• १५ फागुन २०८१, बिहिबार

पाल्पामा मनाइयो मगर दिवस (फोटो फिचर)

blog

इमान सिं राना

रामपुर (पाल्पा), फागुन १५ गते। मगर समुदायले आज देशैभर ४३ औँ राष्ट्रिय मगर एकता दिवस मनाइरहेका छन्। मगर जातिको अधिकार र अस्तित्वको रक्षाका लागि एकजुट भएर लागेको सम्झना एवम् नेपाल मगर सङ्घको स्थापना भएको अवसरमा फागुन १५ गते राष्ट्रिय मगर एकता दिवस मनाइँदै आएको छ ।

“मगरात सभ्यता दस्तावेजीकरण गर्दै, लेखन संस्कृति सङ्ग्रहालय बनाऔं, साङ्गठनिक रुपमा ४३ औँ स्थापना दिवस सफल पारौं।” भन्ने नारासहित पालिकास्तरदेखि वडा तथा टोल टोलमा दिवस विशेष कार्यक्रम भइरहेको छ। मगर समुदायको बाहुल्य रहेको पाल्पाका १० वटै स्थानीय तहमा मगर संस्कृतिमा आधारित झाँकीसहित मौलिक खानाका परिकार प्रदर्शनी गरी दिवस मनाइरहेको छ। नेपाल मगर सङ्घ तथा मगर  समुदाय सम्बद्ध विभिन्न समूहले पालिकासँगको सहकार्यमा कार्यक्रम गरिरहेको नेपाल मगर सङ्घ पाल्पाका अध्यक्ष शान्ति झेंडी थापा मगरले जानकारी दिनुभयो। मगर समुदायको पहिचानको रुपमा रहेका कला र संस्कृति संरक्षण एवं प्रवर्धन मुख्य मुद्दा रहेको थापाले बताउनुभयो।

कार्यक्रममा मगरी भेषभूषासहित मगर समुदायमा प्रचलित झ्याउरे, सालैजो, कृष्ण चरित्र ठुलो नाच, ठाडो भाका, यानीमाया लगायतका विभिन्न झाँकी प्रस्तुत भइरहेको छ। रामपुर नगरपालिकामा एकीकृत मगर उत्थान समाजको १७ औँ वार्षिक उत्सवसँगै विशेष कार्यक्रम गरिएको हो। 

कार्यक्रममा प्रतिनिधि सभा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापा, लुम्बिनी प्रदेश सभा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजुप्रसाद श्रेष्ठलगायतको उपस्थिति छ। मगर संस्कृतिमा आधारित कला, भाषा, भेषभूषाको संरक्षण एवं संवर्द्धन गर्ने उद्देश्यले दिवस विशेष कार्यक्रमलाई निरन्तरता दिँदै आएको एकीकृत मगर उत्थान समाजका सहअध्यक्ष नरेन्द्रकुमार जर्घाले बताउनुभयो। दिवसको अवसरमा पाल्पाका १० वटै स्थानीय तहले सार्वजनिक बिदा दिएका छन्। 

मगर जातिको अधिकारमुखी साझा संस्था नेपाल मगर सङ्घको स्थापना दिवसको अवसरमा बिहीबार ४३ औँ राष्ट्रिय मगर एकता दिवस मनाइएको हो। सङ्घ स्थापना हुनु पूर्व मगरात सभ्यतासहितको समृद्ध मगर समाज निर्माण गर्ने उद्देश्यका साथ २०१२ सालमा श्यामसिंह थापाको नेतृत्वमा काठमाडौँमा मगर समाज सुधार  सङ्घ गठन भएको थियो। २०३६ सालको राजनीतिक आन्दोलनपश्चात् मगरको एकीकृत सामाजिक संस्थाको रुपमा २०३९ साल फागुन १५ गते दमौलीमा हेमबहादुर पुन मगरको अध्यक्षतामा नेपाल लाङ्घाली परिवार सङ्घ हालको (नेपाल मगर सङ्घ) स्थापना भएको थियो।

 सङ्घले भिन्नभिन्न भाषा, धर्म र संस्कृति बोकेको मगरलाई एउटै सुत्रमा बाँधी एकताबद्ध गरेको र अग्रजहरुको ऐतिहासिक सङ्घर्ष र उपलब्धिलाई स्मरण गर्दै फागुन १५ लाई उत्सवको रुपमा मनाइँदै आएको छ। राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा रहेका १४२ जातजातिमध्ये कुल जनसङ्ख्याको तेस्रो स्थानमा मगर समुदाय छ। 

देशको कुल जनसङ्ख्या दुई करोड ९१ लख ६४ हजार ५७८ मध्ये मगर समुदायको ६ दशमलव ९ प्रतिशत अर्थात् २० लाख १३ हजार ४९८ छ। पाल्पाको कुल जनसङ्ख्या २ लाख ४५ हजार २७ मध्ये ५३ दशमलव ०३ प्रतिशत मगर समुदायको बसोबास छ।