• १५ फागुन २०८१, बिहिबार

रेबिज लागेका मरेकाे जनावर किनबेच गर्ने दुई जना पक्राउ

blog

राधाकृष्ण डुम्रे

वालिङ, फागुन १५ गते । रेविज लागेका मरेकाे जनावरहरू किनबेच गर्ने दुई जनालाई स्याङ्जा प्रहरीले पक्राउ गरेको छ । 

वालिङ नगरपालिका–५ का ५५ वर्षीय राजेन्द्रबहादुर के.सी.ले आफ्नै घरमा पालेका घर पालुवा जनावरहरूमा सङ्क्रामक रोग रेविजको लक्षण देखिएपछि बेचेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

यस्तै, उक्त जनावरहरू खरिद गर्ने वालिङ नगरपालिका–८ का ५० वर्षीय शंसुदिन मियाँलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकरी दिनुभयो । 

मियाँले रेविज लागेका बस्तुहरु खरिद गरी मासुका लागि बजारतर्फ बेच्न लैजाँदै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीको भनाइ छ । 

केसीले पालेका जनावरहरू एक भैँसी, भैँसीको पाडा एक, बाख्रा एक र बाख्राको पाठीमा रेविजको लक्षण देखिएको भन्दै बालिङ नगरपालिकाका पशु प्राविधिकहरूले केसीलगायतका छिमेकीलाई सचेत रहन आग्रह गरेका थिए । प्रहरीका अनुसार केसीले अब जनावरहरू मर्न लागे भनेर मियाँलाई बोलाएर बिक्री गरेको स्थानीयको आरोप छ । 

गएको सोमबार मियाँले जनावरहरू खरिद गरी ग. २ च. २७६० नम्बरको सवारी साधनमा राखी वालिङ बजार हुँदै भीरकोट नगरपालिका बयरघारीतर्फ लैजाँदै गरेको अवस्थामा पक्राउ गरिएको सूचना अधिकारी पौडेलले बताउनु भयो । विशेष सूचनाका आधारमा जनावरसहित मियाँलाई पक्राउ गरिएको उहाँको भनाइ छ। 

वालिङ नगरपालिका–१ स्थित सिद्धार्थ राजमार्गमा प्रहरीले जनावरहरू बोकेको सवारी साधनलाई नियन्त्रणमा लिएको जनाएको छ । खानतलासी गर्ने क्रममा सवारी साधनभित्र मरेकाे भैँसी एक,भैँसीको पाडो एक, बाख्रा एक र बाख्राको पाठी भेटिएको प्रहरीको भनाइ छ । 

मरेकाे भैँसीको वालिङ नगरपालिकाबाट पशु प्राविधिक टोलीमार्फत किटद्वार परीक्षण गर्दा सङ्क्रामक रोग रेविजको लक्षण देखिएको पुष्टि हुन पुगेको सूचना अधिकारी पौडेलले बताउनु भयो । 

पक्राउ परेको दुबैजनालाई स्याङ्जा जिल्ला अदालत स्याङ्जाबाट सङ्क्रामक रोग फैलाउन नहुने कसूर मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मरेकाे भैँसीलाई व्यवस्थितरूपमा पुरिएको र अन्य जनावरलाई केसीको घरमा नै पठाइएको छ ।