्फ जाने सार्वजनिक सवारीहरूले अनधिकृत पार्किङ गर्ने, सडकमै यात्रु चढाउने र झार्ने गर्दा उक्त खण्ड पनि अस्तव्यस्त हुने गरेको थियो ।
अहिले प्रहरीले उक्त खण्डमा पनि सडकमा यात्रु चढाउन र झार्न नदिने व्यवस्था मिलाएको छ । यसै गरी बर्दियाको गुलरियाबाट नेपालगन्जतर्फ आउने मालवाहक ट्रक, टिप्पर, ट्याक्टरलगायतका सवारीसाधनलाई नन्दनी मिलबाट सिधै कारकाँदो बाइपास सडक प्रयोग गर्न लगाउने गरिएको छ । यसले मुख्य सडकमा सवारी चाप कम गराएको छ ।