• ११ असोज २०८१, शुक्रबार

स्वदेशी उत्पादन र उद्योगलाई प्राथमिकता : अर्थमन्त्री शर्मा

blog

तस्बिर:- केशब गुरुङ

गोरखापत्र अनलाइन

काठमाडौं, जेठ १६ गते । अर्थमन्त्री जनार्दन शर्माले नयाँ बजेटमा स्वदेशी उत्पादन र उद्योगलाई प्राथमिकता दिइएको बताउनुभएको छ । अर्थ मन्त्रालयद्वारा सोमबार सिंहदरवारमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनुभयो । 

उद्योगमा निजी क्षेत्रको ७० प्रतिशतभन्दा बढी योगदान रहेको उहाँले बताउनुभयो । अर्थमन्त्री शर्माले निजी क्षेत्रको उत्पादनलाई उत्साहित गर्नेगरी विभिन्न कार्यक्रम ल्याइएको जानकारी दिनुभयो । सिमेन्ट उद्योग र यसको निकासीको सम्भावना रहेकाले यसका लागि नगद, अनुदानको व्यवस्था गरिएको उहाँले बताउनुभयो । 

“वार्षिक रोजगारी सिर्जना होस् भन्ने उद्देश्यमा केन्द्रीत छौं, अर्कोतिरबाट स–साना उद्यमहरु सञ्चालन गर्ने कुराले रोजगारी सिर्जना गर्न सक्छ” उहाँले भन्नुभयो । पाँच खर्बको लघुवित्त कोष बनाइने र किसान र नयाँ पेशा, व्यवसायका लागि घरदैलोमा ऋण उपलब्ध गराइने उहाँले स्पष्ट पार्नुभयो । वित्तिय पहुँच सँगसँगै लघु बिमा र लघु वित्तलाई प्राथमिकता दिइने उहाँको भनार्इ छ । 

अर्थमन्त्री शर्माले पूर्वाधार निर्माणको काम सरकारले मात्र गर्न नसक्ने र यसका लागि निजी क्षेत्रलगायत सरोकरावाला सबैसँगको सहकार्य हुने बताउनुभयो । “जस्तै द्रूत मार्गको कुरा छ, सपना नै सही तर यथार्थमा निजगढमा एयरपोर्ट आवश्यकता त हो”, उहाँले भन्नुभयो, “छोटो समयमा सगरमाथा हेर्ने धेरैको इच्छा होला, यसका लागि आवश्यक पूर्वाधार निर्माण एवम् पर्यावरण विकासले अर्थतन्त्रको विकासमा टेवा पुग्छ ।” 

मेडिकल कलेज विस्तार

स्थानीय तहमा जनताले कस्तो मन्दिर बनाउने भन्ने कुरा त्यहीका नागरिकले निर्णय र निर्माण गर्न पाउने उहाँले बताउनुभयो । संघियतालाई बलियो बनाउन पनि स्थानीय तहको क्षमता वृद्धि गर्नुपर्ने भन्नुहुदै उहाँले यसका लागि योजना र बजेटबाट विकास गर्नुपर्ने उहाँले प्रष्ट पार्नुभयो । 

स्वास्थ्य क्षेत्रमा मेडिकल कलेज विस्तार गर्नुपर्ने भन्नुहुँदै छ–सात हजार डाक्टर र आईटी पढ्न हजारौं युवा देश बाहिर गएको अवस्थालाई मध्यनजर गर्दै यो शिक्षा नेपालमा नै लिनसक्ने व्यवस्थाको विकास गरिने उहाँले बताउनुभयो । 

आईटी पार्क, अन्तर्राष्ट्रिय स्तरका विश्वविद्यालयसँग सहकार्य गर्दै प्राविधिक जनशक्ति स्वदेशमै उत्पादन गर्ने विषय बजेटको प्राथमिकतामा रहेको उहाँले बताउनुभयो । 


स्वदेशी उद्योग प्राथमिकतामा

देशमा उत्पादन हुने वस्तु स्वदेशमै उत्पादन र उपभोग गर्ने कार्यक्रम बजेटको प्राथमिकतामा परेको उहाँको भनाई छ । सरकारले पनि स्वदेशी वस्तु नै प्रयोग गर्नुपर्ने भन्नुहुदै अर्थ मन्त्रालयमा आउने सेनिटाइजर, बिस्कुट, मासु सबै स्वेदशी उत्पादन नै हुनुपर्ने उहाँले बताउनुभयो । 

“सरकारमा बस्ने हामीले प्रतिबद्धता कहिले गर्ने ? धागो, कपडा, कारखाना, बिजुलीलाई उत्साहित गर्न खोजिएको उहाँले बताउनुभयो । बजेटमार्फत रबर उद्योग, तरकारीजस्ता स–साना घरेलु तथा साना स्वदेशी उद्योगलाई पनि प्रोत्साहन गर्नेगरी कार्यक्रम आएको उहाँले बताउनुभयो । 

सारमा अर्थतन्त्रको स्थिरता, वित्तिय क्षेत्रको परिचालन प्राथमिकतामा रहेको उहाँको भनाई छ । कृषि तथा अन्य उद्योग फर्म पनि ५० वर्षको हुनुपर्ने उहाँले बताउनुभयो । 

सन्तुलन मिलाउने प्रयास

अर्थ मन्त्रालयले देशको आयात न्यून र निर्यात बढाउँदै आर्थिक सन्तुलनका लागि प्रादेशिक सन्तुलन मिलाउन खोजिएको जनाएको छ । अघिल्लो आर्थिक वर्षमा वैदेशिक सहायता ३५ दशमलव ६४ रहेकोमा यस वर्ष ३० दशमलव ८७ छ । 

आन्तरिक ऋण १४ दशमलव ६४ रहेकोमा १४ दशमलव २७ प्रतिशत रहेको छ । वैदेशिक ऋण पनि १७ दशमलव ३४ रहेकोमा यस वर्ष १३ दशमलव ५१ मा झरेको उहाँले बताउनुभयो । बजेटको आकार अघिल्लो वर्ष १० दशमलव ७३ रहेकोमा यस वर्ष ९ दशमलव ८६ रहेको अर्थ मन्त्रालयले जनाएको छ ।